राजनीतिको तराजुमा बौद्धिकता
क्याम्पस पढ्ने वा पढ्नुपर्ने कोही विद्यार्थीलाई समाजले पढाइमा ध्यान नदिँदाभन्दा बढी राजनीतिप्रति चाख देखाउँदा बिग्रेको ठहर्याउँछ। डाक्टर, इन्जिनियर, सरकारी जागिरे बन्ने बाटो त्यागेर ‘नेता’ बन्ने बाटो समातेपछि उसको ‘स्टाटस’ खराबहरू सूचीमा दहरिन्छ।
सबैभन्दा पछिल्लो पुस्ताले भविष्यको सपना देखेको हुन्छ वा ऊ उपर लादिएको अभिभावकीय कठोर सपना हुन्छ कि ‘पढेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे वा यस्तै अरू केही बन्नुपर्छ, नेता त बन्नै हुन्न।’ यसो भनिनुको तर्क के हो भने, ‘नेता बन्नु भनेको बिग्रनु हो।’ सप्रनु त हुँदै होइन। राजनीतिककर्ता वा नेताप्रतिको नेपाली समाजको आजसम्मको यस बुझाइलाई एकै क्षण ‘नेता’को चारित्रिक मानक मानिदिने हो भने, कि त सबै नेता बिग्रिएका हुनुपर्यो या त सबै ‘बिग्रेका मान्छे’ नेता बन्नु वा बनाइनु पर्यो।
यो त सारमै जटिलता भएको सवाल हो। जसको जवाफ आजसम्म नेपाली राजनीतिले सम्भवतः दिन सकेको छैन। यही जवाफ दिन नसकेकैले पनि होला, हजुरवुबा पुस्ताले सहरमा क्याम्पस पढ्दै विद्यार्थी राजनीतिमा हात हालेको नातिनातिना पुस्ताप्रति गुनासो गर्छ, ‘यिनीहरू कामै नलाग्ने गरी बिग्रिए।’ यस्ता दृष्टान्त हामीसित थुप्रै छन्। यसखाले गुनासो स्वाभाविक पनि होला। क्याम्पस पढ्ने वा पढ्नुपर्ने कोही विद्यार्थीलाई समाजले पढाइमा ध्यान नदिँदा भन्दा बढी राजनीतिप्रति चाख देखाउँदा बिग्रेको ठहर्याउँछ। डाक्टर, इन्जिनियर, सरकारी जागिरे बन्ने बाटो त्यागेर ‘नेता’ बन्ने बाटो समातेपछि उसको ‘स्टाटस’ खराबहरू सूचीमा दहरिन्छ।
‘नेता’ को हो त ?
एकजना जर्मन राजनीतिक अर्थशास्त्री म्याक्स् वेबरले बिना कुनै आधार व्यक्ति नेता बन्न नसक्ने तर्क गर्छन्। उनका अनुसार व्यक्ति नेता बन्ने हैसियत राख्नका लागि तीन आधार हुनुपर्छ। कर्मचारीतन्त्रीय, पारम्परिक अथवा ‘करिज्म्याटिक’ गुणले मात्रै व्यक्ति नेता बन्न सक्छ। तर, हाम्रो राजनीतिक ऐतिहासिक सन्दर्भले स्थापित गरिदिएको मान्यता भनेको जसले ‘राजनीति’ गर्छ, ऊ नै खासमा ‘नेता’ हो। नेपाली सन्दर्भमा त वेबरले भने जस्ता आधारको जरुरत बिनै व्यक्ति सहजै नेता बनिदिन्छ। ज्ञान वा विद्वता अथवा अन्य वैधता वा करिज्माले होइन कि यहाँ ‘सडक’ले ‘नेता’को निर्माण गरिदिन्छ।
सडकमा सत्ताधारीविरुद्ध विपक्षीय राजनीतिक आस्था बोक्ने जोजसले टायर बाल्न, सार्वजनिक सम्पत्तिमाथि धावा बोल्न वा चर्का नारा ओकेल्न अगुवाइ गर्यो हाम्रो ‘बुझाइ’ले उसैलाई नेता मान्यो। राजनीतिक समाजले नेताको परिभाषाभित्र तिनै आधारलाई नेता बन्ने सर्तका रूपमा आत्मसात् गरिदियो। कुनै द्विविधा छैन कि व्यक्तिलाई नेता कम्तीमा उसले प्रदर्शन गर्न सक्ने करिज्माजन्य गुणले बनाउने हो। नेपाली राजनीतिक सन्दर्भले त्यस्तो ‘चामत्कारिक गुण’लाई भन्दा बढी अन्य ‘गुण’लाई प्राथमिकीकरण गरिदिएको छ।
