एउटा यस्तो सपना
सबै मलामी एकै पोसाकमा थिए। पोसाकको रङ सेतो थियो। मलामीको टाउको काटिएको थियो। काटिएको टाउकोमा बुद्धको शिर जोडिएको थियो।
यो सपनाको वर्णन हो। यसकारण दृश्य स्पष्ट छैन। आवाज पनि स्पष्ट छैन। घट्ना घट्छ तर कारण स्पष्ट छैन। पात्रहरूले जे पनि गर्न सक्छन्। जस्तो पनि संवाद बक्न सक्छन्। कुनै सिलसिला छैन। जब म सपनाबाट ब्युँझनेछु। किन त्यसो भयो भनेर सोच्न थाल्नेछु। जस्तै मलामीहरूको टाउको किन काटियो ? उनीहरूको टाउकोमा किन बुद्धको टाउको जोडियो ? फुर्वा शेर्पा के थियो ? प्रेमिका मरेकी थिई कि जिउँदै थिई ?
०००
एक दिन सपना देख्दै थिएँ। अचानक मरेँ। मलामीले मलाई बोकेनन्। हिँडाए। सबै मलामी एकै पोसाकमा थिए। पोसाकको रङ सेतो थियो। मलामीको टाउको काटिएको थियो। काटिएको टाउकोमा बुद्धको शिर जोडिएको थियो। स्वस्थानी कथामा दक्ष प्रजापतिको शिर छेदन गरी बोकाको टाउको जोडिएजस्तो। कुन श्रापले मान्छेको शिर छेदन गरी बुद्धको टाउको जोडियो ? भन्न सक्दिनँ।
म जिउँदो हुँदा स्वयम्भूमा एउटा बुद्धको मूर्ति भेटेको थिएँ। बुद्ध ध्यानमा थिए। काखमा कामुक सुन्दरी पल्टेकी थिई। तर बुद्धले सुन्दरीलाई बाल दिएका थिएनन्। आफ्नै पारामा ध्यानमा लीन थिए। ठीक त्यस्तै भाव र मुद्रामा थिए मेरा मलामी। जसरी बुद्धले कामवासनालाई वास्ता गरेनन्। उसैगरी मलामीले मेरो मृत्युलाई बेवास्ता गरे।
पीरमा परेँ। चाहँदो रहेछु, ‘मेरो मृत्युमा मलामी रोइकराइ गरून्। ठूलो शोकमा परुन्। ’
ॐ माने पद्यमे हुँ मन्त्र बज्न थाल्यो। मलामी नाचेनन्। म नाचेँ। ‘मृत्युले नछुने मलामीलाई संगीतले छुएन’ भनिठानेँ। चित्त बुझाएँ। एउटा मलामी मेरो कानमा फुसफुसायो, ‘तेरी प्रेमिका खोइ ? ’
मान्छेको टाउको फालेर बुद्धको टाउको जोड्ने मलामीले प्रेमिकाबारे चासो राखेको मन पराइनँ। झोक्किँदै भनें, ‘साला बेबकुफ म त मरिसकेँ ! कसरी थाहा लाग्छ ? ’ जिउँदो हुँदाको मेरो स्वभाव हुबहु उत्रियो। ङिच्च दाँत देखाएँ। मेरा कोदाली दाँत टल्किए। मैले आफ्नै सेता दाँत आफ्नै आँखाले देखेँ।
मलामीले कुनै प्रतिक्रिया जनाएन। उसको अनुहारको रङमा कुनै फेरबदल आएन। पूर्ववत उस्तै शान्त लयमा बस्यो। मानौं यहाँ केही भएको छैन। मैले उसलाई हकारेको झुट हो।
मृत्यु र संगीतले नछुने मलामीलाई गालीले छुएन, भनिठाने। चित्त बुझाएँ।
०००
दृश्य धमिलो छ। तर, त्यो तामाकोसी किनारा हुनुपर्छ। म जिउँदो हुँदा थुप्रै पल्ट पुगेको छु। दोलखको सिंगटी बजार जस्तो लाग्छ। भोर्लेबजार जस्तो पनि लाग्छ। झोलुंगेपुलमा मान्छेको आवत्जावत थियो तर मान्छेको टाउको थिएन। खुट्टा र जिउमात्र हिँडिरहेको थियो। पुल हल्लिएको थिएन। पानी संग्लो थियो। पानीको छाल डुंगामा ठोक्किएर लगातार रोइरहेको आवाज आइरहेको थियो। मैले ठाने मेरो मृत्युमा पानी रोयो। खुसी भएँ।
मलाई देखेर नदीकिनाराका ढुंगाहरू पनि चिच्याइचिच्याई रुन थाले। ‘मेरो मुटु, मेरो प्राण, मलाई छाडेर नजा भन्न लागे। ’ ढुंगाको आँसुले भावुक भएँ। मरिसकेको थिएँ। यसकारण दोहोरो संवाद गर्न सकिनँ हुँला। तर म खुसी भएँ। मेरो मृत्युमा ढुंगासमेत रोए भन्ठानेँ।
मलामीलाई न ढुंगाको आँसुले छुयो न मेरो मृत्युले। कस्ता निष्ठुर मलामी !
