महिला हुन अदालतदेखि लिंग परीक्षणसम्म
चर्चित दक्षिण अफ्रिकी धाविका कास्टर सेमेन्या यतिबेला फेरि चर्चाको शिखरमा छिन्। विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ मा दुइटा स्वर्ण पदक जितिसकेकी २८ वर्षीया यी धाविकालाई नियतिले एकपटक फेरि अदालतको कठघरामा उभिनुपर्ने बाध्यता उत्पन्न भएको छ। नियति पनि कस्तो ! विश्व ‘महिला’ एथलेटिक्समा सफलताका थुप्रै शिखर चुमिसकेकी यी धाविकाले अदालतमा उभिएर आफू ‘महिला’ नै भएको प्रमाण पेस गर्नुपर्ने भएको छ। दक्षिण अफ्रिकाको घरेलु प्रतियोगिताहरूमा सीमित रहँदासम्म सेमेन्या विश्व एथलेटिक्समा कसैको चासोको विषय थिइनन्।
तर दक्षिण अफ्रिकाको भौगोलिक सीमा नाघेर विश्व खेल मञ्चमा उदाउन थालेपछि उनले एकपछि अर्को विवादको सामना गर्नुपरेको छ। सन् २००९ को जुलाईमा सेमेन्या एकाएक अन्तर्राष्ट्रिय एथलेटिक्समा चर्चाको विषय बन्न पुगिन्। जब उनले अफ्रिकन जुनियर च्याम्पियनसिपमा महिला आठ सय मिटरको दूरी केवल एक मिनेट ५६.७२ सेकेन्डमा पूरा गरेर नयाँ कीर्तिमान बनाइन्।
एकातिर जिउडाल पनि पुरुषको जस्तो अनि अर्कोतिर आठ सय मिटर दौड केवल एक मिनेट ५६.७२ सेकेन्डमै पूरा गर्नु। यी दुई आधार आलोचकका लागि उनीमाथि औंला उठाउने मसला बन्न पुगे। त्यसपछि उनको विषयमा थुप्रै चर्चा–परिचर्चा भए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको पक्ष र विपक्षमा समाचारको ओइरो नै लाग्न थाल्यो।
त्यसपछि विश्व एथलेटिक्स महासंघ (आईएएएफ) ले पनि सेमेन्याको प्रदर्शनमाथि शंक व्यक्त गर्यो। ठीक त्यसैबेला अगस्त १५ देखि २३ सम्म जर्मनीको बर्लिनमा एथलेटिक्सको बाह्रौं विश्व च्याम्पियनसिप आयोजना हुँदै थियो र सेमेन्या पनि त्यो प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त थिइन्। तर आईएएएफले अप्रत्यासित रूपमा विश्व च्याम्पियनसिपअघि सेमेन्याले आफ्नो लिंग परीक्षण गराउनुपर्ने निर्णय सुनायो। आईएएएफले विश्व च्याम्पियनसिपमा सहभागी हुनुअघि लिंग परीक्षण गराउनुपर्ने निर्णय सुनाएपछि त्यसले सेमेन्याको मानवअधिकारको हनन हुने टीकाटिप्पणी पनि प्रशस्तै भए।
केही समयको वादविवादपछि दक्षिण अफ्रिकी खेल अधिकारी सेमेन्याको लिंग परीक्षण गराउन त तयार भए, सँगसँगै उनीहरूले आईएएएफसँग एउटा माग पनि अघि सारे। सेमेन्याको लिंग परीक्षण दक्षिण अफ्रिकामा नभई अन्यत्र गराइनुपर्ने उनीहरूको अडान थियो। आईएएएफ भने दक्षिण अफ्रिकी खेल अधिकारीहरूको यो मागमा सहमत भएन। विवाद बढ्दै गएपछि आईएएएफले सेमेन्यालाई विश्व च्याम्पियनसिपका लागि जर्मनी नपठाउन दक्षिण अफ्रिकी एथलेटिक्स संघलाई निर्देशन दियो। पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागी भएर पदक जित्ने सपना बुन्दै दिनरात कठोर परि श्रम गरिरहेकी सेमेन्याका लागि आईएएएफको त्यो निर्णय ठूलै बज्रपात थियो।
दक्षिण अफ्रिकी एथलेटिक्स संघले पनि आफ्नी उदीयमान खेलाडीको साथ नछाड्ने निर्णय लियो र अन्तिम समयसम्म सेमेन्या महिला नै भएको दाबी पनि गरिरह्यो। अर्कोतिर सेमेन्याको परिवारले पनि पटकपटक उनी महिला नै भएको दाबी गरिरहेको थियो। सेमेन्याकी हजुरआमाले भनेकी थिइन्, ‘मलाई थाहा छ, ऊ (सेमेन्या) महिला हो। किनभने मैले नै उसलाई हुर्काएकी हुँ।’
