पौराणिक नारी शक्तिको खोज
लक्ष्मीको धन, सरस्वतीको विद्या र कालीको तागतलाई अनगिन्ती पुराणले व्याख्या गर्छन्। त्यसैले, देवताभन्दा कम छैनन् देवीहरू ! यस्ता पौराणिक व्याख्यामा देवी–देवताबीच भेदभाव देखिँदैन। मस्त्यपुराणमा दुई सय देवीहरूको सूची छ।
देवी–देवतामाथिका साहित्य भन्न, सुन्न र लेख्न वैदिककालमा सुरु गरिएको पाइन्छ। भनिन्छ, साहित्यिक रचना समाजको ऐना हो। त्यसैले देवी–देवतामाथिका साहित्यले तत्कालीन समाजको झल्को दिइरहेको छ भन्न सकिन्छ। मौखिक रूपमा सुनिँदै आएका सबैखाले राम्रा कुराहरूलाई संकलन गरेर ऋषि वेदव्यासले सर्वप्रथम ऋग्वेदलाई लिपिबद्ध गरे। ऋग्वेदपछि अन्य वेद र विभिन्न पुराणहरूलाई लिपिबद्ध गर्ने प्रचलन सुरु भएको मानिन्छ। त्यसैले वैदिकालीन भारतखण्डका नारीहरूको सामाजिक अवस्था कस्तो थियो ? भन्ने प्रश्नको उत्तर दिन्छ ऋग्वेदले।
ऋग्वेद भन्छ, ‘नारी धनकी देवी हुन्।’ तत्कालीन समयमा नारीसँग पर्याप्त धन भएकै कारण वेदव्यासले यो कुरा उल्लेख गरे होलान्। धनी हुनु भनेको समाज अथवा परिवारमा नारीको हैसियत उच्च हुनु हो। यस तथ्यले भारतखण्डमा नारीहरू पुरुषभन्दा कम थिएनन् भन्ने कुरा स्पष्ट पार्छ। त्यतिमात्र होइन, त्यो समय समाजमा बहुविवाह बर्जित थियो (ऋग्वेद ७.४।८।७)। समाजले नारी–पुरुषलाई समान मान्ने भएकाले नै बहुविवाह बर्जित गरिएको हुनुपर्छ।
भारतखण्डमा त्यो समय सुत कात्ने भनेको एउटा उद्योग चलाएसरह हुन्थ्यो। त्यो बेला सुत कात्ने र लुगाहरू बुन्ने भनेको आर्थिक क्रियाकलापमा प्रत्यक्ष संलग्न हुनु पनि हो। सुत कात्ने काममा पुरुषभन्दा नारी नै अगाडि थिए (यजुर्वेद २०।४।३)। वैदिककालमा श्रीमान्– श्रीमतीसँगै मिलेर सुत कात्नु पथ्र्यो। वेदमा यो पनि भनिएको छ कि श्रीमानले कात्न नसकेको सुत श्रीमतीले कातेर सक्नुपर्छ (ऋग्वेद २।३८।४)। यसको अर्थ पुरुषले गर्न नसकेको नारीले गरिदिनुपर्छ। अहिलेको ‘पुरुषप्रधान’ भनिने समाजमा श्रीमतीले गर्न नसकेको काम पुरुषले गरिदिनुपर्छ भन्ने छ। तर, वैदिक समाजमा अहिलेभन्दा ठीक उल्टो थियो।
नारीहरू त्यतिबेला घरका कामकाजमा मात्र सीमित थिएनन्। उनीहरू रणक्षेत्र र अध्ययनको क्षेत्रमा पनि पुरुष जत्तिकै निपुर्ण थिए। समाजको सबै क्षेत्रमा जान पाउने अधिकार नारीको त्यो बेलै थियो। यसका उदाहरण गार्गी, मैत्रेयीको जस्ता महिला हुन्, जो त्यो बेला वादविवाद, राजनीति, तर्कशास्त्रमा अब्बल मानिन्थे। वैदिककालमा रोमशा, उर्वशी, घोषा, विश्ववारा, लोपामुन्द्राजस्ता विदूषी नारीहरू पनि थिए, जसको चर्चा अहिलेको समाजमा पनि हुन्छ। नारीहरूलाई शिक्षा ज्ञान प्राप्त गर्न र बाँड्न छुट भएको तथ्य भेटिन्छ। त्यसैले वेदमा भनिएको छ, ‘प्रत्येक सामाजिक एवं धार्मिक काममा नारीको उपस्थिति अनिवार्य छ।’ (अथर्ववेद २।३६।१)।
जब समयको रेखा उत्तर वैदिककाल झर्यो। नारीलाई समाजको हरेक क्षेत्रमा खुम्च्याउन थालियो। यो समयमा नारीहरूलाई धार्मिक गतिविधिमा संलग्न हुन उपयुक्त मान्न छाडियो। त्यसैकारण पनि भारतखण्डको उत्तर वैदिक हिन्दु समाजमा छोरी जन्मिएपछि छोरालाई जसरी भव्य स्वागत गर्ने प्रचलन विस्तारै कम हुँदै गयो। नारीहरूलाई वेदको अध्ययन गर्ने र मन्त्रहरूको उच्चारण गर्ने कार्यमा उत्तर वैदिककालदेखि नै अंकुश लगाउन थालियो। यसको प्रमाण तैत्तिरीय संहितामा भेट्न सकिन्छ।
