पूर्वमा गाँठे रोगको प्रकोप
तोयानाथ भट्टराई। इलाम, हरिबहादुर लम्जेल। धनकुटा, टीआर लिम्बु। तेह्रथुम :
व्यावसायिक तरकारी खेती गर्दै आएको इलाम, धनकुटा तेह्रथुमलगायत जिल्लामा काउली समूहका बालीमा जरामा गाँठो पलाउने (क्लब रुट) रोगको प्रकोप बढेपछि किसान समस्यामा परेका छन्। वर्षमा ६ हजार बोटसम्म काउली लगाउने इलामको सूर्योदय नगरपालिका १२ का प्रेम राईले अहिले काउली समूहको खेती नै गर्न छोडेको बताए। पाँच वर्ष अघिदेखि क्लब रुटको प्रकोप देखिन थालेपछि व्यावसायिक खेती गरिरहेका किसान समस्यामा परेको कृषक राईले बताए।
फूलकोपी, बन्दाकोपी, ब्रोकाउली, गाँठ कोपी, रायो तोरीलगायत बालीको जरामा गाँठो पलाउन थालेपछि आयआर्जनको स्रोत नै मासिएको इलाम नगरपालिका २ सुम्बेकका कृषक विनोद देवानले बताए।
नेपालमा पहिलोपटक पाँचखालमा देखा परेको यो रोगले काउली समूहको खेती नियमित एउटै जमिनमा गर्दा बढी सताउने गरेको छ। जिल्लाका मुख्य तरकारी खेती हुने क्षेत्रमा फैलँदै गएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख बरिष्ठ कृषि अधिकृत राम सोगारथ शाहले बताए।
इलाममा ७६ करोड ३९ लाख १४ हजार बराबरको काउली, बन्दा र रायो उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। कृषक राईका अनुसार क्लब रुटका कारण तरकारीका प्लट नै नष्ट हुन थालेको छ। देउमाई नगरपालिकाको चमैता, इलाम नगरपालिकाको तरकारी पकेट क्षेत्र, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिकालगायत तरकारी क्षेत्रमा क्लब रुटको समस्या देखापरेको छ।
इलामका किसानले तीन सय ९६ हेक्टरमा वार्षिक ६ हजार ५९६ टन फूलकोपी उत्पादन गर्ने गरेका छन्। कार्यालयका अनुसार फूलकोपीको औसत मूल्य प्रतिकिलो २२ रुपयाँ रहँदा १४ करोड ५१ लाख १२ हजार किसानको हातमा पर्ने गर्छ।
हिउँदे र बेमौसमी गरेर सात सय ३२ हेक्टरमा खेती गरिने बन्दा वार्षिक रूपमा ११ हजार नौ सय ७८ टन उत्पादन हुने गरेको छ। औसत ४९ रुपैयाँमा बिक्री हुने बन्दाबाट किसानले ५८ करोड ६९ लाख २२ हजार हात पार्ने गरेका छन्। हिउँदमा मात्र उत्पादन हुने रायो इलाममा पाँच सय ३३ हेक्टरमा उत्पादन हुने गरेको छ। वार्षिक एक हजार पाँच सय ९४ टन उत्पादन हुने रायो सागबाट किसानले वार्षिक तीन करोड १८ लाख ८० हजार आर्जन गर्ने गरेका छन्।
अम्लीय माटोमा यसको प्रकोप बढी हुने बरिष्ठ कृषि अधिकृत शाह बताउँछन्। बिरुवा बढ्दै गएपछि माटो मुनिको काण्ड र जरामा मुलाजस्तो गाँठो पलाउने र पछि कालो भएर मर्ने समस्यालाई विज्ञहरूले क्लब रुट भन्ने गरेका छन्।
महँगो बीउको प्रयोग
