हेडसरको घडी
घडी देख्नासाथै मेरो विगत सम्झिन्छु। मलाई अनायासै हेडसरको हातको कालो डायलको सिको फाइभ घडीको यादले चिमोट्छ। हेडसर यति बेला हुनुहुन्न तर उहाँको हँसिलो र चम्किलो अनुहार आँखैमा घुमिरहन्छ।
छत्तीस सालको आन्दोलनताका म कक्षा ६ मा पढ्थँे। गोरखा सदरमुकाममा मोटर पनि पुगेको थिएन। मोटरको चित्र किताबमा मात्र देखेको थिएँ। अहिलेको बसपार्क क्षेत्रमा खेतैखेत थियो। सँगै थियो चिहाने खोला। मरेको मान्छे गाड्ने भएकाले हामी एक्लै त्यता जान पनि डर मान्थ्यौं।
हाल गोरखा संग्रहालय रहेको भवन अगाडिको ठूलो आँगन नै गोरखा बजारको मुख्य चोक थियो। गोरखा संग्रहालय भवनलाई अड्डा भनिन्थ्यो। जिल्लाका मुख्य कार्यालय, अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी, मालपोत, भुमिसुधार, जिल्ला पञ्चायत सबै सोही भवनमा रहेकाले गर्दा भवनको नाम नै अड्डा रहन गएको थियो। भवनको हरेक खटप्वालमा चराहरूको गुँड हुन्थ्यो। विशेष गरी काली सारौंको गुडमा बच्चा चोर्न हामी रातिराति लुकेर अड्डामा जान्थ्यौं।
कहिलेकाहीँ बच्चा फेला परे घरमा पिँजडा बनाएर दूध भात खुवाएर मायाले पाल्थ्यौं। प्रहरी कार्यालय बसेको दिशाबाहेक अन्यत्र जान कुनै बन्देज थिएन। पूर्वतर्फको चौरमा स्थानीय युवाहरू भलिबल खेल्ने, चंगा उडाउने गर्थे। भवनको पश्चिमतर्फ ठूलाठूला आँपका रूखहरू थिए। बेलाबेलामा प्रहरीको आँखा छलेर आँपको रूखमा ढुंगा हान्ने काम हुन्थ्यो। प्रहरीले लखेटे पनि हामी भाग्न र फेरि ढुंगा हान्न पनि छाड्दैनथ्यौं। काँँचैमा सकिन्थे आँप।
सदरमुकाममा एकमात्र हाइस्कुल थियो— शक्ति माध्यमिक विद्यालय। म ठूलो आँगननजिकै पदेलीमा रहेको महेन्द्रज्योति निमाविमा पढ्थेँ। सात कक्षासम्म मात्र पढाइ हुने भएकाले शक्ति स्कुलको हेडसरको जस्तो मानमर्यादा र ओज हाम्रो हेडसरको थिएन।
मेरो घर ठूलो आँगनबाट शक्ति स्कुल जाने बाटैमा पथ्र्याे। हामी स्कुल जाँदा हरेक दिन बाटोमा शक्ति स्कुलका शिक्षक र विद्यार्थीहरू भेटिन्थे। शक्ति स्कुलको हेडसर मोहननारायण श्रेष्ठ पनि सधैं हाम्रै घरको बाटो हुँदै स्कुल जानुहुन्थ्यो। उहाँलाई भेट्दा हामी नमस्कार गरेर भाग्थ्यौं। उहाँसँग बोल्ने काम र हिम्मत पनि हुँदैनथ्यो। उहाँलाई हामी ठूलो हेडसर भन्थ्यांै। जिल्लामा हुने शैक्षिक कार्यक्रममा उहाँको उपस्थिति भइरहने हुँदा मेरो बालमस्तिष्कमा उहाँको ठूलो चित्र कोरिएको थियो। हाम्रो घरपरिवारमा पनि उहाँलाई निकै सम्मानले हेरिन्थ्यो। सरल, भलाद्मी, इमानदार, दिग्गज हुनुहुन्थ्यो। रूपमा पनि निकै सुन्दर। असल मान्छे भएकोले सबैमा प्रभाव थियो। तर, मेरो ध्यान भने सधैं उहाँले लगाएको सिको फाइभ घडीमा अडिएको थियो।
