नायब सुब्बाले अदालतमा पनि न्यायाधीशलाई पोले
काठमाडौं : पाँच लाख घुस रकमसहित समातिएका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले विशेष अदालतमा दिएको बयानमा न्यायाधीश बाबुकाजी बानियाँलाई पनि पोलेका छन्।
चालिसेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा पनि बानियाँलाई पोलेका थिए। चालिसेले विशेषमा दिएको वयानमा पनि न्यायाधीश बानियाँले मुद्दाका पक्षसँग रकम लिन अह्राएको बताएका छन्।
‘अख्तियारमा दिएको वयान जस्तै अदालतमा पनि उही कुरा आएको छ,’ विशेषका रजिष्ट्रार भिमकुमार श्रेष्ठले अन्नपूर्णसँग भने। श्रेष्ठका अनुसार बयान र थुनछेकको वहश सकिएपछि चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी रकम माग भएको छ। घुस प्रकरणमा मुद्दा चलाइएका चालिसेले धरौटी रकम बुझाएर चालिसे तारिखमा बसेका छन्।
यसैबीच न्याय परिषदले न्यायाधीश बानियाँमाथि छानविनका लागि सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
नासु चालिसेले पोलेपछि छानविन र कारबाहीका लागि अख्तियारले मंगलबार परिषदमा लेखी पठाएको थियो। अदालतमा विचाराधीन सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरिदिने भनी न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा घुस रकम लिएको भन्दै अख्तियारमा दिएको बयानमा पनि चालिसेले न्यायाधीश बानियाँलाई पनि मुछेका थिए।