धनकुटामा काउली वर्गअन्तर्गतका तरकारी बालीमा लागेको जरा गाँठो हुने ‘क्लब रुट’ रोग अझै निराकरण हुन नसक्दा धनकुटाका उच्च पहाडी भेगका व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित भएका छन्। रोग निराकरण नभएपछि परीक्षणका रूपमा काउली वर्गका नयाँ जातको बीउ खरिद गरेर खेती सुरु गरिएको सिँधुवा नाम्जाङका किसान दीपक गुरुङले बताए।
जरा गाँठो हुने रोगसँग जुध्न सक्ने काउली बालीका रोहिला र एरोम्याम जातका बीउ किसानले रोप्न थालेको उनले बताए। उनका अनुसार सो जातका बीउ महँगो भए पनि बाध्य भएर खेती गरेको उनले बताए। ‘रोगसँग जुध्ने बीउ १० ग्रामको एक हजार रुपैयाँसम्म पर्छ’, उनले भने, ‘पहिला हामीले प्रयोग गर्ने सुपरकोरनेट, कोरनेट नेपाली ग्रिन जातको बीउ १० ग्रामको दुई सय ५० रुपैयाँ पाइन्थ्यो। ’
अहिले धनकुटाका उच्च भेगसहित छिमेकी जिल्ला धनकुटा र तेह्रथुमका तरकारी फल्ने बाली यो रोगबाट संक्रमित छन्। धनकुटाका परेवादिन, तांखुवा, मुक्तिढुंगा, तेलिया, हात्तिखर्कलगायत स्थानमा तरकारी खेती हुन्छ।
फूलकोपी, बन्दाकोपी, ब्रोकाउली, गाँठ कोपी, रायो तोरीलगायत बालीको जरामा गाँठो पलाउन थालेपछि आयआर्जनको स्रोत नै मासिएको इलाम नगरपालिका–२ सुम्बेकका कृषक विनोद देवानले बताए।
परेवादिनको दुई वडाको करिब ९० प्रतिशत खेतीयोग्य भू–भागमा यो रोगको संक्रमण फैलिएको छ। पछिल्लो समय बन्दा काउलीलाई मात्रै होइन रायोको साग, मुला, आदिमा समेत क्लबरुटको संक्रमण देखिन थालेको उनले बताए। गुरुङले नाम्जाङमा करिब ८ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छन्। एक सिजनमा तीन लाख रुपैयाँसम्म कमाई गर्ने उनले अहिले रोगको संक्रमण बढेपछि लागत खर्चसमेत उठान धौधौमा परिहरेको उनले बताए। उनी भन्छन्, ‘यो रोग कृषिको भाइरस रहेछ। कृषिको भाइरस रहेछ। निराकरण हुनका लागि कम्तीमा पनि त्यही खेती १० वर्षसम्म गर्न नमिल्दो रहेछ। ’
गाँठे रोग निराकरण नभए पनि खेती गर्नुको बिकल्प नरहेको सिँधुवाका किसान अर्जुन घिमिरेले बताए। सरकारले रोग निराकरण गर्न केही पहल गर्नुपर्ने उनले बताए। माटोमै संक्रमण फैलिएपछि नर्सरीमा बीउ उम्रिसक्दा जरामा गाँठो देखिन्छ। अधिकांश बिरुवा नर्सरीमै सखाप हुन्छ। कतिपय बाली रोपिएपछि ऐझरुजस्तै गाँठा आउँछ। पछि संक्रमित उनले बताए।
केही वर्षअघि रोग निराकरणका लागि सिँधुवा बहुउदेश्यीय सहकारी संस्थाले अमेरिकाको म्यासचुसेट्स विश्वविद्यालयका कृषि वैज्ञानिक प्राध्यापक डा. रोबर्ट बिकलाई ल्याएर किसानलाई तालिम र परामर्श दिलाएको थियो।
त्यो बेला कृषि वैज्ञानिक बिकले किसानलाई सुझाव दिँदै आगामी दिनमा चक्रीय बालीअन्तर्गत खेती गर्न सुझाएका थिए। कोशी पहाडका धनकुटा, तेह्रथुम र धनकुटा जिल्लाबाट मात्रै वार्षिक चार अर्ब रुपैयाँको बन्दा, काउली र मुला निर्यात हुने गरेको तथ्यांक छ।