अन्ततः केही सिप नलागेपछि आईएएएफ पनि आफ्नो निर्णय बदल्न बाध्य भयो र सेमेन्या विश्व च्याम्पियनसिप खेल्न बर्लिन पुगिन्। बर्लिन विश्व च्याम्पियनसिपको आठ सय मिटर दौडमा सेमेन्याले पहिलेभन्दा पनि अझ उत्कृष्ट समय निकाल्दै स्वर्णपदक पनि जितिन्। त्यहाँ उनले आठ सय मिटर दौड केवल एक मिनेट ५५.४५ सेकेन्डमा पूरा गरेकी थिइन्। त्यतिबेला सेमेन्याले विश्व एथलेटिक्समा स्थापित दुई खेलाडी केन्याकी जानेथ जेपकोस्गी (एक मिनेट ५७.९० सेकेन्ड) र ब्रिटेनकी जेन्नी मेडोस (एक मिनेट ५७.९३ सेकेन्ड) लाई पछि पारेकी थिइन्।
दुई सय दुई राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा विश्वभरका नामुद खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेपछि सेमेन्या फेरि एकपटक विवादमा तानिन पुगिन्। विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दा अन्य खेलाडी प्रशंसा र पुरस्कारको हकदार बन्छन्, तर सेमेन्या भने विवाद र आलोचनाको पात्र बन्न पुगिन्। विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि त्यतिबेला सेमेन्याले विश्व एथलेटिक्समा स्थापित दुई खेलाडी केन्याकी जानेथ जेपकोस्गी (एक मिनेट ५७.९० सेकेन्ड) र ब्रिटेनकी जेन्नी मेडोस (एक मिनेट ५७.९३ सेकेन्ड) लाई पछि पारेकी थिइन्। केन्याकी जेपकोस्गी विश्व च्याम्पियनसिपमा उक्त स्पर्धाकी पूर्वविजेता थिइन्।
विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि आईएएएफले फेरि सेमेन्याको प्रदर्शनमाथि प्रश्न उठायो र उनको लिंग परीक्षण गराउन निर्देशन दियो। त्यसपछि आश्चर्यजनक रूपमा दक्षिण अफ्रिकी एथलेटिक्स संघका तत्कालीन अध्यक्ष लियोनार्द चुयनले सेमेन्याको लिंग परीक्षणको विषयमा एउटा रहस्य खोले। उनले विश्व च्याम्पियनसिपअघि सन् २००९ को अगस्तमै सेमेन्याको लिंग परीक्षण गरिएको दाबी गरे।
चुयनले सेमेन्याको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै आफूले लामो समयसम्म यो रहस्य लुकाएको दाबी पनि गरे। अध्यक्ष चुयनले लिंग परीक्षणमा सेमेन्या महिला नै भएको टुंगो लागेको रहस्य खोलेपछि विश्व एथलेटिक्समा पछिल्लो समय उनको विषयमा अर्को विवाद सुरु भएको छ।
पछिल्लो समय सेमेन्यामा महिलाको तुलनामा पुरुषको हर्मोन बढी भएकाले उनलाई महिला प्रतियोगितामा भाग लिनबाट रोक लगाउनुपर्ने माग अघि सारिएको छ। यो विवाद अहिले स्विट्जरल्यान्डको लाउसानेस्थित ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्’ मा चलिरहेको छ र छिट्टै यसको फैसला पनि सुनाइँदै छ।
यसबीचमा मध्यम दूरीकी धाविका सेमेन्याले ओलम्पिक खेलकुद र विश्व च्याम्पियनसिपमा थुप्रै पदक कुम्लाइसकेकी छन्। उनले सन् २०१२ मा लन्डनमा भएको गृष्मकालीन ओलम्पिकको आठ सय मिटर दौडमा निर्धारित दूरी एक मिनेट ५७.२३ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितिन्। लन्डन ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्ट्मा दक्षिण अफ्रिकी टोलीको झन्डासमेत सेमेन्याले नै बोकेकी थिइन्।
अन्तर्राष्ट्रिय जगत्मा सेमेन्याको जतिसुकै आलोचना भए पनि सिंगो राष्ट्र उनको पछाडि छ भन्ने संकेत दिन दक्षिण अफ्रिकाले ओलम्पिकको उद्घाटन समारोहमा राष्ट्रिय झन्डा उनलाई नै बोकाउन लगाउने निर्णय लिएको थियो। एउटा खेलाडीका लागि राष्ट्रले दिएको गतिलो सम्मान पनि थियो त्यो।
