अजम्बरी प्रेमका १० प्रतीक

अजम्बरी प्रेमका १० प्रतीक

प्रेमका नाममा संसारभर विभिन्न स्मारक बनाइएका छन्। ती स्मारकले हामीलाई तिनका निर्माताको प्रेमकथा सम्झाउँछन् र प्रेमप्रतिको विश्वासलाई अझ दृढ पार्न सघाउँछन्। विश्वका यस्तै उत्कृष्ट १० स्मारकबारे अन्न्पूर्ण सम्पूर्णले  'अजम्बरी प्रेमका १० प्रतीक'  को चर्चा गरेको छ ।


सान्डोर गार्डेन्स, टेक्सस, अमेरिका

टेक्ससको वेदरफोर्ड शहरमा छ, यो स्मारक। यो प्रसिद्ध चित्रकार डगलस सान्डोर र उनकी पत्नी इना क्युटम्यानबीचको प्रेमको प्रतीक हो। यो स्मारक बनाउन उनीहरूले १६ वर्षभन्दा बढी समय खर्चेका थिए। बेलायती सान्डोरसन् १९२६ मा अमेरिका आएका थिए। छोटै समयमा उनी चित्रकारका रूपमा स्थापित भए। सन् १९३० मा उनको विवाह इनासँग भयो।

त्यसपछि साढे तीन एकड जमिनमा उनीहरूले सुन्दर बगैँचा बनाउन थाले। १६ वर्षको अनवरत मेहनतपछि बगैँचा तयार भयो। पहाडजस्तो जमिनलाई उनीहरूले सुन्दर पदमार्ग, झरना र बोटबिरुवा लगाएर सजाएका थिए। 

सन् १९५३ मा सान्डोरको निधन भयो। त्यसपछि क्युटम्यानले यसलाई आगन्तुकका लागि खुला गरिन्। सन् १९७८ मा उनी पनि बितिन्। यहाँ आजभोलि विवाह समारोह र विशेष भोज पनि आयोजना हुन्छन्। 

मिराबेल प्यालेस, अस्ट्रिया

अस्ट्रियाको सबैभन्दा ठूलो शहर साल्जबर्गमा छ यो स्मारक। सुरुमा सन् १६०६ मै राजकुमार आर्कबिसप वुल्फ देत्रिच भान राइटनाउले राजकुमारी सलोमका लागि यो दरबार बनाएका थिए। यो जोडीले १५ सन्तान जन्माएका थिए। 

राजकुमारको मृत्युपछि यसको नाम मिराबेल प्यालेस राखियो। त्यसयता यसको अनेकौँ पटक जीर्णोद्धार गरिसकिएको छ। यद्यपि, भित्री सजावट भने सुरुको जस्तै राखिएको छ। जसमा प्राचीन सौन्दर्य देख्न सकिन्छ। मूर्तिहरू, खास तरिकाले डिजाइन गरिएको भर्‍याङ यसका विशेषता हुन्। आजभोलि यो प्यालेस प्रेमका विश्वप्रसिद्ध प्रतीकमध्ये एक मानिन्छ। 

पेतित त्रियानो, फ्रान्स

फ्रान्सको भर्साई दरबारकै एक हिस्सा हो, पेतित त्रियानो। राजा लुई पन्ध्रौँले रानी मदाम दे पम्पादोरका लागि यो स्मारक बनाएका थिए। तर, यो तयार हुनुभन्दा चार वर्षअघि नै रानीको मृत्यु भयो। पछि लुई पन्ध्रौँले यो भवन अर्की रानी मदाम दु बेरीलाई उपहार दिए। 

पेतित त्रियानो ग्रीक शैलीमा निर्मित छ। यसलाई शास्त्रीय कलाले सजाइएको छ। यसमा प्रयुक्त काष्ठकला पनि उत्कृष्ट मानिन्छ। सुन्दर बगैँचा पनि छ। यो स्मारकको स्वरूप बेग्लाबेग्लै देखिन्छ। प्रेमी जोडीका माझ यो स्थान लोकप्रिय छ।