विकल्प खोज्दै किसान
तेह्रथुमकोे विभिन्न क्षेत्रमका लगाइएको बन्दाकोपीमा क्लबरुट अर्थात् गाँठे रोगको संक्रमणका देखिएपछि किसान विकल्प खोज्न थालेका छन्। तीन वर्षअघि पनि यस क्षेत्रको बन्दाकोपीमा क्लबरुटको प्रकोप देखिएपछि किसान चिन्तामा छन्।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो। दुई वर्षसम्म नदेखिएको यो रोग यो वर्ष फेरि देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका किसान टीका लिम्बूले बताए। ‘सुरुमा बन्दाकोपीमा मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत फैलिएर दुःख दिन थाल्यो’, उनले भने।
अहिले किसानले लगाएको काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायत बालीमा समेत क्लबरुटको संक्रमण फैलिएको छ। बन्दा, काउली फक्रेर बजारमा पठाउने बेलामा रोगको संक्रमण देखिने गरेको लिम्बूले बताए। उनले भने, ‘बजारमा पठाउने बेलामा सुकेर पाँच लाख रुपैयाँ बराबरको नोक्सान भएको छ। ’
तेह्रथुमका छथर गाउँपालिकाका विभिन्न वडा र लालीगुराँस नगरपालिकाका धेरै किसानले बन्दाकोपीको व्यावसायिक रूपमा खेती लगाएका छन्। बन्दाकोपीबाटै यहाँका किसानको दैनिकी टर्ने गरेको छ। अरु अन्नबालीको खेती छाडेर किसानले काउली खेतीमा लागेका थिए। तर, यो वर्ष रोगको संक्रमण देखा परेको र बजारमा पु¥याइएको बन्दाकोपीले समेत मूल्य नपाएको लालीगुराँस नगरपालिका चित्रेका किसान जगत काफ्लेले बताए।
तेह्रथुम जिल्लाबाट बर्सेनि ३२ करोडभन्दा बढीको तरकारी तथा कृषिजन्य वस्तु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र म्याङलुङले जनाएको छ। रोगी बिरुवा हटाउने, जीवाणुरहित नर्सरीका बिरुवा प्रयोग गर्ने, माटोको पीएच घटाएर ७ दशमलव २ सम्म पु¥याउनुपर्ने कृषि सूचना तथा सञ्चार केन्द्रको कृषि डायरीमा उल्लेख छ।
रोगको संक्रमण भएको जमिनमा बेनोमाइल विषादी ५ एम एलका दरले एक लिटर पानीमा मिसाइ माटोको उपचार गर्न विज्ञहरूले सुझाव दिएका छन्। रोगग्रस्त क्षेत्रमा नेभिजिन ०.३ प्रतिशत प्रतिरोपनी १० किलोका दरले वा ३ ग्राम प्रतिबोटका दरले प्रयोग गर्नुपर्ने राष्ट्रिय कृषक महासंघका अध्यक्ष तथा कृषि प्राविधिक महेश तिमसिना बताउँछन्। झापाको कन्काई नगरपालिकालगायत स्थानको तोरीमा समेत यो समस्या देखिएको उनले बताए। कृषि विज्ञले नर्सरी ब्याडको उपचार गर्ने भए नेभिजिन तीन किलोले १० घनमिटरलाई उपचार गर्न सुझाव दिएका छन्। डेढ दशकअघि पाँच खालमा देखिएको यो रोग सघन तरकारी उत्पादन क्षेत्रमा फैलँदै आएको छ। मकवानपुरको पालुङ, काभ्रे, धादिङ, नुवाकोटलगायत जिल्ला हुँदै पूर्वका इलाम, तेह्रथुम, धनकुटालगायत क्षेत्रमा फैलने क्रममा रहेको छ।