घुसकाण्डमा मुछिएका अख्तियार आयुक्तलाई महाअभियोग तयारी
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारयाण पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसद् र नेताहरुसँग बिहीबार बिहान भएको बैठकमा पाठकविरुद्ध महाअभियोग प्रक्रियता अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको उक्त निर्देशनपछि पाठकविरुद्ध महाअभियोग दर्ताका लागि सत्तारुढका सांसदहरुले आवश्यक छलफल अघि बढाएका हुन् ।
घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएसँगै नेकपा सांसदहरु महाअभियोग प्रस्तावबारे छलफलमा जुटेका हुन्। पाठकले राजीनामा नदिएमा उनीमाथि महाअभियोग लगाउने रणनीतिमा सरकार अघि बढेको हो ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङका अनुसार बालुवाटारमा भएको बैठक अख्तियारका आयुक्त घुसकाण्डमा मुछिएकोबारेमा गम्भीर चासो राख्नु भएको जानकारी दिए ।
'अख्तियारका आयुक्त घुसकाण्डमा मुछिएको बारेमा प्रधानन्त्रीले गम्भीर चासो राख्नु भएको छ', नेम्बाङले भने, 'पाठकविरुद्ध महाअभियोग लगाउनेबारेमा प्रधानमन्त्री सहमत हुनुहुन्छ ।'
नेकपा नेताहरुसँगको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति लिएको बताउँदै यसमा संसद गम्भीर हुनुपर्ने बताएको नेता नेम्बाङले अन्नपूर्णलाई जानकारी दिए । 'यस्तो कुरामा संसद् गम्भीर हुनुपर्छ', प्रमको भनाइ उधृत गर्दै नेम्बाङले भने, 'उहाँ महाअभियोग लगाउने कुरामा सहमत हुनुहुन्छ ।'
प्रधानमन्त्रीले अख्तियारका आयुक्तले घुस लिएकोबारे गम्भीर चासो जनाउँदै महाअभियोग अघि बढाउन निर्देशन दिएपछि नेकपाले आवश्यक तयारी थालेको हो ।
सत्तारुढ दलले पाठकविरुद्ध शुक्रबारसम्ममा महाअभियोग दर्ता गराउने तयारी गरेको छ । पाठकले बिहीबारसम्म राजीनामा नदिएमा शुक्रबारै संसदमा महाअभियोगका लागि सत्तारुढका सांसदहरुले छलफल अघि बढाएका हुन् ।
के हो काण्ड ?
अख्तियारका आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विवरण मिडियाहरूमार्फत सार्वजनिक भएको छ। उनले घुस लिएको भिडियो घुस दिने पक्षले मिडिया, सुरक्षा निकाय तथा राजनीतिज्ञहरूलाई उपलब्ध गराएको विवरण सार्वजनिक थियो।
आयुक्त पाठकले ठुलो रकम घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो।
अख्तियारका अधिकारी, सत्तारुढ दलका नेता र सांसदहरुले समेत करिब ९ घण्टाको भिडियो हेरेर पाठकले घुस नै लिएको निचोड निकालेका छन्। पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ।
पाठकले घुस लिए पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै पैसा दिने पक्षले भिडियो मिडिया तथा अन्य निकायमा उपलब्ध गराएको समाचारहरूमा उल्लेख छ।