भ्यालेन्टाइन्स डे : कच्चा पिरती
प्रणय मेला
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स् डे । तपाईँकाे भ्यालेन्टाइन्स डेलाई विशेष बनाउन अन्नपूर्ण सम्पूर्णका लागि सृजना खड्काले तयार पारेको स्टोरी कच्चा पिरती :
‘माया गर्नु त कहाँ हो कहाँ...अरूको पैसा उडाउन पाए हर्लिक्सको नि ढिँडो बनाएर खाइदिने केटी परिछे मेरो भागमा।’
‘एउटा पाँच सयको टिसर्ट किन्दा १० चोटि ऐनामा हेरिन्छ। सुहाउँछ कि सुहाउँदैन १५ चोटि लगाएर ट्राई गरिन्छ। मन नपरे अर्कोतिर आँखा लगाइन्छ। गर्लफ्रेन्ड त भोलिको जिन्दगी पो हो त ! एकैचोटि कहाँ हाम्फाल्नु ? हेरेर, ट्राई गरेर सुहाउँछ कि सुहाउँदैन, विचार गर्नुपरेन ?’
काठमाडौँ, बूढानीलकण्ठ बस्ने फिरोज (नाम परिवर्तन) खुलस्त ढंगले भनिहेका थिए। सुन्दा अचम्म लाग्न सक्छ। २२ वर्षीय उनै फिरोज यस वर्षको भ्यालेनटाइन्स डे पच्चीसौँ गर्लफ्रेन्डसँग मनाउँदै छन् ! साथीभाइ माझ ‘एम्पल’ नामले चिनिने उनको १४ वर्षको उमेरदेखि प्रेम जीवन सुरु भयो। उनी अहिलेसम्म १९ जना गल्फ्रेन्डसँग ब्रेकअप भइसकेको बताउँछन्। ‘अहिले लाइनमा छ जना छन्,’ उनले भने, ‘दुई जनालाई फेसबुकबाट बनाएँ, एक जना चाहिँ इन्स्टाग्रामबाट। कोही घर नजिकैका छन्, कोही कलेजतिरका पनि छन्।’
फिरोजको एक जनासँग तीन महिनादेखि छ महिनासम्म अफेयर चल्छ। ‘वर्षदिनसम्म अफेयर चलेको अहिलेसम्म रेकर्ड छैन,’ उनले भने, ‘एकै जनासँग वर्षदिनसम्म अफेयरमा बस्नु जतिको ‘बोरिङ’ के होला र ?’ कसलाई कति समय दिने भन्ने उनको आफ्नै टाइम–टेबल छ।
हीअनुसार आलोपालो डेटिङ जान्छन्, फोनमा गफिन्छन्। ‘गर्लफ्रेन्ड बनाउनु त मेरो बायाँ हातको खेल हो,’ उनले भने, ‘एउटीसँग गाडीमा देखादेख भयो। फेसबुक आईडी साटासाट भयो। लभ पर्न हप्ता दिन पनि लागेन।’ धेरै गर्लफ्रेन्ड बनाउँदा साथीभाइमाझ छुट्टै रवाफ हुने उनले बताए। ‘‘तेरो कति वटा ? मेरो कति वटा ?’ भनेर गर्लफ्रेन्ड बनाउने कम्पिटिसन नै चल्छ,’ उनले भने, ‘अलिकति ह्यान्डसम भएपछि केटीहरू आफैँ प्रपोज गर्न आउँछन्। त्यसमाथि गिटार बजाउन जान्ने र अंग्रेजी गीत गाउन जान्ने भयो भने केटीहरू मख्खै !’ उनले भने। फिरोज ‘अल गल्र्स आर सेम’ भन्छन्। ‘म यस्तो पहिला कहाँ थिए र ?’ उनले भने, ‘ट्रिउ लभ गर्दा धोका खाएपछि म पनि धोका दिँदै हिँडेको हुँ।’
०००
