भत्काइए छाउगोठ

भत्काइए छाउगोठ

अछाम : साँफेबगर नगरपालिका-११ देवीस्थानका महिलाले छाउपडी गोठ भत्काउन थालेका छन्। महिनावारी हुँदा घरदेखि टाढा बस्नु कुनै हालतमा ठीक नभएको भन्दै देवीस्थानका महिलाले छाउपडी गोठ भत्काउन थालेको स्थानीय हरिना ओडले बताइन्। गोठमा बस्दा धेरैले ज्यान गुमाउनुका साथै हिंसा सहनुपरेकाले गाउँका छाउपडी गोठ भत्काउन थालेको उनले जनकारी दिइन्।

‘गाउँका सबै महिला जम्मा भएर असुरक्षित गोठ भत्काउने सल्लाह गर्‍यौं, सबैको सहमति जुट्यो अनि भत्काउन थालेका छौं’, हरिनाले भनिन्। छाउपडी प्रथा हटाउनका लागि संघसंस्थाले काम गर्नुभन्दा पनि महिला आफैं अग्रसर हुने बेला आएको गायत्री धामीले बताइन्।

छाउपडी गोठमा बस्ने परिवारलाई वडा कार्यालयबाट प्रदान गर्ने सबै सेवा-सुविधाबाट वञ्चित गर्ने निर्णय भएपछि धेरै महिलाले गोठ भत्काउन थालेको उनले बताइन्। भनिन्, ‘जसको घरमा छाउगोठ छ, पहिले आफैंले भत्काउन सुरु गर्‍यौं, गाउँका सबै दिदीबहिनी सकारात्मक सोचसाथ छाउपडी कुप्रथा हटाउन लागेका छन्।’ उनले छिट्टै छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी गरिएको बताइन्।

छाउ भएका बेला गोठमा बस्ने परिवारलाई वडा कार्यालयबाट दिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेपछि बूढापाकाले समेत साथ दिएका वडाध्यक्ष गणेश खड्काले बताए।

महिनावारी हुँदा गोठमै बसेका कारण अछाममा थुप्रै महिलाले ज्यान गुमाइसकेपछि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले पछिल्लो समय तीव्रता पाएको छ। जिल्लाका केही गाउँमा गैरसरकारी र सरकारी क्षेत्रबाटै परियोजना सञ्चालन गरेर छाउपडी गोठ भत्काउँदा त्यति सफल नभएको यो अभियानमा महिलाले स्वस्फूर्त रूपमा गोठ भत्काउन थाल्दा प्रभावकारी भएको छ।

महिनावारी भएका बेला छाउपडी गोठमा बस्दा तुर्माखाँदकी गौरी बुढाको गत वर्ष पुसमा ज्यान गएको थियो। यस्तै गाज्राकी १५ वर्षीया रोशनी तिरुवाको दुई वर्षपहिले गोठमै ज्यान गएको थियो। देवीदेउता रिसाउने डरले नै महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको कतिपयको भनाइ छ।

दुई वर्षपहिले तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्यायले पनि छाउगोठमै ज्यान गुमाउनुपर्‍यो। राति खाना खाएर छाउपडी गोठमा सुतेकी २६ वर्षकी डम्बरा उपाध्याय बिहान मृत भेटिएकी थिइन्।

अछाममा पछिल्लो करिब एक दशकमा १२ महिला र किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाएका छन्। पछिल्लो समय पाँच वर्षअघि अछामको साँफेबगर नगरपालिका-७ रिडिकोटकी १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै भएका बेला मृत्यु भएको थियो।

त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हात्तीकोटलगायतमा ठाउँमा ती महिलाले गोठमै ज्यान गुमाएको तथ्यांंक छ। शर्मिला भुलको ज्यान गएपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको हो। महिनावारी हुँदा दही, मोही, घ्यूजस्ता पोषिला खानेकुरा खान हुँदैन भन्ने मान्यताका कारण महिला मात्र नभई दूधेबालकसमेत कुपोषित हुने गरेका छन्।

राम्रोसँग हावा नछिर्ने, खुट्टा तानेर राम्ररी सुत्न नमिल्ने सानो गोठमा चिसोका कारण बच्चा निमोनियाको सिकार हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.