अर्थात्, सडक वा भीडमा जो अगाडि छ, अझ, जसले प्रहरीको लाठी र एकदुई गोली नै पनि खान पछि परेन, कालान्तरमा ऊ नै नेता भयो वा उसैलाई कार्यकर्ताको भीडले, अनि पछि गएर, सिंगो राजनीतिक समाजले नै ‘नेता’ मानिदियो। त्यस्तो नेतासित हरेक किसिमका चुनाव लड्न पाउने आधिकारिक एवं सर्वकालिक वैध ‘लाइसेन्स’ भनेकै त्यही प्रहरीसितको मुठभेडमा लाठी÷गोली खाएको खत बनिदियो। उसको खास चारित्रिक प्रमाणपत्र नै त्यही भयो, कुनै विश्वविद्यालय वा शिक्षालयबाट औपचारिक शिक्षा हासिलको गरेको ‘बौद्धिक प्रमाणपत्र’को जरुरत परेन।
राजनीति भर्सेस फोहोरी खेल
नेपाली आम बुझाइले आजको मितिसम्म ‘राजनीति गर्नु’लाई ‘फोहोरी खेल खेलेको’ ठान्नुको अपजस हाम्रो राजनीतिक सामाजिकीकरणको थाप्लोमा भन्दा बढी नेपाली ‘राजनीतिककर्ता’कै थाप्लोमा जाला। किनभने, हामीले अभ्यास गर्दै आएको राजनीतिको र राजनीतिक अभ्यास गर्दै आएका नेताको ज्ञान, विद्वता र इमानको उपज नै यो आम बुझाइ हो। यसले जन्माउने समानान्तरीय तर्क के पनि हो भने, राजनीतिक रूपले नेपाली समाज ‘नैतिकीकरण’ वा ‘नैतिक–सामाजिकीकरण’ हु“दै भएन, भयो त केवल विद्वता र इमानभन्दा उल्टो ‘धोकाधडी, व्यक्तिगत÷पारिवारिक स्वार्थ, घुसखोरी वा जालझेलमा माहिर’ ‘व्यक्तित्व’को रूपमा राजनीतिककर्ताको चरित्र निर्माण। राजनीतिप्रति यतिविधि दरिद्र चित्र निर्माण भइदियो कि राजनीतिप्रतिको सार्वजनिक मोह क्रमशः भंग हुँदै जान थाल्यो।
यसैबीच, केही जोर वर्ष जति अगाडि होला एउटी सानी बच्ची (जो चर्चित लोकगायक बद्री पंगेनीकी छोरी हुन्) ‘बिहानी’ले अन्तर्वार्ताको क्रममा एकजना पत्रकारले भविष्यको सपनाबारे गरेको सबालमा चाखलाग्दो जवाफ दिइन्। भविष्यमा नेता बन्ने आफ्नो योजना सुनाइन्। अथवा ठूलो भएर उनी नेता वा देशको प्रधानमन्त्री बन्ने भन्ने आसय व्यक्त गरिन्। ओठले मात्रै होइन, उनको भित्री मनले नै सायद यही भनेको थियो। किनभने, उनको बोलाइमा निर्धक्कता थियो। दृढता थियो अनि आत्मविश्वास पनि। उनको भित्री अठोटले भन्थ्यो, उनी कुनै न कुनै दिन देशको शासकीय सत्तामा पुगेर देशको सेवा गर्नेछन् !
त्यसपछि युट्युबमा उनको अभिव्यक्तिले अलिक समय चर्चा पायो। खासमा, बोलाइले भन्दा बढी उनको ‘भविष्यको लक्ष्य’ले हो चर्चा पाएको त। किनभने, समाजले स्थापित गरेको ‘डर्टी गेम’ खेल्नु हु“दैन भन्ने मान्यताप्रति उनले सानै उमेरमा ठाडो चुनौती दिएकी थिइन्। हो, उनले समाजको बुझाइको पुनर्बोध गरेकी थिइन्। आजको नेपाली समाजमा, अझ त्यो पनि हुर्किंदै गरेको एउटा बाल मस्तिष्कले ‘नेता बन्ने सपना’ बुन्नु अपवाद मात्रै हुन सक्ला। जे होस्, कसैले सत्ताको बागडोर सम्हाल्ने भविष्यको योजना बनाउनु नेपाली सन्दर्भको एक दुर्लभ दृष्टान्त हो। यसको कारण यो पनि होला– नेपाली राजनीतिलाई ‘बौद्धिकता’ले भन्दा बढी लहड र व्यक्तिगत स्वार्थले निर्देश गर्नु।
राजनीतिको तराजुमा बौद्धिकता
