बहुउद्देश्यीय सिँचाइ योजना ल्याउन सुझाव
धनगढी : सिँचाइ विकास गुरुयोजना तयार पार्दा बहुउद्देश्यीय योजना ल्याउन जोड दिइएको छ। एउटै सिँचाइ आयोजनाबाट धेरै कुराको सेवा लिन सकिन्ने गरी योजना ल्याउनुपर्ने प्रदेश सभा सदस्य प्रेमप्रकाश भण्डारीले बताए।
‘एउटै सिँचाइ योजनाबाट विद्युत्, माछापोखरी, सिँचाइलगायत थुप्रै कुराको फाइदा लिन सकिन्छ’ जलसाधन योजना तयारी सुविधा आयोजना ललितपुरले धनगढीमा गरेको सिँचाइ गुरुयोजना (मस्यौदा) प्रादेशिक परामर्श गोष्ठीमा उनले भने, ‘सिँचाइको गुरुयोजना बनाउँदा विशेष ख्याल गर्ने कुरा नै यही हो।’ २५ वर्षपछि सिँचाइ विभागले नयाँ गुरुयोजना बनाउन लागेको हो। सुदूरपश्चिम प्रदेश हिमाल, पहाड र तराई गरी तीनवटै भूभाग सुहाउँदो सिँचाइ गुरुयोजना आवश्यक भएको प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताए। ‘तराई, पहाड दुवै क्षेत्र सिञ्चित गर्न चुरेबाट आउने नदीमा ड्याम बाध्नुपर्छ’, जोशीले भने।
‘ठूला योजनामा लगानी गर्न मुस्किल छ। कम्तिमा पनि चुरेमा ड्याम र जंगलमा रहेका तालहरूमा रिचार्ज सिस्टमबाट अगाडि बढ्नुपर्नेछ’, पानीलाई बहुउद्देश्यीय तरिकाले प्रयोग गर्न सकेमा आयोजना तथा समाज दुवैलाई किफायती हुने सहभागीको जोड छ। धेरै योजना असफल भएकाले नयाँ बन्ने योजना ल्याउँदा अध्ययन गरी मात्र ल्याउनु पर्ने राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ सुदूरपश्चिमका अध्यक्ष दामोदर खड्काले बताए। ‘राजनीति स्वार्थमा अध्ययनबिनै योजनाहरू आउँछन्’, उनले भने, ‘कैलालीमा पनि थुप्रै योजना असफल छन्।’ उनले दिएको जानकारीअनुसार मोहना सिँचाइ आयोजना, खुटिया सिँचाइ आयोजनालगायत थुप्रै योजना फेल भएका छन्। ‘आवश्यकताभन्दा बढी राजनीतिक स्वार्थमा योजनाहरू परेका हुन्छन्’, उनले भने, ‘फेरि मर्मतका नाममा बजेट हाल्ने मात्र काम हुने गरेको छ।’
प्राकृतिक क्षेत्रको वस्तुस्थित अध्ययन गरेर मात्र सिँचाइ योजनाहरू सफल हुन सक्ने अर्थ विकास तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका सभापति हर्कबहादुर कुँवरले बताए। प्रदेशको प्राकृतिक बनावट अनुसारकै तीन थरीका मापदण्ड बनाउन आवश्यक रहेको उनले सुझाव दिए। ‘पहाड क्षेत्रमा ठूलो रकम खर्च गरेर नहर निर्माण हुन्छ’, उनले भने, ‘तर, वर्षा याममा माथिबाट बगेर आएको माटोले सबै पुरिन्छ। त्यस्ता योजनाको स्थानीयले कुनै फाइदा लिन सक्दैनन्।’ पहाडी क्षेत्रमा ह्यूम पाइपहरू हालेर योजना बनाएमा सफल हुन सक्ने उनले औंल्याए। योजनामा जनताको अपनत्व हुने गरी अगाडि बढेमा सफल हुने उनको सुझाव छ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले जमिन खण्डीकरण समस्या रहेकाले अब बन्ने गुरुयोजनामा यसमा ध्यान दिन आवश्यक भएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए।
‘कृषिका लागि योजना ल्याउने तर, वरिपरि रहेका जमिन नै खण्डीकरण भए कसका लागि सिँचाइ ल्याउने हो ? ’, उनले भने। उनले तराईका जंगलमा रहेका ताललाई व्यवस्थित गरी साना सिँचाइ योजना बनाउन सुझाव दिए। सुदूरपश्चिमका पहाडी जिल्लामा तुरुन्तै प्रतिफल दिने खालका योजना बनाउन आवश्यक भएको कृषि प्राविधिक वीरसिंह धामीले बताए। ‘पहाडी जिल्लामा दुई तिहाई क्षेत्रमा सिँचाइ सुविधा पुगेको छैन’, उनले भने, ‘तुरुन्तै प्रतिफल आउने खालका योजना ल्याउनु प¥यो।’
योजनाहरूमा दिगोपन तथा गुणस्तरमा जोड दिनुपर्ने सामाजिक विकास मन्त्रालयका प्रशासकीय अधिकृत किसनराज तिरुवाले सुझाव दिए। योजना ल्याएर मात्र केही नहुने भन्दै कार्यान्वयनमा जोड दिन सकेमा प्रभावकारी परिणाम आउने सहभागीको जोड थियो।