कोदाई जी टेम्पल, जापान

यो स्मारक जापानको क्योटोस्थित हिगासियामा र्‍योजेन पहाडमा अवस्थित छ। यो मन्दिर सन् १६०६ मा कितानो मान्दोकोरोले आफ्ना दिवंगत पति तोयोतोमी हिदेयोसीको नाममा बनाएकी थिइन्। हिदेयोसीलाई जापानको एकीकरण गरेको जस दिइन्छ। यो ऐतिहासिक स्थल आगन्तुकका लागि हरेक दिन खुला राखिन्छ। 

सन् १६२४ मा कितानो मान्दोकोरोको मृत्यु भयो। मन्दिरभित्रै दुवैको समाधि छ। त्यसपछि यो स्थान भिक्षुहरूको आश्रयस्थल बन्यो। विभिन्न कलाकृति र सुन्दर सजावटका कारण यो मन्दिर खास बनेको छ। शताब्दीयौँअघि कोबोरी एन्सुले डिजाइन गरेको यो मन्दिरवरिपरिको बगैँचाका कारण पनि यो स्थान अझ आकर्षक बनेको छ। 

थोर्नवुड क्यासल, वासिङ्टन, अमेरिका

अमेरिकाको वासिङ्टनस्थित लेकवुड सिटीमा चार एकड जमिनमा बनेको छ, थोर्नवुड क्यासल। करोडपति चेस्टर थोर्नले यो भवन बनाएका हुन्। उनकी पत्नी अन्नाले सन् १९०७ मा यस्तो किल्ला बनाउने इच्छा व्यक्त गरेकी थिइन्। 

त्यसपछि थोर्नले बेलायतको चार सय वर्ष पुरानो एउटा किल्ला खरिद गरे। त्यसलाई टुक्राटुक्रा पारेर पानीजहाजमा राखे र वासिंङ्टन ल्याइपुर्‍याए। त्यसमार्फत उनले थोर्नवुड क्यासल बनाए। पुरानो किल्लाको हरेक इँटा बोकेर वासिंङ्टन पुर्‍याइएको थियो। यसका लागि तीनटा पानीजहाज आवश्यक परेको थियो। प्रसिद्ध आर्किटेक्ट कर्टल्यान्ड केल्सी कटरले यसको डिजाइन तयार गरे। सन् १९०८ मा बनाउन सुरु गरिएको यो भवन तयार हुन तीन वर्ष लाग्यो। 

किल्लाभित्र २७ हजार स्क्वायर फिट जमिन छ। यहाँ दुर्लभ कलाकृतिसमेत देख्न पाइन्छ। बाहिरको बगैँचाले यसलाई अझ सुन्दर बनाएको छ। थोर्नवुड क्यासलभित्र अचेल भाडामा लक्जरी सुइटसमेत पाइन्छ। 

कोरल क्यासल, फ्लोरिडा, अमेरिका

फ्लोरिडास्थित मियामी शहरमा रहेको प्रस्तर मूर्तिकला स्मारक हो यो। यो एक व्यक्तिको गुमेको प्रेमको निशानी पनि हो। जसले यो स्मारक तयार पार्न २८ वर्ष खर्चेका थिए। 

२६ वर्षको हुँदा एडवर्ड लिड्कल्निनले आग्नेस स्क्फ्ससँग इन्गेजमेन्ट गरे। आग्नेस त्यसबेला मात्र १६ वर्षकी थिइन्। विवाहको मिति नजिकिँदै थियो। तर, एक दिनअघि मात्रै आग्नेसले विवाह रद्द गरिदिइन्। एडवर्डको मुटु टुक्राटुक्रा भयो। उनी विह्वल भए। भावावेगमा उनले नबनेकी पत्नीका नाममा प्रेम स्मारक बनाउने निर्णय गरे। जसलाई आज कोरल क्यासलको नामले चिनिन्छ।


एडवर्डले कोरल क्यासलको काम सन् १९२१ मा सुरु गरे। बाँकी सारा जीवन उनले यसैका लागि अर्पित गरे। पाँच फिट मात्र अग्ला उनले क्यासल बनाउन ११ सय टन कोरल ओसारे। यसैबाट उनले गरेको मेहनत थाहा पाउन सकिन्छ। कोरल गार्डेनमा जतासुकै प्रेमका चिह्न पाउन सकिन्छ। यहाँ भएका सारा आकृति एउटै मान्छेले कुँदेको हो भन्दा धेरैले नपत्याउन सक्छन्। 