त्यसपछि विवादकै बीच सेमेन्याले सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा आयोजित ओलम्पिक खेलकुदको आठ सय मिटर दौडमा पनि निर्धारित दूरी एक मिनेट ५५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारिन्। लन्डन ओलम्पिकको तुलनामा यतिबेला उनले आफ्नो समयमा पनि केही सुधार गरेकी थिइन्।
यसबाहेक सेमेन्याले सन् २०११ मा दक्षिण कोरियाको देगु र सन् २०१७ मा लन्डनमा आयोजित विश्व च्याम्पियनसिपको आठ सय मिटर दौडमा पनि स्वर्ण पदक जितिसकेकी छन्। लन्डनमा भएको विश्व च्याम्पियनसिपको एक हजार पाँच सय मिटर दौडमा उनले कांस्य पदक पनि जितेकी थिइन्। यस अतिरिक्त उनले अन्तरमहाद्वीपीय खेलकुद, राष्ट्रमण्डलीय खेलकुद, अफ्रिकन गेम्स, अफ्रिकन एथलेटिक्स च्याम्पियनसिपमा पनि थुप्रै स्वर्ण पदक चुमिसकेकी छन्।
सेमेन्याको पछिल्लो विवादमा आईएएएफले उनी ‘जैविक पुरुष’ भएको दाबी गरेको छ। सेमेन्याले महिलाको प्रतियोगितामा भाग लिन सबैभन्दा पहिले आफ्नो ‘टेस्टोस्टरोन’ कम गराउने औषधी सेवन गर्नुपर्ने दाबी आईएएएफले गरेको छ। यही मागलाई पुष्टि गर्न आईएएएफले ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्’ मा आफ्नो तर्क र प्रमाण पेस गर्नेछ।
आईएएएफको दाबी छ, ‘टेस्टोस्टरोन’ मात्र कम नभएसम्म सेमेन्यालाई महिलाको कुनै पनि प्रतियोगितामा भाग लिनबाट रोक लगाइनुपर्छ। आईएएएफले सेमेन्या मात्र होइन, अन्य खेलाडीको हकमा पनि यस्तो नियम लागू हुनुपर्ने माग अदालतसमक्ष गरेको छ। कुनै पनि सामान्य महिलामा पाइने ‘टेस्टोस्टरोन’ को मात्राको तुलनामा सेमेन्यामा तीन गुना बढी ‘टेस्टोस्टरोन’ को मात्रा रहेको दाबी गरिएको छ।
‘कुनै पनि खेलाडीमाथि लैंगिक विभेद गर्नु हाम्रो उद्देश्य होइन। तर कुनै महिलामा टेस्टोस्टरोनको मात्रा पुरुषको बराबर हुन्छ भने त्यस्ता महिला खेलाडीको हड्डी, मांसपशी, आकार र क्षमता पनि पुरुषकै जस्तो विकसित हुन्छ। हेमोग्लोबिनमा पनि वृद्धि हुन्छ। यस्तो स्थितिमा टेस्टोस्टरोनको मात्र बढी हुने महिला खेलाडीले पनि पुरुषकै जस्तो प्रदर्शन गर्न सक्छन्’, आईएएएफ भन्छ। कुनै पनि प्रतियोगितामा समान स्तरका महिला खेलाडीबीच मात्र स्वस्थ प्रतिस्पर्धा होस् भन्ने आफ्नो उद्देश्य रहेको आईएएएफको तर्क छ। आईएएएफले पछिल्लो समय आफ्नो नियमलाई पनि सोहीअनुरूप परिवर्तन गरिसकेको छ, तर आईएएएफको उक्त नियमलाई सेमेन्या र दक्षिण अफ्रिकी एथलेटिक्स संघले चुनौती दिएपछि विवाद ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस’ सम्म पुगेको हो।
विवाद न्यायालयमा पुगिसकेको वर्तमान अवस्थामा सेमेन्याका पक्षधरहरूले ‘टेस्टोस्टरोन’ को मात्रा महिलाको हाराहारीमा भएका पुरुष खेलाडीलाई महिलाका प्रतियोगिताहरूमा भाग लिन दिने वा नदिने भन्ने प्रश्न पनि उठाएका छन्। ‘सेमेन्या महिला हुन् भन्नेमा कुनै प्रश्न उठाउनु आवश्यक नै थिएन’, उनका कानुन व्यवसायीले भनेका छन्। यद्दपि ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्’ ले अर्को साता गर्ने निर्णयले नै सेमेन्याको खेल भविष्यको निर्णय गर्नेछ।