काठमाडौँको नाम चलेको कलेजमा पढ्छन्, धापासीका सिमोस कुँवर (२०)। उनले आफ्नै कक्षामा पढ्ने तीन जना केटीलाई एकसाथ गर्लफ्रेन्ड बनाए। ‘उनीहरू तीनै जना बेस्ट फ्रेन्ड थिए,’ उनले भने, ‘एक वर्षसम्म तीनै जनासँग डेट गरेँ। तर, उनीहरू तीनै जनाको ब्वाइफ्रेन्ड म एकै जना हो भनेर उनीहरूले थाहा पाएनन्।’ तीनै जनामा फरक–फरक गुण भएकाले गर्लफ्रेन्ड बनाएको उनले बताए। ‘एउटी पढाइमा ट्यालेन्ट थिई, अर्की राम्री थिई, तेस्री साह्रै मीठो गीत गाउँथी,’ उनले भने, ‘उनीहरू तीनै जनासँग टाइम पास गर्न खूब मज्जा लाग्थ्यो। समय मिलाई–मिलाई डेट जान्थेँ।’
सिमोस एक दिन उनै तीन जनामध्ये एक जनासँग डेटिङ गए। त्यहाँ उनको सबै पर्दाफास भयो। ‘त्यो बेला म जोसँग डेटिङमा गएँ, उनको मोबाइलमा ब्यालेन्स सक्किएको रहेछ,’ उनले सुनाए, ‘‘तिम्रो फोन देऊ न एक कल गर्छु’ भनिन्। मैले दायाँबायाँ केही नसोची फोन दिएँ। उनले आफ्नै बेस्ट फ्रेन्ड अर्थात् मेरी अर्की गर्लफ्रेन्डलाई फोन गरिछिन्। त्यो नम्बर मैले ‘बूढी’ भनेर सेभ गरेको थिएँ।
त्यसपछि उनी हाम्रा प्राइभेट म्यासेजहरू हेरेर फायर भइन्। मोबाइल नै फुटाइदिएर त्यहाँबाट गइन्।’ एउटा गर्लफ्रेन्डले सबै कुरा थाहा पाएपछि सिमोसको तीनै जनासँग ब्रेकअप भयो। उनीहरूसँग ब्रेकअप भइसकेपछि पनि सिमोस अझै अर्की युवतीको पछि लागेका छन्। ती अरू कोही नभएर उनकै कक्षामा पढाउने शिक्षिका हुन्।
‘एक दिन केटाहरूले ‘म्यामलाई पट्याएर देखा, तँलाई सबै जनाले सय–सय रुपैयाँ उठाएर दिन्छौँ’ भने,’ उनले भने, ‘म्याम साह्रै राम्री र भर्खरकी हुनुहुन्थ्यो। होमवर्क सोध्ने बहानामा दिनदिनै फोन हुन थाल्यो। एक महिनापछि त रातको १ बजेसम्म कुरा गर्ने भइसकेका थियौँ। पछि मेरो र ती केटीहरूबारे थाहा पाएपछि उहाँले कलेज नै छोड्नुभयो।’
०००
पाल्पाकी स्मारिका क्षत्री (१८) काठमाडौँ, सिनामंगलको गल्र्स होस्टलमा बस्छिन्। कलेज पढ्न आएकी उनको जीवनमा कति ब्वाइफ्रेन्ड आए÷गए, उनलाई राम्रो हेक्का छैन। ‘गाउँबाट आउँदा एकदमै लज्जालु थिएँ, कसैसँग बोल्दिनथेँ,’ उनले भनिन्, ‘बेड पार्टनर साथी सबैका ब्वाइफ्रेन्ड थिए। उनीहरू रातभरि फोनमा झुण्डिएर बस्थे। बर्थडेमा उनीहरूका ब्वाइफ्रेन्डले महँगा–महँगा गिफ्ट दिन्थे।’
यो देखेर स्मारिकालाई पनि ब्वाइफ्रेन्ड बनाउने हुटहुटी जाग्यो। सँगै कलेज पढ्ने एक जनालाई उनले ब्वाइफ्रेन्ड बनाइन्। ‘साथीहरूलाई देखाउन भए पनि बनाउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘होस्टलका साथीहरूले ‘तेरो हालखबर के छ ?’ भनेर सोध्नुभन्दा पहिला ‘तेरो ब्वाइफ्रेन्ड छ कि छैन ?’ भनेर सोध्थे।’ यसपछि उनको ब्वाइफ्रेन्ड बन्ने र छुट्ने क्रम चलिरह्यो। ‘कसैको के चित्त बुझ्दैनथ्यो, कसैको के,’ उनले भनिन्, ‘ब्रेकअप भएको थाहा पाएपछि ‘डोन्ट वरी, खुट्टा भए जुत्ता कति–कति’ भन्दै होस्टलका साथीहरू सम्झाउँथे।’