कालो डायल, चारपाटे मोडेल, चम्किलो चेन। सफा नाडीमा हल्का खुकुलो गरी बाँधिएको। हत्केलाको भित्रपट्टि पारेर बेलाबेलामा पन्जा उठाएर समय हेर्ने बानी। त्यति बेला निकै कमले मात्र लगाउँथे सिको फाइभ घडी। हङकङ र सिंगापुरे लाहुरेका हातमा पनि देखिन्थ्यो। हेडसरको हातको घडीले भने मभित्र घडीमोहको बिज रोपिदियो। तत्कालीन समयमा मेरो उमेरका बच्चाहरूले घडी लगाउने अवस्था थिएन। ठूला मान्छेका हातमा पनि रिको र एचएमटी मात्र देखिन्थ्यो।
समय पत्ता लगाउन कि घडी लगाउनेलाई सोध्नुपथ्र्यो, कि त रेडियोको समाचारको अघि आउने धुन सुनेर थाहा पाउनुपथ्र्यो। बाटोमा हिँड्दा घडी लगाउनेलाई टाइम कति भयो भनेर सोध्ने मान्छेहरू छ्याप्छ्याप्ती भेटिन्थे। यीबाहेक त्यति बेला गोरखा सदरमुकाम वरपरका बासिन्दालाई समय सूचकका रूपमा दुईवटा अवसर प्राप्त थियो। पहिलो, गोरखकाली मन्दिरमा हरेक घण्टा बज्ने ठूलो घण्ट; जसको टङटङ आवाज सदरमुकाम वरपर रहेका थुप्रै गाउँसम्म प्रस्ट सुनिन्थ्यो। दोस्रो, पदेलीमा रहेको सेनाको ब्यारेक र अड्डामा रहेको जिल्ला प्रहरी कार्यालयमा प्रत्येक घण्टा घण्टी ठोक्ने प्रचलन थियो।
सेना र प्रहरीका यी घण्टीहरू भने बजार क्षेत्रका बासिन्दाले मात्र सुन्न सक्थे। यिनै घण्टीहरूको आवाजको संकेतले मान्छेहरू उठ्ने, सुत्ने, मेलापात जाने, अफिस र विद्यालय जाने जस्ता दैनिक कामकाज गर्थे। अधिकांश मान्छेको दैनिकी चल्थ्यो। समय थाहा पाउन अरूको सहारा लिनुपर्ने भएकैले पनि हुनुपर्छ, मभित्र घडीमोह पलाएको।
३८ सालमा गोरखामा मोटर पनि आयो। शक्ति स्कुलकै मुनिबाट बाटो बन्यो। म पनि शक्ति स्कुलमा भर्ना हुन पुगेँ। त्यति खेर आठ कक्षा पढ्न सदरमुकाम वरपर रहेका महेन्द्रज्योति, आहाले, फिनाम, भोगटेनी, डन्डीडाँडा, लक्ष्मीबजार, कुन्दुर, छेपेटार, बक्राङ लगायतका ९–१० वटा निमाविबाट सात कक्षा पास गरी शक्तिमा आउने गर्थे। पढाइमा निकै ठूलो प्रतिस्पर्धा हुने गथ्र्याे। जिल्लाभरको एसएलसीको एक्लो सेन्टर त्यही विद्यालय थियो।
दिनदिनै हेडसरसँग भेट हुने भयो। हरेक दिनजसो बिहानको प्रार्थनामा मेरा आँखा हेडसरको हातमा गएर टक्क अडिन्थ्यो। सायद ठूलो मान्छेको प्रतीकका रूपमा हेडसर रहेकाले गर्दा पनि हुनसक्छ, त्यो सिको फाइभ घडीप्रति मेरो यतिविघ्न मोह। ठूला मान्छेले बोलेको, खाएको, लगाएको चर्चा र सिको गर्ने उमेरका कारणले गर्दा पनि होला, मेरो मनमा घडीप्रति चासो झनै झ्याँगिँदै गयो। मैले न साथीहरूसँग यो कुरा खोल्न सकेँ, न त घरपरिवारलाई नै बताउन सकेँ। घरमा बताए पनि मलाई त्यस्तो घडी किनिदिने सम्भावना शून्य थियो। त्यो घडी मेरो हैसियतभन्दा ठूलो थियो।
४० सालमा एसएलसी गरेपछि कलेज जीवन सुरु भयो। हेडसरसँग दैनिक भेट हुन छाड्यो। हेडसरसँग छुटे पनि त्यो सिको फाइभ घडीको चित्र भने मस्तिष्कको कुनै कुनामा गाढा बनेर बस्यो। म घडीबिना नै कलेज प्रवेश गरेँ। बुवा र दाजुले आफूले लगाएको रिको घडी लगाउन भने। म भित्रैबाट प्रतिबद्ध थिएँ, लगाएँ भने हेडसरको जस्तै सिको फाइभ घडी लगाउँछु। रिको र एचएमटी मरे लगाउँदिनँ।