निकै बेरपछि, मलामीले मलाई, तामाकोसीको लामाबगर भन्ने ठाउँ पुर्याए। जहाँ अपर तामाकोसीको हाइड्रो प्रोजेक्ट चलिरहेको छ। जिउँदो हुँदा यहाँ, २० दिन बाटो खन्ने काम गरेको थिएँ।
बाटो खन्ने काम गर्दागर्दै एक दिन फुर्वा शेर्पासँग भेट भयो। जो यहीँको रैथाने हो। जसले मलाई ‘यार्शागुम्बा टिप्न हिँड्, चाँडै धनी हुन्छस् !’ भन्यो। बेल्चा र गैंती बिसाएँ। फुर्वाको पछि लागेँ।
तीनओटा यार्शा भेटेँ। लेक लाग्यो। फर्किएँ। पछि एकैपटक तीन यार्शा चपाएँ र एक गिलास दूध पिए। प्रेमिकासँग भेट्न गएँ। यार्शाको मिथक गलत भयो। म तुरुन्तै सकिएँ। प्रेमिका रिसाई। मलाई ग्लानीले पेल्यो। त्यसपछि मैलै कहिल्यै यार्शा खाइनँ। कहिल्यै प्रेमिका भेटिनँ।
लामा बगरमा हिउँ थियो। वरिपरिका पहाड हिमाल भएका थिए। मलाई मलामीले रोके। उभिएँ। चारैतिर आँखा फर्काए। तर दृश्य स्पष्ट थिएन। एउटा घर थियो। जो देखिन्थ्यो गुम्बाजस्तो तर गुम्बा हैन। जो देखिन्थ्यो मन्दिरजस्तो तर मन्दिर हैन। जो देखिन्थ्यो चर्चजस्तो तर चर्च होइन।
जिउँदो हुँदा कुनै धर्म नमान्ने ‘धार्मिक नास्तिक’ थिएँ। यसकारण मरेपछि धार्मिक घरहरूलाई स्पष्ट देख्न सकिनँ हुँला।
मलाई फूलैफूलको ओछ्यानमा सुताइयो।
कुन फूल ?