‘एक दिन एउटा केटाले ‘गाउँबाट कपालमा तोरीको तेल हालेर आएकी केटी लिभोन लगाएर हिँड्ने भई’ भनेर साथीहरूसँग कुरा गरेको सुनेँ,’ उनले भनिन्, ‘मलाई एकदमै रिस उठ्यो। केही समयपछि त्योसँग बदला लिएँ। त्यसलाई मेरो प्रेममा पागल बनाएर छाडिदिएँ।’
युवाका स्वीकारोक्ति
‘कन्फेसन अफ नेप्लिज युथ्स’ र ‘नेप्लिज टिनएजर्स कन्फेसन’ युवा पुस्तामाझ चर्चित फेसबुक पेज हुन्। जहाँ हजारौँ युवायुवती सक्रियतापूर्वक सहभागी हुन्छन्। दुवै पेजलाई हजारौँले लाइक गरेका छन्। पेजका हरेक पोस्टमा अनगिन्ती कमेन्ट आउँछन्। यी पेजमा युवायुवतीका प्रेमसम्बन्धी कन्फेसन बढी हुन्छन्। जहाँ कसैको पनि परिचय खुलाइएको हुँदैन।
नेप्लिज टिनएजर्स कन्फेसन पेजमा ठेगाना बुटवल लेखेका एक जना किशोरले आफ्नो उमेर १९ वर्ष बताएका छन्। उनले पोस्ट गरेका छन्ः ‘उसलाई मैले चोखो माया गरेको थिएँ। उसले एक दिन ‘मैले तिमीसँग माया गरेको थिइनँ’ भनी। कति सजिलै ‘टाइमपास गर्न फोनमा बोल्देको मात्र हो’ भनी। उसको टाइमपासलाई मैले माया ठानेँ।
त्यो नै मेरो सबैभन्दा ठूलो भूल भयो। उसका साथीहरूमार्फत थाहा पाएँ– त्यसरी फोनमा मीठो बोलेर १० जना केटासँग बोल्ने उनको बानी रहेछ। सबैसँग प्रेमको नाटक गर्ने, फोटो पठाउने, मीठो बोल्ने, फोनोसेक्स गर्ने गर्दिरहिछे। हेर्दा सोझी देखिने ऊ अचेल अस्टे«लिया जाने केटाको चक्करमा छे भन्ने सुनेको छु। उसको त्यो कर्तुत कुन दिन कहाँ दुर्घटनामा पर्ने हो ? थाहा छैन। मेरो चोखो मायालाई लत्याएर अस्टे«लियाको भौतिक रमझममा रमाउन खोज्ने उसको सोचलाई हार्दिक श्रद्धाञ्जलि !’
‘कन्फेसन अफ नेप्लिज युथ्स’ पेजमा एउटा कन्फेसन पोस्ट भएको छ। ह्यासट्याग फिमेल, उमेर २१ भनी परिचय दिइएको छ। पोस्टमा लेखिएको छः ‘पहिल्यै दुईतीनटा बे्रेकअप भइसकेको थियो। पहिलो ब्रेकअपपछि चुरोट खान सिकेँ। दोस्रो बे्रकअप भुलाउन रक्सी पिउन थालँे। तेस्रो बे्रकअपपछि क्लब जान थालेँ। चौथो ब्रेकअपपछि फेरी–फेरी ब्वाइफ्रेन्ड बनाउन थालेँ। अहिले दुई जना केटासँग रिलेसनसिपमा छु। मलाई दुवै जना मन पर्छन्। एक जनाको त गर्लफ्रेन्ड छ भन्ने पनि थाहा छ। उसलाई पनि मेरो ब्वाइफ्रेन्ड छ भन्ने थाहा छ। तैपनि, हामी दुवैलाई केही फरक पर्दैन। जमाना मोडर्न आयो। जमानाअनुसार त चल्नैपर्यो नि, हैन र गाइज ?’