मैले मेरो मनको कुरा परिवारमा राखेको भए बुवाले ऋणधन गरेर किनिदिन्थे पनि होला। तर, म आफ्नो चाहनाको पासोमा परिवारलाई पार्न चाहन्नथेँ। मलाई थाहा थियो, मैले त्यस्तो घडी लगाउन अझै केही वर्ष कुर्नुपर्छ।
आत्माको आवाज ईश्वरले सुन्छन् भन्थे, त्यस्तै भयो। २०४१ सालमा आईएड प्रथम वर्षमा मैले दुई हजार छात्रवृत्ति पाएँ। त्यतिखेर हाम्रो कलेजको फी महिनाको सत्र रुपैयाँ थियो। दुई महिनामा चौंतीस रुपैयाँ किस्ता तिर्नुपथ्र्यो। वर्षभरिको फी जम्मा दुई सय चार रुपैयाँ हुने त्यो जमानामा दुई हजार ठूलै पैसा थियो। घरका सबैले यसले के गर्छ भनेर जोखाना हेर्न थाल्छन्। मभित्र भने अँगेनोमा कुँडो उम्लेसरी हेडसरको घडीको भोक उम्लिरहेको थियो। घडी किन्नेभन्दा अरू सोच आउँदै आएन।
पैसा हात परेको केही दिनमा कान्छी दिदी यशोदालाई साथमा लिई हिँडेँ घडी किन्न काठमाडौं। त्यतिखेर काठमाडौंलाई मैले चिनेको थिइनँ। सानैमा एकपटक भक्तपुर दिदीको घर आएको थिएँ। काठमाडौं नआउनेका लागि यसको विशालता अत्यासलाग्दो हुने गर्छ। घडी किन्न त आइयो तर कहाँ किन्ने ? फेरि नक्कली पो पर्ने हो कि ?
यी सबै चिन्ता दूर गर्ने पात्रका रूपमा थिए, गणेश श्रेष्ठ भिनाजु। मेरो नजिकका भिनाजु र उपयुक्त पात्र लागेर उनैकहाँ जाने निधो भयो। उनी कृषि अधिकृत थिए र दिदी वीर हस्पिटलमा नर्स। पहिलो दिन जमलनजिकै उनैको कोठामा पुगेर बसियो। भोलिपल्टै घडी किन्न बजार लाग्यांै। सुरुमा आमालाई फरिया किनियो। सय वा डेढ सय कति पर्यो। त्यसपछि घडी हेर्न विशाल बजार पुगियो।
धेरै पसल चहार्दा पनि हेडसरको जस्तो घडी पाउन सकिएन। मन खिस्रिक्क भो। त्यही मोडेलमा सेतो डायल भएको भेटियो। भिनाजुले घडी उही हो, ओरिजिनल छ, रङले के फरक पर्छ र भन्नु भो। त्यस बेलाको विशाल बजारमा नपाएपछि अन्त पाउने गुन्जायस नै थिएन। मेरोअगाडि अन्य कुनै विकल्प भएन। अर्डर गरेर पछि आउने धैर्य पनि थिएन। एक हजार पचासीमा घडी किनेर बाधेँ बायाँ हातको नाडीमा। चिसो र हल्का गह्रुँगो लाग्यो आफ्नै हात। धेरैपटक हेरेँ घडी लगाएको आफ्नै हात। ठूला मान्छेको हातजस्तै लाग्यो।
गोरखा फर्केपछि केही दिनसम्म हात हल्लाउने क्रम बढेर गयो। कतिपटक हेडसरको नजिक पनि गएँ। कतैकतै घडीको चर्चा पनि चल्यो। चर्चा नचल्दा आफैंले पनि कुरो निकालेँ। ठूलै पौरख गरेजस्तो भयो। खुसीको पारो ह्वात्तै बढ्यो। समयक्रमसँगै घडीको कुरो सेलाउँदै गयो। मेरो मनको घडी कुण्ठा पनि हटेर गयो। आजकल पनि कताकति दुर्लभ रूपमा भेटिन्छन् त्यस्ता घडी लगाउनेहरू। घडी देख्नासाथै मेरो विगत फट्ट सम्झिन्छु। मलाई अनायासै हेडसरको हातको कालो डायलको सिको फाइभ घडीको यादले चिमोट्छ। हेडसर यति बेला हुनुहुन्न तर उहाँको हँसिलो र चम्किलो अनुहार आँखैमा घुमिरहन्छ। .