उत्तर वैदिककालमा समाजले नारीलाई भेदभावको नजरले हेर्न थाल्यो। त्यो बेला धार्मिक कर्मकाण्डमा धेरै जटिलता आए। किनकि त्यसबेला यज्ञ कर्ममा ढोंग गर्न सुरु गरिएको थियो।
वैदिक र उत्तर वैदिककालपछिका साहित्यलाई नियाल्दा रामायण र महाभारत अग्रस्थानमा देखिन्छन्। यी दुई महाकाव्यलाई साहित्य मात्र होइन, इतिहास पनि भनिन्छ। इतिहास यस अर्थमा कि दुवै महाकाव्य सत्य घटनामा रचिएको छ। तत्कालीन समाजमा नारीले चरम भेदभाव व्यहोर्नु परेको तथ्य दुवै कृतिमा भेटिन्छ।
०००
भारतखण्डमा केन्द्रित रहेर पौराणिक साहित्यमाथि विमर्श गर्दा ‘युग’ शब्दलाई छायाँमा पार्न सकिँदैन। ऋग्वेदमा यस शब्दको प्रयोगसँगै साँघुरो व्याख्या पनि गरिएको छ (दशयुगे, १।१५८।६)। तर, यो व्याख्या भने पूर्ण छैन। पछि विभिन्न पौराणिक रचनामा सत्य, त्रेता, द्वापर, कलियुगको व्याख्या गरियो। यिनै चार युगमध्ये दुईवटा युगमा रामायण र महाभारत रचिए। र, यसैलाई आधार बनाएर भारतखण्डको साहित्यले आधुनिकताको जग बसाल्यो।
श्रीकृष्णको निधनपछि ३१०२ ईशापूर्वबाट कलियुगको आरम्भ मानिन्छ। (श्रीविश्वविजय पञ्चांगमलाई आधार बनाएर इन्साइक्लोप्डिया अफ अथेन्टिक हिन्दुस्थानमा विभिन्न युगको व्याख्या गरिएको छ) यही व्याख्यालाई आधार मानेर कलियुगमा मात्र द्वापरयुगमा रचिएको महाभारतका विभिन्न पक्षमा केन्द्रित रहेर व्याख्या, विश्लेषण र बहस सुरु भएको हो भन्न सकिन्छ।
नेपाली पौराणिक साहित्य
नेपाली साहित्य पनि पौराणिक वीरचरित्रको खोजबाट नै सुरु हुन्छ। भारतखण्डमा अवस्थित अन्य देशका साहित्यजस्तै नेपाली सहित्य पनि रामायण र महाभारतको व्याख्याबाट नियाल्ने कोसिस गर्यो। तर, यसमा नारीचेतको दृष्टिकोण अलिपछि मात्र सुरु भएको पाइन्छ।
अघिल्लो वर्ष पोखरामा भएको लिटरेचर फेस्टिभलमा महाभारतका पात्रमाथि विमर्श गर्दै चिन्तक/राजनीतिज्ञ प्रदीप गिरिले पाँच पाण्डवकी श्रीमती द्रोपदी आफ्नो जमानाकी तेजस्वी, सुशिक्षित, न्यायप्रेमी र साहसी महिला भएको प्रस्ट पारे। कुशल कूटनीतिज्ञ, तर्ककर्ता रहे पनि अहिलेको पुरुषवादी समाजले उनको क्षमतालाई धमिलो पारेर बुझेको स्वीकारोक्ति छ गिरिको।
नेपाली साहित्यमा उपन्यासको इतिहास धेरै लामो नभए पनि पौराणिक नारीचेतका उपन्यासको सुरुआत कसले गर्यो भन्ने एकरूपता छैन। तर, यस्ता रचना अत्यन्तै शक्तिशाली छन्, जुन आम नेपाली समाजको नारी चेतनाभन्दा निकै माथि उठेका छन्। यसो भनिरहँदा मदनमणि दीक्षितद्वारा लिखित ‘माधवी’ र बीपी कोइरालाको ‘मोदीआइन’ उपन्यासलाई पन्छ्याउन सकिँदैन। ‘माधवी’मा महाभारतमा राजनीतिक, आर्थिक र सामाजिक गतिविधिमा नारीको अवस्थाबारेमा र ‘मोदीआइन’मा महाभारत युद्धमा नारीहरूको अवस्थाको गहन व्याख्या गरिएको छ।
अहिलेको ‘पुरुषप्रधान’ भनिने समाजमा श्रीमतीले गर्न नसकेको काम पुरुषले गरिदिनुपर्छ भन्ने छ। तर, वैदिक समाजमा अहिलेभन्दा ठीक उल्टो थियो।
