नेकपाको विवादले लेखा समिति अध्यक्ष चयन अन्यौलमा : किर्ते समर्थक बनाएर मनोनयन दर्ता
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढेपछि प्रदेशसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको अध्यक्ष पदका लागि किर्ते समर्थक बनाएर मनोनयन दर्ता भएको छ।
भागबण्डामा नेकपाले पाएको लेखा समिति अध्यक्षमा दुईजनाले उम्मेदवारी दर्ता गराएपछि विवाद भएको हो।
साहको मनोयनपत्रमा समर्थकको हस्ताक्षर रहेको नेकपा सांसद रामकुमार यादवले आफ्नो किर्ते हस्ताक्षर गरिएको भन्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए।
उनको आरोपपछि अध्यक्षका लागि मनोनयन दर्ता गराएका साहको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको छ। अध्यक्ष पदका अर्का दाबेदार महतोका प्रस्तावक बनेका संघीय समाजवादी फोरमका सांसद पारसप्रसाद साहले अन्तिम समयमा प्रस्ताव फिर्ता लिएपछि महतोको उम्मेदवारी पनि रद्द भएको हो। दुवैको उम्मेदवारी रद्द भएपछि समिति अध्यक्ष चयनका लागि शनिबार बस्ने प्रदेशसभाको बैठकले मिति निश्चित गर्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए।
संसदीय दलले नेकपाका तर्फबाट साहलाई अध्यक्षको लागि सिफारिश गरे पनि महतोले मनोमानी रुपमा मनोनयन दर्ता गराएपछि विवाद उत्पन्न भएको हो।
लेखा समितिमा अध्यक्षका लागि विवाद भए पनि अन्य ६ वटा समिति अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपाका रामचन्द्र मण्डल, प्रदेश मामिला समितिमा फोरमका अशोक यादव, विकास समतिमा फोरमकै शेख अबुलकलाम चयन भएका छन्।
त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिमा कांग्रेसका वीरेन्द्र सिंह र महिला बालबालिका तथा सामाजिक न्याय समितिमा जयनुल राईन निर्विरोध निर्वाचित भएका छन्।