बौद्धिकता, ज्ञान र इमानको सहउत्पादन होइन, यो त यसको खास उत्पादन नै हो। तर, यही ज्ञान र इमानको अभाव अर्थात् बौद्धिकताको अभावमा नेपाली राजनीतिको उत्पादन भएको तर्क स्थापित छ। बौद्धिकताले ‘राजनीतिककर्ता’ (नेता) लाई सानो झुन्ड, जाति वा हित समूह भन्दामाथि उठाउने हैसियत राख्दछ, इमानले चाहि“ शासनलाई उत्तरदायित्त्वपूर्ण बनाइदिन्छ। नेपालमा नेता हुनको निम्ति नैतिक शक्तिको पनि आवश्यकताबोध हुने गरी राजनीतिक संस्कार नचाहेर स्थापित भएन वा चाहेर पनि गराइएन। पछिल्लो पुस्तासम्म आइपुग्दा राजनीतिप्रतिको आजसम्मको बुझाइ यही एउटा वाक्यांशले प्रतिनिधित्व गर्दै आएको छ – ‘पोलिटिक्स् इज अ डर्टी गेम।’ अर्थात्, आम बुझाइमा राजनीति ‘फोहोरी खेल’को अभ्यास भन्दा बढी केही पनि हुन सकेन।
राजनीतिक–शासकीय कर्तामा शक्ति सम्पन्नताको परिकल्पना त गरियो तर त्यसको आधारभूत व्याख्या भने गरिएन। फलतः नेताको क्षमता केबल ‘वाक शक्ति’को सानो दायरामा खुम्चि“दै गयो। राजनीतिलाई अपराधीकरणको तराजुमै तौलेर किन नहोस् शक्तिको नया“ परिभाषा निर्माण गरियो, नैतिक शक्तिको आवश्यकताबोध भएन। फलतः राजनीति चाहेर वा नचाहेर विकृतोन्मुख भयो। नेपाली राजनीति ‘फोहोरी खेल’ यस अर्थमा बन्दै आयो कि यसभित्र नघुस्नु पर्ने तत्वहरू घुस्दै गए, नबाहिरिनु पर्ने तत्त्वहरू (ज्ञान र इमान) चाहि“ बाहिरि“दै गए।
त्यसो त, राजनीतिक कर्तामा ज्ञान कुनै अन्य ग्रहबाट प्राप्त हुने होइन। ज्ञान त उसले बा“चेको समाजको अनि उसले गरेको, गर्दै आएको ‘खास’ राजनीतिको उपज हो। ऊ जुन वा जस्तो समाजमा फल्यो–बढ्यो त्यही समाजले उसको ज्ञानलाई ठोस आकार दिने र दायरा निर्धारण गर्ने हो। नेपालका नेताले (एकैक्षण राजनीतिज्ञ नै भनिदिऊ“) शासकीय दर्शन वा राजनीतिक अभ्याससित एकखाले आग्रहपूर्ण सम्बन्ध बनाए र त्यसलाई नाफाघाटाको तराजुमा तौलिए भन्ने आम बुझाइ हो, र यसो हुनु हाम्रो जस्तो (कू) राजनीतिक संस्कारले सामाजिकीकरण भएको राजनीतिक–सामाजिक सन्दर्भमा अस्वाभाविक भएन।
शास्त्रीय दार्शनिक प्लेटोले ‘दार्शनिक राजा’ (फिलोसफर किङ)को अवधारणाको परिकल्पना गरेको ईशापूर्व ३८० तिर हो। उतिबेलै पनि बिनाआधार परिकल्पना गरिएको पक्कै थिएन। आजको भाषामा यसलाई ‘दार्शनिक राजनीतिक नेतृत्व’ भनौं। दार्शनिक ‘राजनीतिक नेतृत्व’ वा नेतृत्वजन्य दार्शनिक ‘करिज्मा’को अपेक्षा नेपालको सन्दर्भमा (कम्तीमा अबको केही दशक) सम्भव देखि“दैन। यतिबेला, नेपाली राजनीतिलाई हेर्ने आम ‘पब्लिक’को ‘चस्मा’मा यही ‘दार्शनिक राजनीतिक नेतृत्व’को ‘लेन्स’ राखेर हेर्ने हो भने त नेपाली राजनीतिको ‘प्रेक्षालय’ पूर्णतः कुरूप देखिनेमा शंका छैन। भलै, यहा“ सबाल के हो भने, शासनको लागि विद्वता त पूर्वसर्त रहेछ।
यसको पछाडिको कारण, दार्शनिक सोच भएको नेतृत्व सदाचार त होला, त्यो नभए पनि ऊ कम्तीमा आफैंसित कुनै न कुनै रूपले इमानदार होला भन्ने हो। त्यो पनि नभए, सार्वजनिक नीति छनोटमा प्रशासकीय दबाबभन्दा पनि आफ्नो विवेकको उपयोग गर्न सक्ला भन्ने हो। हुन त, शासकमा ज्ञानप्रति मोह भइदियो भने सादा जीवनयापनको लागि पनि प्रेरित गर्ला। यदि ऊ उत्प्रेरित छैन भने खास शासकीय हैसियतबाट ऊ स्वयम् च्युत हुन्छ। यही आधारबाट पनि यो ‘दार्शनिक राजा’