यही पेजमा त्यस्तै अर्को कन्फेसनमा एक युवतीले लेखेकी छिन्ः ‘हाम्रो पहिलो भेटमै हामी नजिकियौँ। उसले मलाई समय दिन थाल्यो। हप्तामा सातैदिन ऊसँग भेट हुन्थ्यो। कहिलेकााहीँ जिस्किँदा ‘मेरो गर्लफ्रेन्ड छ’ भन्थ्यो। म हाँसेर उडाउँथेँ। हाम्रो फिजिकल रिलेसन पनि भयो। पछि उसको गर्लफ्रेन्ड भएको थाहा पाएँ। मेरो कारणले उनीहरूको झगडा परेछ। ऊ हामी दुवैलाई गुमाउन चाहँदैन। उसको गर्लफ्रेन्डले मलाई म्यासेन्जरमा ब्लक गरी भने भाइबरमा बोल्न आउँछ। भाइबरमा ब्लक गरी भने फोन गरेर बोलाउँछ। ऊबाट टाढा हुने धेरै कोसिस गरेँ। तर, सकिरहेको छैन। उसको गर्लफ्रेन्ड भएको थाहा हुँदाहुँदै पनि अझै म उसलाई मन पराउँछु। म के गरौँ ? प्लिज गिभ मी सम आइडिया।’
कच्चा प्रेम
‘रक्की ब्वाई’, ‘अल राउन्डर केटो’, ‘डायमन्ड किङ’ आदि गरेर सानेपा, ललितपुर बस्ने जनक (नाम परिवर्तन) का आठ वटा फेसबुक आईडी छन्। सबै आईडीमा उनको फोटो छैन। कुनैमा फूल, कुनैमा प्राकृतिक दृश्य, कुनैमा बलिउड गायक तथा अभिनेताका तस्बिर प्रोफाइल पिक्चर बनाइएका छन्।
‘आजकाल गर्लफ्रेन्ड बनाउनेबित्तिकै पासवर्ड साट्ने चलन छ,’ उनले भने, ‘आफ्नो एउटा मात्रै गर्लफ्रेन्ड भए पो पासवर्ड बाँडेर साध्य ! त्यसैले गर्लफ्रेन्डैपिच्छे फेसबुक खोल्छु।’ केटीहरूको विश्वास जित्न आफूले यस्तो गर्दै आएको उनले बताए। ‘पासवर्ड दिएपछि ‘मलाई कति धेरै विश्वास गर्छौ है तिमी’ भन्दै केटीहरू नजिकिन्छन्’ उनले भने, ‘जस्तै विश्वास नगर्ने केटीले पनि माया गर्न थाल्छन्।’
ललितपुर, चापागाउँ बस्ने आश्मा ढुंगानाको छ महिनाअघि फेसबुकमा लभ पर्यो। ‘उसले मलाई मेरो प्रोफाइल पिक्चर देख्नेबित्तिकै मन पराएको थियो,’ उनले भनिन्, ‘दिनदिनै म्यासेज, फोन र भिडियो कल गर्दागर्दै कति बेला माया बस्यो, पत्तै भएन।’ अहिले आश्माको सम्बन्ध टुटिसकेको छ। ‘ऊ एकदमै मुडी खालको थियो,’ उनले भनिन्, ‘बिस्तारै–बिस्तारै फोन गर्दा पनि झर्किन थाल्यो। अन्तिम पटक ‘तिमी मलाई माया गर्छौ कि गर्दैनौँ ?’ भनेर सोधेकी थिएँ। ‘अहिले गर्दिनँ, भोलिपर्सि माया लाग्यो भने गरौँला’ रे। मेरो पालो हत्तपत्त ब्लक गरेर ब्रेकअप दिएँ।’
भक्तपुर, दुवाकोटका निराजन सुवाल (२४) आईटीका विद्यार्थी हुन्। उनी केही समयअगाडि एक जना युवतीसँग प्रेममा थिए। ‘हाम्रो लभ परेको एक वर्षजति भएको थियो,’ उनले भने, ‘साथीहरूले ‘त्यसको पछि नलाग्, त्यसको क्यारेक्टर राम्रो छैन भन्थे। मसँग कुनै पनि प्रुफ नभएकाले पत्याउँदैनथेँे।’ बेला–बेला उनका साथीहरूले उनलाई ‘तेरो गल्फ्रेन्डको पास्ट राम्रो छैन, त्यो खत्तम केटी हो’ भन्थे।
‘त्यतिबेला म मायामा अन्धो भएको थिएँ,’ उनले भने, ‘एक दिन भिडियो च्याट गर्दा उनको रुममा मैले शंका नै गर्नुपर्ने स्थितिमा एक जना केटा देखेँ। तुरुन्तै केही भनिनँ।’ आईटीको विद्यार्थी भएकाले गर्लफ्रेन्डको सोसल मिडिया ह्याक गर्नु आफ्नो लागि ठूलो कुरा नभएको उनले बताए। ‘उनको फेसबुक खोलेर हेरेपछि म छाँगाबाट खसेको जस्तो भएँ,’ उनले भने, ‘उनका मजस्ता ब्वाइफ्रेन्ड त कति हुन्, कति !