केलिज क्यासल, मलेसिया

यो क्यासल मलेसियाको पेराक राज्यमा अवस्थित छ। बीसौँ शताब्दीमा स्कटल्यान्डका नागरिक केली स्मिथले लामो प्रतीक्षापछि पहिलो पुत्र जन्मेको खुशीयालीमा यो स्मारक बनाएका थिए। 

केली भारतीय संस्कृति र पुरातत्त्वशैलीका प्रशंसक थिए। त्यसैले यो किल्ला बनाउन प्रयोग भएका सबै इँटा उनले भारतबाट आयात गरेका थिए। ठूलो संख्यामा भारतीय कामदार मलेसिया पुर्‍याएर उनले काममा खटाएका थिए। मन्दिरलाई नजिकैको एक मन्दिरसँग जोड्ने एउटा सुरुङ पनि छ। केलिज क्यासलको सबैभन्दा माथिल्लो तलामा भोजभतेर आयोजना गर्ने स्थल छ। 

विलियम केली स्मिथ यो स्मारकलाई अझ सम्पन्न बनाउन चाहन्थे। त्यसैका लागि उनी विभिन्न सामग्री लिन पोर्चुगल जाँदै गर्दा सन् १९२१ मा उनको मृत्यु भयो र क्यासलको बाँकी हिस्सा अधुरै रह्यो। उनका पत्नी र छोरा स्कटल्यान्ड फर्के। त्यसपछि यो भवन पूरा गर्ने जिम्मा एक बेलायती कम्पनीले पायो। 

स्विट हार्ट एबी, स्कटल्यान्ड

तेह्रौँ शताब्दीका डेवरजिल्ला र उनका पति लर्ड जोन बेलिओलको प्रेम स्मारक हो, स्कटल्यान्डको डमफ्रिसमा रहेको स्विट हार्ट एबी। डेवरजिल्लाले पति गुमाइन्। वियोग सहन सकिनन्। त्यसैले उनले पतिको मुटु झिकेर आफूसँगै राखिन्। त्यसपछि उनले यो स्मारक बनाइन्। सन् १२८९ मा उनको मृत्यु भयो। यो स्थानलाई प्रेमी जोडीले पवित्र स्थलका रूपमा लिन्छन्। 

बोल्ट क्यासल, न्युयोर्क, अमेरिका

न्युयोर्क शहरको हार्ट आइल्यान्डमा छ, यो स्मारक। करोडपति जर्ज बोल्टले परिवारका लागि यो स्मारक बनाएका थिए। सयौँ कामदारले हार्ट आइल्यान्डभित्र अनेकौँ संरचना बनाए। सन् १९०४ मा पत्नीको मृत्युपछि उनले काम रोक्न लगाए। त्यसपछिको ७३ वर्षसम्म यो क्यासल अलपत्र रह्यो। सन् १९७७ देखि यसलाई सर्वसाधारणका लागि खुला गरियो। 

ताजमहल, आगरा, भारत  

प्रेमका प्रतीकमध्ये सबैभन्दा चर्चित छ, ताजमहल। उत्तरप्रदेशको आगरामा अवस्थित यो स्मारक मुगल सम्राट शाहजहाँले पत्नी मुमताजको स्मृतिमा बनाएका थिए। यसलाई विश्व सम्पदा सूचीमा समेत राखिएको छ। विश्वका सात आश्चर्यमध्ये एक रहेको ताजमहल पर्यटक आकर्षणको केन्द्र पनि हो।

सन् १६३२ मा बनाउन सुरु गरिएको यो स्मारक तयार हुन १७ वर्ष लागेको थियो। ताजमहल निर्माणमा २२ हजारभन्दा बढी कामदार लागेको अनुमान गरिन्छ। यसमा मुगल तथा पारसी ढाँचा र कला प्रयोग गरिएका छन्। ताजमहल बनाउन खास किसिमको संगमरमर प्रयोग गरिएको छ। जताबाट हेर्दा पनि उस्तै देखिने यो स्मारक वरिपरि रहेको बगैँचा झनै आकर्षक छ। प्रेमी जोडीका लागि त यो स्थान तीर्थस्थल नै हो। ताजमहलभित्रै मुमताज र शाहजहाँका समाधि पनि छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.