स्लोप र सी कट स्टाइल

स्लोप र सी कट स्टाइल

काठमाडौंमा अध्ययनरत झापाका सुमन गौतम (१८) ले जाडो बिदामा घर जाँदा कपालको स्टाइल बदले। उनको ‘स्लोप हेयर स्टाइल’ देखेर गाउँले साथीले समेत त्यसरी नै कपाल कटाए। ‘केही महिनाअघि कोरियाबाट घर फर्किएका दाजुुले यो स्टाइलमा कपाल काटेपछि नै मेरो ध्यान तानिएको थियो।

कलेजमा सिम्पल स्टाइल मात्र चल्ने भएकाले यसरी काट्न पाएको थिइनँ’, उनले भने, ‘घरमा हजुरबाले अलिअलि गनगन गर्नुभयो तर यसपालिलाई भने धोको पूरा भयो। फेरि अर्को लामो बिदामा पनि यसैगरी कपाल कटाउँछु।’

हिजोआज ‘स्लोप हेयर स्टाइल’ निकै चलेको बताउँछन्, अनामनगरस्थित ‘ श्री विष्णु हेयर ड्रेसर’का अशोक ठाकुर। यो स्टाइलमा साइड र पछाडिपट्टि मेसिनले छोटो पारिन्छ र अगाडि लामै कपाल राखिन्छ। टाउकामा मात्र नभएर आँखीभौंसम्म पनि लाइनिङ गरिन्छ। यो स्टाइलमा कसैकसैले पूरै कलर लगाउने त कसैले हाइलाइट्स मात्र गर्ने उनले बताए। यसलाई पहिलेपहिले कटौरा कट भनिने गरेको उनको भनाइ छ। ‘नेवारहरूले यसलाई ‘बंगाली कट’ पनि भन्थे। आजकल फेरि युवाले यसलाई मन पराउन थालेका छन्। हरेक कुराको स्टाइल दोहोरिइरहँदो रहेछ’, उनले भने।

साउथ इन्डियन फिल्म ‘ना पेरु सूर्या’ का हिरो अल्लु अर्जुनबाट प्रभावित भएर धेरै युवाको ध्यान उक्त स्टाइलले तानेको उनको बुझाइ छ। त्यो फिल्म हेरेपछि उक्त स्टाइल पछ्याउनेको लर्को लागेको छ। अधिकांश युवाले कपाल काट्ने बेलामा हिरो र मोडलको कुरा गर्ने गरेको उनी बताउँछन्। कतिपय फलानो मोडलको जस्तै काटिदिनुस् भन्दै आउँछन् त कोही फोटो नै बोकेर आउने उनको भनाइ छ।

त्यस्तै बजारमा ‘सी कट’ पनि चल्तीमा रहेको ‘ए वन सैलुन’का जफिर ओस्ता बताउँछन्। ‘यो स्टाइलमा वरिपरि मेसिन लगाएर कपाल छोटो पारिन्छ र तालुमा मात्रै लामो पारिन्छ।’ उनले भने, ‘वल्र्डकपको समयमा नेमार र रोनाल्डोको स्टाइलले बजार पिटेको थियो। फेरि त्यो हटेको छ। बेलाबेला स्टाइल चेन्ज भइरहन्छ।’ धेरैजसो युवा खेलाडी र मोडेलबाटै प्रभावित हुने गरेको उनी बताउँछन्। ‘कतिपय मोबाइलमा फोटो ल्याएर पनि त्यस्तै काटिमाग्छन्। छुट्टीको समयमा विद्यार्थीको चाप बढी हुन्छ। स्कुल, कलेज लागेपछि उनीहरू नै सिम्पल स्टाइलमा काटिमाग्न आउँछन्। कलेजमा स्टायलिस कपाल नचल्ने भएकाले गुनासो पनि गर्छन्।’

अछामका नरेश बीसी (२४)ले पहिलोपटक ‘सी कट’ काटेका छन्। उनी होस्टलमा काम गर्छन्। ‘होस्टलका अधिकांश विद्यार्थीले काटेको स्टाइल मन पराएर पहिलोपटक यसरी कपाल काटेको हुँ। यसअघि सिम्पल राख्थेँ’, उनले भने। एकजना साथीले लामो र बाक्लो कपाल देखेर पछाडिपट्टि लामो पारेर राख्ने ‘यु कट’ काट्न सुझाए पनि उनले रुचाएनन्।

त्यस्तै कार्पेन्टरको काम गरिरहेका सिन्धुपाल्चोकका रामकुमार श्रेष्ठ (२३)ले पनि साथीहरूको सिको गर्दै ‘सी कट’ काटेका छन्। उनले यो स्टाइल पछ्याएको ४–५ महिना भयो। ‘अहिले त बानी नै परिसक्यो, यही स्टाइल मन पर्न थालेको छ। घर गएका बेला साथीहरूले पनि यसरी नै कपाल कटाए’ उनले भने।

नवराज श्रेष्ठ २३ ले पनि मंगलबार मात्रै ‘सी कट’ कटाए। साथीहरूको कपाल देखेर र फिल्म हेरेर यो स्टाइल मन परेको उनको भनाइ छ। साथीहरूले पनि उनलाई यो स्टाइलले म्याच गरेको बताउँछन्। आफूलाई मन परेको स्टाइलमा कपाल काटेको फोटो फेसबुकमा हालेर साथीहरूको कमेन्ट पढ्दा आनन्द लाग्ने उनी बताउँछन्।

साउथ इन्डियन फिल्म ‘ना पेरु सूर्या’ का हिरो अल्लु अर्जुनबाट प्रभावित भएर धेरै युवाको ध्यान उक्त स्टाइलले तानेको छ।

चाबहिलस्थित केएल टावरमा रहेको ‘नील डेभिड हेयर कटिङ सैलुन’मा कपाल काटिरहेका विनय अधिकारी स्पाइकी स्टायल चलेको बताउँछन्। एउटै स्टायललाई विभिन्न नाम दिने गरिएको उनको ठम्याइ छ। यसमा पनि कपाल छोटोबाट लामो पार्दै लगिने उनको भनाइ छ। कुनै स्टायलमा कपाल काटेर मात्रै कपाल राम्रो नहुने बताउँछन्। यसका लागि कपालको स्याहार गरिरहनुपर्ने सुझाउँदै उनी भन्छन्, ‘स्टायल पछ्याएर मात्रै कपाल राम्रो हुँदैन। यसका लागि कपालको स्याहार आवश्यक छ। तेल, जेल, हेयर वाक्स, मुस, स्प्रे जस्ता कुरामा सधैं ख्याल गर्नुुपर्छ। यसले मात्रै कपाललाई ताजा राख्छ।’

ललितपुरको एक प्राइभेट कलेजमा पढ्ने चितवनका राजेश अधिकारीलाई ‘स्लोप हेयर स्टाइल’ मन पर्छ। केही दिनअघि साथीहरूसँग पिकनिक जाँदा एक दिनकै लागि भए पनि स्लोप स्टाइलमा कपाल कटाए। ‘फोटो खिचेर फेसबुकमा अपलोड गरियो। एउटा फोटो फ्रेम पनि गरेर राख्ने सोचाइ छ’, उनले भने, ‘कलेजको नियम र प्रिन्सिपलको स्पष्टीकरण लिने शैलीले साथीहरू दिक्क छन्। ड्रेस लगाएपछि कपालको स्टाइल त मन परेको राख्न दिए हुने नि।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.