'भ्यालेन्टाइन डे'का लागि डेढ कराेडकाे गुलाब आयात
काठमाडौं : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसमा गुलावको बजार गुलजार बनेको छ । यस दिन माया साटासाट र प्रेम अभिव्यक्त गर्न गुलावले सेतुको भूमिका खेल्ने भएकाले बजारमा यसको माग ह्वात्तै बढेको छ ।
प्रणय दिवसका लागि यो वर्ष मागको ८० प्रतिशत फूल आयात गरिएको छ । आन्तरिक उत्पादनले बजार माग धान्न नसक्दा भारतबाट आयात भइरहेको छ । सामान्य दिनबाहेक प्रणय दिवसको एक सातासम्म उपत्यकामा मात्र दुई लाख स्टिक गुलावको माग हुन्छ । यसमध्ये करिब ८० प्रतिशत आयातित र २० प्रतिशत स्वदेशी उत्पादनले धान्ने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमारकसजु श्रेष्ठले भने, ‘वर्र्षैभरि सबैभन्दा बढी साताव्यापी प्रणय दिवसमा यो गुवाल बिक्री हुन्छ । पश्चिमी सभ्यताको देखासिकी गरी नेपाल भित्रिएको यो दिवसका कारण नेपालमा पनि गुलावको कारोबार बढ्दो छ । यसले गर्दा थोरै भए पनि नेपाली किसानलाई आयआर्जन गर्न टेवा दिएको छ ।’
श्रेष्ठका अनुसार प्रणय दिवसका लागि मात्रै यसपटक डेढ करोड रुपैयाँको एक लाख ५० हजार स्टिक भारतबाट आयात भएको छ । अपुग ५० हजार स्टिक स्वदेशी उत्पादनबाट बजारमा भिœयाइएको छ । फ्यानका अनुसार यो वर्ष किसानले ग्रिन हाउसलाई आफै अपग्रेड गरेका कारण पोहोरको तुलनामा यो बेला १० हजार बढी उत्पादन भएको छ । अघिल्लो वर्ष आन्तरिकतर्फ ६० हजार स्टिक उत्पादन भएको थियो । बाहिरबाट एक लाख २५ हजार स्टिक आयात भएको थियो । ‘यो बेला आयात हुने गुलावको शत्प्रतिशत हिस्सा हामी विस्थापन गर्न तयार छौं’, उनी भन्छन्,‘यसमा राज्यको लगानी र किसानमैत्री नीति आवश्यक छ ।’ उनका अनुसार जाडोमा नेपाली बोट आराम गर्छन् । यसले गर्दा पुष्प उत्पादन हुँदैन । जाडोयाममा फार्मको कुल उत्पादन क्षमतामध्ये करिब १० प्रतिशत मात्रै हुने हुँदा माग धान्न आयात गर्नुपर्छ । चैतदेखि भदौसम्ममा गुलाव उत्पादन उल्लेखनीय हुन्छ । पुष्प उत्पादन गर्न न्यानोपना चाहिन्छ । आयातदर नै विस्थापन गर्ने हो भने न्यानोपनासहितको हाइटेक हाउस आवश्यक पर्छ । तर सरकारले किसानलाई हाइटेक प्रविधि उपलब्ध गराउन लगानी गरेको छैन । उपत्यकामा सामान्य दिनमा करिब १० हजार स्टिक माग हुन्छ जुन स्वदेशी उत्पादनबाटै पूरा हुन्छ ।
यस दिन माया साटासाट र प्रेम अभिव्यक्त गर्न गुलावले सेतुको भूमिका खेल्ने भएकाले बजारमा यसको माग ह्वात्तै बढेको छ ।
नेपालमा रातो, पहेलो, गुलावी र सेतो रंगको गुलाव अत्यधिक उत्पादन हुन्छ । बजारमा एक थान स्टिकलाई ५५ रुपैयाँदेखि सय रुपैयाँसम्म पर्छ । गत वर्ष ४० रुपैयाँमा बिक्री भएको एक थान स्टिकको मूल्य यसपटक ५० देखि ५५ रुपैयाँसम्म पुगेको छ । बजारमा गुलावका पनि तीन थरीका पुष्प उपलब्ध छन् ।
टाटा रोज र डच रोज भारतसहित तेस्रो मुलुकबाट आयात हुने भएकाले यसको मूल्य तुलनात्मक रूपमा महँगो छ । टाटा रोज र डच रोजको भने प्रतिस्टिक सय रुपैयाँसम्म पर्न सक्छ । स्थानीयलाई ५५ रुपैयाँ पर्छ । प्रणय दिवसबाहेक वर्षभरमा भने २० करोड सात लाख ५० हजार रुपैयाँको गुलाव उपत्यकामा मात्र कारोबार हुन्छ ।