जथाभावी यात्रु बोक्न नदिएको भन्दै जिप सेवा बन्द
डोल्पा : हिमाली जिल्ला डोल्पामा जथाभावी यात्रु बोक्न नदिएको भन्दै जिप व्यवसायीले सेवा बन्द गराएका छन्। जिल्ला भित्र चल्दै आएका जिप व्यावसायीलाई जिल्ला प्रशासन कार्यालय डोल्पाले क्षमताभन्दा धेरै यात्रु बोक्न रोक लगाएपछि उनीहरुले जिप सेवा बन्द गराएका हुन्।
ब्लुबुकमा तोकिएअनुसार मात्रै यात्रु बोक्न पाइने भनेपछि आफूहरु मारमा परेको जिप व्यावसायी दत्तबहादुर ठकुल्लाले बताए। आम्दानी हुने आसामा लाखौ खर्च गरेर हलिकोप्टरबाट डोल्पा पुर्याएका थियौं, प्रशासनले ४ जना यात्रु मात्रै बोक्न निर्देशन दिएपछि आफूहरु मर्कामा परेको सुरेन्द्र कठायतले बताए।
जिल्लामा अस्थायी ट्राफिक कार्यालयको स्थापना भएसँगै यातायातमा नियमानुसार जिपहरु सञ्चालन गर्नुपर्ने र जिपमा राखिने यात्रुको बिमा अनुसार मात्र यात्रु बोक्नु पर्ने नियम लागू गरिएको छ।त्यसो नगरिए कारवाही हुने प्रमुख जिल्ला आधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
क्षमताभन्दा धेरै यात्रु बोकेमा दुर्घटनाको संभावना बढ्ने भएकाले यस विषयमा कानुनअनुसार नै जाने प्रजिअ थापाले बताए। दुनै-जुफाल,दुनै-सूपानि,खदाङ-छलगाडमा हाल एक दर्जनभन्दा बढी जिप संचालनमा छन्।
बिहीबार जिल्ला प्रशासनले क्षमताभन्दा धेरै यात्रु नबोक्न निर्देशन दिएपछि शुक्रबारदेखि जिप धनीले बन्द गरेका हुन्। खदाङ-छलगाडको रुटमा कोचाकोच गरी यात्रु हाल्ने गरेको भन्ने सूचना आएपछि प्रहरीले निगारानी बढाएको प्रजिअले बताए।
थापाले भाडा पनि अब स्थानीय सरकारले निर्धारण गर्नुपर्ने बताए।उनले जिप व्यवसायीले मनपरी ढंगले नभइ किलोमिटरको हिसाबले भाडा लिनुपर्ने बताए। हाल दुनै-जुफाल ३५०,दुनै सूँपानि ४००,खदाङ-छलगाड ४०० रुपैयाँ भाडा तिरेर यात्रा गरिरहेका छन्।जुफाल बिमानस्थलबाट दुनैसम्म कार्गो सामानको ढुवानी प्रति किलो १६ रुपैयाँमा भइरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ ।