बाणगंगामा टेन्डर प्रक्रियामा विवाद
तौलिहवा : कपिलवस्तुको बाणगंगा नगरपालिकामा टेन्डर प्रक्रियामा विवाद भएको छ। बाणगंगा नदीमा लगाइएको नदीजन्य पदार्थको ठेक्का बुधबार खोल्ने तयारी भइरहेका बेला केही व्यक्तिकार्यालय परिसरभित्रै प्रवेश गरी सिलबन्दीसहित पेस भएका टेन्डर च्यात्ने र लुट्ने गरेपछि टेन्डर प्रक्रिया स्थगन भएको हो। नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीका अनुसार ती व्यक्तिले एउटा सिलबन्दी टेन्डर लुटेर लगेका छन् भने चार वटा च्यातेका छन्।
नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का एक महिनादेखि लगाएको थियो। ठेक्का बुधबार दुई बजे खोल्ने तयारी थियो। बिहान १० बजेदेखि नै प्रहरी प्रशासन तैनाथ थियो। तर, प्रहरी प्रशासनको सुरक्षालाई हवला दिँदै केही युवा नगरका राजस्व शाखा प्रमुख शान्तराज आचार्यको कार्यकक्षमा दुव्र्यवहार गर्न पुगेका थिए भने प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई गालीगलौज गरेको प्रत्यक्षदर्शीले बताएका छन्। टेन्डर फारम दर्ता गर्ने समय दिउँसो १२ बजेसम्म थियो भने घटना ११ बजेर १५ मिनेट जाँदा भएको हो।
घटनापछि नगरकार्यपालिकाको बैठक बसेको छ। बैठकले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही माग गरेको छ। उक्त बैठकले स्थानीय युवा शक्तिसिंह ठकुरी, तिलक थापा, सुशील ठकुरीलगायतलाई कानुनी कारबाही माग गर्ने निर्णय भएको उपप्रमुख चक्रपाणि अर्यालले बताए। सीसी क्यामेरामा कैद भएको फुटेजका आधारमा कर्मचारीमाथि अभद्र व्यवहार गर्ने तीन जनामाथि प्रशासनसमक्ष कारबाही माग गरिएको उनले जानकारी दिए।
बैठकले नदीजन्य पदार्थको ठेक्का पुनः १५ दिनपछि खोल्ने निर्णय गरेको उनले बताए। घटनाका प्रमुख दोषी ठहरिएका शक्तिसिंह ठकुरीले आफूहरूले दुव्र्यवहार गर्ने मनसायले कुनै काम नगरेको प्रस्ट पारेका छन्। ‘नगरका कही कर्मचारीले ठेकेदारसँग मिलेर अरूको फारम दर्ता गरेको हामीले देख्यौं’, उनले भने, त्यसको विरुद्धमा उत्रिएका मात्र हौं।’ नदीजन्य पदार्थको ठेक्का समयमा नखुल्दा नगरको विकास निर्माण प्रभावित भएको भन्दै नगरवासीले चिन्ता प्रकट गरेका छन्।