गण्डकीका मुख्यमन्त्री गुरुङको आरोप : संघ सरकारले भाजो हाल्यो
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरु विकास निर्माणको काममा लाग्दा पनि संघ सरकरले भाजो हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
संघ सरकारले आफूहरुसँग समन्वय गर्नुपर्नेमा त्यस्तो व्यवहार नदेखाएको उनले बताए । यद्यपि आफ्नो प्रदेशलाई समृद्ध बनाएर संसारभर चिनाउने प्रतिवद्धता उनले व्यक्त गरेका थिए ।
खेलकुदबाटै गण्डकी प्रदेशलाई समृद्ध बनाउने उनको धारणा थियो । आगामी २ वर्षभित्र यहाँ अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गरी गण्डकी प्रदेशलाई विश्वमा चिनाउने उनले बताएका थिए ।
मुख्यमन्त्री गुरुङले ‘मनिटरिङ रुम’ स्थापना गरी सोही कक्षबाट प्रदेशका गतिविधि नियाल्ने पनि बताएका छन् । प्रदेश स्थापनाको वर्षदिन पुगेको अवसर पारेर फागुन ४ गते स्याङ्जामा यस्तो बताएका हुन् ।
उचित अनुगमन तथा निरीक्षण हुन नसक्दा विकास निर्माणले गति लिन नसक्नुका साथै अनियमितता बढेको उनको भनाइ थियो । सबै कामको नियन्त्रण र सुशासन कायम गर्न मनिटरिङ रुम स्थापना गर्न लागेको बताएका हुन् ।
पुतलीबजार नगरपालिकाद्वारा आयोजित तीनदिने अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको शुक्रबार मालेबटरमा उद्घाटन गर्दै गुरुङले प्रदेशले प्राविधिक शिक्षामा चासो देखाऐको पनि बताए ।
‘गण्डकी टेक्निकल विश्वविद्यालय स्थापना गरी सन २०१९ को नोभेम्बरबाट पढाइ संचालन गर्नेगरी तयारी भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने ‘कक्षा १२ सम्म अध्ययन सकेका धेरैजसो विद्यार्थी विदेशिएका छन् । तीनै विद्यार्थीलाई आफनै मुलुकमै अड्याउन प्रदेशमै विश्वविद्यालय संचालनका लागि जुटेका छौँ ।’