(फिलोसफर किङ)जन्य तर्क निःसर्त भएको टिप्पणी गर्न सकिन्छ।
इमानको दरिद्रता
राजनीति इमानले चलिदियोे भने शासक र शासितबीच सहअस्तित्वपूर्ण सम्बन्ध निर्माण र विकास गर्न सकिने र त्यसले शासनलाई शिर्फ ‘शासन’ मात्रै बन्न नदिएर न्यायिक पनि बन्न सघाउने अपेक्षा रहन्छ। मुलुकको शासकीय व्यवस्थापनमा विद्वताबिनाको ‘राजनीतिककर्ता’को भूमिका के हुने भन्ने सबाल अलि जटिल हो। विश्वको समग्र परिदृश्य हेर्ने हो भने पनि राजनीतिक–आर्थिक नया“ शक्ति केन्द्रको उदय हु“दै गर्दा ठोस ज्ञान वा भूगोल सुहाउ“दो मौलिक राजनीतिक विचार वा ज्ञान उत्पादनमा राजनीतिककर्ताको भूमिका अपेक्षाकृत हुन्छ।
किनभने, नीति निर्माणमा जनअपेक्षा समेट्नु र बृहत् सहभागितासहित विज्ञताको प्रवद्र्धन गर्नु शासनको अपरिहार्य तत्त्व हो, त्यसैबाट नै सरकारसितको नागरिकको सम्बन्ध व्यवस्थापन गरी शासकीय चुस्तता प्रवद्र्धनमा सघाउने परिकल्पना गरिएको हुन्छ। तसर्थ, विधिसम्मत ‘स्मार्ट’ शासकीय व्यवस्थापनको परिकल्पना राजनीतिककर्ताको ज्ञान र इमानबिना असम्भव प्रायः देखिन्छ। त्यसैको कठोर परिणाम होला, हामीले अभ्यासको गरेको राजनीतिक सामाजिकीकरणको मूल्यले समग्र समावेशी लोकतान्त्रिक शासकीय औजारलाई भन्दा बढी केही ठालु–केन्द्रित सार्वजनिक नीतिलाई बोकिदिएको।
अलिकति विकासको कोणबाट पनि हेर्न सकिएला, हालै संघीयता अँगालेको नेपालको सन्दर्भमा मौजुदा नेताको ज्ञानले नेपाली परिवेश÷भूबनोट सुहाउ“दो आर्थिक विकासको मोडेल निर्माणमा नेताको राजनीतिक विद्वताले कत्तिको प्रभावकारी प्रकार्य गर्यो भनेर लेखाजोखा गर्न सकिएला। यहा“नेर, ज्ञानलाई सहअस्तित्व स्वीकार गर्ने सबैभन्दा महत्त्वपूर्ण औजार मान्ने हो भने सत्ताजन्य कलुषित मनोविज्ञानले निर्देशित नेपाली राजनीतिले (सीमित स्वार्थको सर्तमा बाहेक) सहअस्तित्व स्विकार्दैन भन्न सकिन्छ। अझ, नेपाली राजनीतिक कर्ताको चरित्र ‘मिठासपूर्ण राजनीतिक नारा उत्पादक’ र ‘महत्त्वाकांक्षी सपना वितरक’को रूपमा मात्रै निर्मित छ।
हामीसित नेता असल, विद्वान, निस्वार्थी वा नैतिक व्यक्ति हुन्छ भन्ने बुझाइ नहुनु यस सबालमा असल नजिर नहुनु पनि हो। नेपाली राजनीतिले त सत्तामा जानका निम्ति जस्तोसुकै तिकडम अपनाउन वा राष्ट्रिय हितकै खिलापमा उत्रिनै परे पनि पछि नहट्ने कतिपय राजनीतिक पात्रलाई पनि ‘नेताका रूपमा’ भागेको छ, भोग्दै आएको छ। त्यस्ता राजनीतिक पात्रको लागि राजनीति त सत्ताप्राप्तिको ‘सूत्र’ मात्रै हो, जहाँ कुनै मूल्य हुँदैन। यतिखेर, नेपालको सन्दर्भमा, ‘नैतिक–बौद्धिकतावाद’को सैद्धान्तिक अवधारणालाई हाम्रा राजनीतिककर्ताले धारण गर्न सक्ने क्षमता राखिहाल्लान् भन्न त सकि“दैन। कम्तीमा यसको आधारभूत मूल्यबोध गर्न मात्रै पनि सकिदिए भने देशको राजनीतिले खेप्दै आएको सामाजिक बदनामीको विरासतबाट थोरबहुत छुटकारा पाउने अपेक्षा चाहिँ गर्न सकिन्छ।