उनले मात्र पैसाका लागि मसँग माया लगाएकी रहिछिन्।’ कलेज खर्च कटाएर गर्लफ्रेन्डलाई गिफ्ट दिएको उनले सम्झिए। ‘कलेजमा १० हजार तिर्न हुँदा घरमा १५ हजार माग्थेँ,’ उनले भने, ‘त्यसरी जम्मा गरेको पैसा सबै उनैलाई गिफ्ट किन्दैमा गयो,’ उनले भने, ‘पैसाका लागि लभ गर्दै हिँड्ने केटीले गर्दा आफ्नो समय पनि बर्बाद भयो, पढाइ पनि बिग्रियो। माया गर्नु त कहाँ हो कहाँ...अरूको पैसा उडाउन पाए हर्लिक्सको नि ढिँडो बनाएर खाइदिने केटी परिछे मेरो भागमा।’
भक्तपुर, सिपाडोलकी कृपा ढकाल केही दिनअघि कलेजबाट रस्टिकेट भइन्। आफ्नै ब्वाइफ्रेन्डसँगको सेक्स भिडियो कलेजभरि भाइरल भएपछि उनलाई कलेजले रस्टिकेट गरेको थियो। ‘उनी जो देख्यो, त्यसैलाई ब्वाइफ्रेन्ड बनाउँदै हिँड्थिन्,’ उनकी साथी आर्याले भनिन्, ‘ब्वाइफ्रेन्डले उनको अरूसँग पनि रिलेसन भएको थाहा पाएपछि त्यस्तो गरेको रहेछ।’
ब्रेकअप–प्याचअप ट्रेन्ड
काठमाडौँ, सिफल बस्ने मुस्कान बस्ताकोटी (२३) का लागि ‘ब्रेकअप’ र ‘प्याचअप’ कुनै नौला कुरा होइनन्। उनी प्रेम सम्बन्धमा रहेको पाँच वर्ष भयो। ‘यो पाँच वर्षमा हाम्रो ५० चोटि ब्रेकअप, ५० चोटि प्याचअप भइसक्यो,’ उनले भनिन्, ‘फेसबुकको पासवर्ड नदिएको, फोन नउठेको, म्यासेज रिप्लाई नगरेको निहुँमा ब्रेकअप हुन्छ।’ ब्रेकअप भएपछि एकअर्कालाई सोसल मिडियाबाट डिएक्टिभेट गर्ने गरेको उनले बताइन्। ‘‘सरी, अनब्लक गर न’ भनेर उसले साथीको अकाउन्टबाट म्यासेज पठाएपछि मन पग्लिहाल्छ,’ उनले भनिन्, ‘केही समय सम्बन्ध राम्ररी चल्छ। फेरि, झगडा सुरु भइहाल्छ।’
काठमाडौँ, ज्ञानेश्वर बस्ने कपिल बराल (२४) को केही महिनायता ब्रेकअप भयो। उनकी गर्लफ्रेन्डले हात काटेर हस्पिटलाइज भएपछि उनीहरूको फेरि प्याचअप भयो। अहिलेसम्म कति पटक बे्रकअप भयो, कति पटक प्याचअप भयो उनलाई सम्झना छैन। ‘लास्ट टाइम फेसकुकमा उनले रिलेसनसिप स्ट्याटस राखेपछि हाम्रो झगडा परेको थियो,’ उनले भने, ‘रिलेसनमा छौँ त छौँ, सारालाई किन देखाउनुपर्यो भन्दा भनाभन भयो।’ पहिला पनि यस्तै सानातिना कुरामा झगडा परेर ब्रेकअप हुने गरेको उनले बताए। ‘एकचोटि त ‘मेरो बर्थडेमा तिमीले पहिलो विस गरेनौ’ भनेर निहुँ खोज्न आइन्,’ उनले भनिन्, ‘त्यसपछि हाम्रो छ महिना ब्रेकअप भयो। अलि–अलि बोल्दाबोल्दै फेरि पछि प्याचअप भएको थियो।’
तगारो बन्दै ‘बेस्ट फ्रेन्ड’
