सरकार कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित : कांग्रेस

सरकार कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित : कांग्रेस

काठमाडौं : गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ।

केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरे। ‘भाषण गर्न त उहाँहरू खप्पिस नै हुनुहुन्छ तर वर्ष दिनसम्म खै परिणाम ?’, उनले भने, ‘समाजवाद उन्मुख भन्नुहुन्छ तर कस्तो समाजवाद हो कुनै खाका छैन। समाजवाद भनेको त निमुखालाई न्याय, विपन्नलाई आय हो। यसतर्फ कुनै काम भएको छैन।’

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिए पनि कांग्रेसले भने सरकार सुशासन कायम गर्न असफल बनेको दाबी गरेको छ। ‘सुशासनमा त भद्रगोल नै देखियो नि, विकासमा पनि ठोस पाइला चालेको देखिँदैन’, वरिष्ठ नेता पौडेलले भने।

प्रधानमन्त्री ओलीले सरकारको वर्ष दिन पूरा भएको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले सरकारका प्रगतिबारे विपक्षीले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विपक्षीको आलोचनाभन्दा एक वर्षमा काम गर्न नसकेकोप्रति सरकारले आत्मालोचना गर्दै सुधार गर्न सुझाए। ‘एक वर्षको प्रगति विवरण राख्दै गर्दा सुरुमै विपक्षीको आलोचना गर्नु आवश्यक नै थिएन। एक वर्षमा भएका कमजोरी आत्मसात गर्दै सुधार्ने प्रतिबद्धता जनाउनुपर्ने थियो’, उनले भने, ‘त्यसतर्फ सरकारले कुनै चासो देखाएन। बालुवामा जग हालेपछि घर बनाउन कसरी सम्भव होला ? ’ प्रधानमन्त्री ओलीको सम्बोधनलाई उनले ‘चार ठेकी मोही, तीन थोपा घ्यू’ को उपमा दिए।

अर्थतन्त्र खस्कँदै जाँदा पनि सरकार संवेदनशील नभएको पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा.रामशरण महतले बताए। ‘देश विकासको कुरा सरकारको प्राथमिकतामै छैन। दुईतिहाइको दम्भ सरकारमा छ। जे गर्दा पनि हुन्छ भन्ने अहंकार सरकारमा देखिन्छ’, उनले भने, ‘बिग्रँदो अवस्थाको अर्थतन्त्रलाई कसरी सुधार गर्दै लैजाने भन्नेतर्फ सरकारले ध्यान दिएको छैन। वैदेशिक लगानी घटेको छ, लगानीको वातावरण बिग्रेको छ। निर्यात घट्दै गएको छ भने आयात बढ्दै गएको छ। व्यापार घाटा ६/७ महिनामै करिब ६ अर्ब अमेरिकी डलरभन्दा बढी छ। यसलाई कसरी राम्रो मान्न सकिन्छ ? ’

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा सरकारको भूमिका सकारात्मक रहे पनि प्रतिपक्षीसँग दूरी बढाउनु कमजोरी रहेको कांग्रेसको ठहर छ। ‘हतार–हतारमा कानुन बने पनि संस्थागत रूपमा संविधान कार्यान्वयनको दिशामा गएको छ, यो सकारात्मक पक्ष हो’, कांग्रेसबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले भने, ‘प्रतिपक्षीसँगको दूरी बढेको छ। यो सरकारका लागि जुनसुकै बेला पनि आत्मघाती हुन सक्छ।’

कूटनीतिमा पनि सरकार चुकेको सांसद अधिकारीले बताए। ‘अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलन मिलाउन नसक्दाको क्षति देशले बेहोरिरहेको छ। यसको पछिल्लो उदाहरण भेनेजुएला बनेको छ’, उनले भने, ‘सामाजिक क्षेत्रमा पनि सरकारले ठुल्ठूला आश्वासन बाँडे पनि परिणाममुखी काम गर्न सकेको छैन। विशेष गरी शिक्षा र स्वास्थ्यमा सरकारको बोली र कामगराइमा खाडल छ। आर्थिक क्षेत्रमा सरकार पूर्ण असफल सिद्ध भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.