फूलको रङ स्पष्ट थिएन।
एउटा मलामीले मेरो कपडा खोलिदियो। मैले चारैतिर हेरेँ। एउटा पुरुषको लिंग उत्तेजित भयो। ऊसले भन्यो ‘म समलिंगी हुँ। सम्भोग गरौं ? ’
यति भन्नासाथ ऊ मर्यो। उसको शिरबाट बुद्धको टाउको उड्यो। ऊ मुडुलो बन्यो ? को थियो ? जान्न चाहन्थेँ। तर उसको सक्कली टाउको जोडिएन।
मेरो लास अगाडि एकजना मान्छे घुँडा टेकेर बसेको देखियो। जो मलामी हैन। जसको अनुहार सेतो कपडाले छोपेको थियो।
अघि मरेको मलामीतिर उसले टाउको मोड्यो र अनुहारको सेतो कपडा हटायो। पहिलोपल्ट मैले मान्छेको टाउको भएको मान्छे देखेँ। त्यो पुरुष थिएन।
उसले मलाई एकटक हेरिरही। मुसुक्क हाँसी। कहिल्यै नसुनेको भाषामा मन्त्र पढ्न थाली। फूलहरू नाच्न थाले। फूलका पातहरू बज्न लागे। माहोल अद्भुत भयो। मलामी पनि नाच्न गाउन थाले।
बुद्धको टाउको भएका मलामीलाई नाचेको खुबै सुहायो। तर मलाई दिक्क लाग्यो।
मलामी र मेरो तालमेल सुरुदेखिकै पटक्कै मिलेको छैन।
यसैबेला महिलाले मेरो लिंग देखी। मन्त्रको धुन भुली। एकाएक बुद्धको टाउको जोडिएका सबै मलामी काँप्न थाले। एकै छिनमा सबै मलामी मरे। बुद्धको टाउको हरायो। सबै मुडुला भए।
सबै मरेपछि सुरुमा मर्ने मलामीको टाउकोमा मान्छेको टाउको जोडियो। जो समलिंगी थियो र जसले मलाई सम्भोगको प्रस्ताव राखेको थियो।
मैले चिनेँ। ऊ फुर्वा शेर्पा रहेछ।
ऊ बोल्यो ‘तिमीलाई मन पराउँछु। ’ हामी जिउँदो हुँदा यार्शा टिप्न गएका थियौं। याद छ ?
मैले ‘हो’ भन्न टाउको हल्लाएँ।
‘म त मरिसकेँ। ’ मैले भनेँ।
ऊ मुसुक्क हाँस्यो–‘म पनि मरिसकेँ। तिमी मरेको थाहा पाउँदा असाध्यै खुसी भएको थिएँ। तर खुसी देखाउन सकिनँ। मेरो टोउकोमा बुद्धको टाउको थियो। टाउकोले मलाई खुसी हुन दिएन। ’ उसले भन्यो।
हाम्रो कुरा सुनिरहेकी महिलाले फुर्वालाई झम्टी। गाली गरी। तर मैलै गाली बुझिनँ। फुर्वा रिसाएन। फेरि हास्यो।
महिलाले मलाई भनी, ‘तँ मेरो प्रेमी होस्। अन्तिम पल्ट यार्शा र दूध खाएर मसँग सम्भोग गर्न आएको थिइस्। तर ‘काम’ गर्न सकिनस्। भागिस्। ’
फुर्वा हास्यो।
महिला रिसाई।
(लेख्दालेख्दै कहिलेकाहीँ कथा अघि बढ्दैन। त्यस्तै भयो मेरो सपना पनि। सपना अघि बढेन। म मर्दामर्दै ब्युँझिएँ। )
०००
जब ब्युँझिएँ म साँच्चिकै मरिसकेँ भन्ने भयो। झन्डै ३०, ४० सेकेन्ड जति आफूलाई साँच्चिकै मरेको ठानेँ। पछि हात चल्यो। मोबाइल भेटेँ। बत्ती बालेँ। जिउँदै रहेछु भन्ने पक्का भयो।
सपना देखेको महिनौ बित्यो। अहिले पनि दिमागमा सपनाको दृश्य चल्छ। मलामीको टाउको किन काटियो ? काटिएको टाउकोमा किन बुद्धको टाउको जोडियो ? मेरी प्रेमिका जिउँदै थिई कि फुर्वाजस्तै मरिसकेकी हो ? फुर्वा समलिंगी रहेछ। यार्शा टिप्न जाँदा कुनै हर्कत गरेन ? आफूलाई किन दबायो ?
साँच्चै फुर्वा कसरी मर्यो। मेरो एकजना समलिंगी साथीले आत्महत्या गरेको छ। फुर्वाले पनि त्यसै गर्यो कि ? पाठकमध्ये, कोही मनोचिकित्सक हुनुहुन्छ भने ! भन्नुस् न ! महिनौंअघि देखेको सपनाले लगातार किन लखेटिरहेको छ मलाई ?