काठमाडौँ, स्युचाटारका गगन कोजू (२५) प्रेम सम्बन्धमा रहेको सात वर्ष भएको थियो। उनको प्रेम महिनादिनअघि मात्रै छुट्यो। ‘उनको एक जना केटा बेस्ट फ्रेन्ड थियो,’ उनले भने, ‘केही समय अगाडिदेखि उनले मलाई भन्दा त्यसलाई प्राथमिकता दिन थालिन्। फ्रेन्ड भनेको छ, घुम्न पनि गा’को छ, फिल्म हेर्न पनि गा’को छ। हुँदाहुँदा एकअर्काको घरमा पनि आउजाउ हुन थालेछ।’ केही समयअगाडि उनीहरू दुवैको सहमतिमा ब्रेकअप भयो। ‘उनी आफँैले एक दिन ‘आजभोलि मलाई तिमीभन्दा ऊ मन पर्छ’ भनिन्,’ उनले भने, ‘त्यसपछि मैले केही बोल्ने ठाउँ नै भएन। चुपचाप ‘तिम्रो जिन्दगी फलोस्÷फुलोस्’ भन्दै ब्रेकअप दिएँ।’
काठमाडौँ, मनमैजुकी अमृता खतिवडा (२४) आफूभन्दा तीन वर्ष कान्छा युवासँग प्रेममा परिन्। ‘उसैले ‘एज डजन्ट म्याटर’ भनेपछि हामी नजिकिएका थियौँ,’ उनले भनिन्, ‘गुगल गरेर हेर्दा पनि धेरै रिसर्चहरूले मायामा उमेरले खासै फरक नपार्ने देखायो।’ प्रेममा परेको दुई वर्षपछि अमृताको घरमा उनीहरूको सम्बन्धबारे थाहा भयो।
‘बहिनीले उसको र मेरो प्राइभेट च्याट पढेर ममीलाई कुरा लगाइदिछे,’ उनले भनिन्, ‘त्यो बेलासम्म म ऊप्रति पूर्ण रूपमा समर्पित भइसकेकी थिएँ। हामीबीच शारीरिक सम्बन्ध पनि भइसकेको थियो।’ घर–परिवारले अमृताको बिहेको कुरा चलायो। ‘बिहेको कुरा गर्नेबित्तिकै मलाई इग्नोर गर्न थाल्यो,’ उनले भनिन्, ‘‘तिम्रो र मेरो चिना–कुण्डली मिल्दैन रे’ भनेर छाडिदियो।
पछि थाहा भयो मसँग एकदमै मिल्ने साथीसँग उसको चार वर्षदेखिको अफेयर रहेछ।’ यही माघमा आफ्नो प्रेमीले बिहे गरेको उनले बताइन्। ‘त्यो बिहेमा चिनासिना जुराउने, हेराउने केही गर्नु परेनछ,’ उनले भनिन्, ‘खतरनाक अभिनय गर्ने मान्छे रहेछ। फिल्म खेल्या भए सीधै ओस्कार अवार्ड पाउँथ्यो होला।’
प्रेममा परिवारको हस्तक्षेप
१८ वर्षीया रमा (नाम परिवर्तन) जसलाई मन पराउँछिन्, ती पुरुष डिभोर्सी हुन्। रमा अविवाहित किशोरी हुन्। उनले मन पराएको पुरुषको एक जना छोरा पनि छ। ‘ऊ मेरा लागि पर्फेक्ट छ,’ उनले भनिन्, ‘मैरै लागि बनेको हो जस्तो लाग्छ। कहिलेकाहीँ त ऊ डिभोर्सी हो भन्ने पनि बिर्सिन्छु।’ आफ्नो प्रेमलाई परिवारले स्वीकार गर्ला÷नगर्ला, यति बेला रमालाई एकदमै चिन्ता छ। ‘उहाँहरूलाई भन्ने आँट नै आएको छैन,’ उनले भनिन्, ‘उहाँहरूले डाइरेक्ट रिजेक्ट गर्नुहुन्छ भन्ने मलाई थाहा छ। तर, हामी एकअर्काबिना बाँच्न सक्दैनौँ।’
ललितपुर, संखुकी आकांक्षा (नाम परिवर्तन) एमबीबीएस गर्दै छिन्। केही समयपछि नै उनी डाक्टर बन्दै छिन्। उनी अहिले नेपाल आर्मीमा कार्यरत एक जना पुरुषसँग प्रेममा छिन्। ‘उसले जम्मा १० कक्षा मात्र पढेको छ,’ उनले भनिन, ‘हाम्रो जात पनि मिल्दैन।’ केही दिनअघि आकांक्षाको घरमा यो कुरा थाहा भयो। उनका बुबाले उनलाई नराम्रोसँग झपारे। ‘हाम्रो परिवारले हामीलाई विवाह गर्न दिएन,’ उनले भनिन्, ‘भर्खरै मात्र मेरो अर्कै एक जनासँग बिहे टुंगो लागेको छ। तर, हामीहरू एकअर्काबिना बाँच्न सक्दैनौँ।’