नेपाली साहित्यमा पौराणिक नारीहरूलाई केन्द्र बनाएर लेखिएका सबैखाले कृति यहाँ समेट्न सकिँदैन। त्यसैले यहाँ महाभारतको विषयवस्तुमा केन्द्रित रहँदै नारीको दृष्टिकोणबाट रचिएका पछिल्ला तीन दशकमा लेखिएका चर्चित तीनवटा कृतिलाई नियाल्ने कोसिस गरिएको छ। ती तीन उपन्यास हुन्, विष्णुप्रसाद धितालको ‘योजनगन्धा’ (२०५२), कृष्ण धरावासीको ‘राधा’ (२०६३) र नीलम कार्की निहारिकाको ‘चीरहरण’ (२०७२)।
०००
ऋषि व्यासद्वारा रचित महाकाव्य महाभारतको बृहत्तर कथामा अनगिन्ती पात्र छन्, जहाँ नारी पात्रको संख्या पनि कम छैन। उल्लेखित तीन उपन्यासको मुख्य विशेषता हो नारी पात्रको आवाज बोल्नु। ‘योजनगन्धा’ले सत्यवतीलाई केन्द्रमा राखेर महाभारतका नारी पात्रको बोली बोल्छ। त्यस्तै ‘राधा’मा कृष्णलीलामा नारीले गरेको योगदान र संघर्षको व्याख्या गर्दै अघि बढ्छ भने महाभारतमा नदेखिएका नारी कथालाई उनीहरूको मुखबाट बोलाउँछ ‘चीरहरण’ले।
बृहत्तर महाभारतमा छरिएर रहेको सत्यवतीको परिचयलाई एकीकृत गरेर पुनव्र्याख्या गर्नु ‘योजनगन्धा’को मुख्य विशेषता हो। अचम्मको संयोगबाट जन्मिएकी केटीको शरीरबाट माछाको गन्ध आउँछ। समयले उनलाई माझी मुखियाको घरमा पुर्याउँछ र मत्यसगन्धाको परिचय दिन्छ। विवाहअघि नै उनले महर्षि परासरसँग यौन सम्बन्ध राख्छिन् र छोरा जन्माउँछिन्, जो पछि वेदव्यासको रूपमा चिनिन्छ। पछि उनी राजा शान्तनुकी रानी बन्छिन्, सत्यवतीको रूपमा। विवाह गर्दा उनले सबैसँग आफ्ना सन्तानलाई राजगद्दीको उत्तराधिकारी बनाउने वाचा गराएकी हुन्छिन्। सत्यवतीको यही महत्वाकांक्षा र चातुर्य महाभात युद्धको कारक बनेको उपन्यासले प्रस्ट पार्छ।
राधाको नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा केही सीमित तस्बिर मात्र देखिन्छन्। त्यस्ता तस्बिरमा उनी निरीह देखिन्छन्। हामीले सुन्दै÷पढ्दै आएको राधाको चरित्र बडो प्रेमिल छ। तर, ‘राधा’ उपन्यासमा उनलाई सच्चा प्रेम गर्न जान्ने, बच्ची र सोझी नारीको रूपमा मात्र व्याख्या गरिएको छैन। अपितु उनलाई कृष्ण–कंश युद्धमा कृष्णपक्षको जितमा महत्वपूर्ण भूमिका खेल्ने नारीको रूपमा व्याख्या गरिन्छ।
‘योजनगन्धा’ र ‘राधा’ जस्तो ‘चीरहरण’ले महाभारतको एउटै पात्रमा समेटिएर कथा भन्दैन। यो उपन्यास बृहत्तर महाभारतका नारी पात्र सत्यवती, अम्बा, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, द्रौपदी, सुभद्रा, उलूपी, भानुमती आदिका व्यक्तिगत बयानमा टेकेर उभिएको छ। अहिलेको समाजले नारीलाई नै हरेक कोणबाट दोषी मान्दै आएको छ। तर, उनीहरूको त्याग, बलिदान, समर्पणजस्ता कुरालाई छायाँमा पारिदिएको छ। पुरुषलाई मात्र बढाइचढाइ व्याख्या गरिएको महाभारतमा नारीहरूले के–कस्ता अपमान, तिरस्कार, आरोप, अन्यायसँग लड्नु परेको थियो भन्ने प्रश्नको खोज गर्छ ‘चीरहरण’ले।
अर्कोतर्फ ‘योजनगन्धा’ले त्याग, बलिदान, समर्पणको कुरा गर्छ। हाम्रो समाजले महाभारतलाई पुरुष संघर्षको कथा मान्दै आएको छ। तर, कथाबाट सत्यवतीलाई हटाइदिएपछि कुरुक्षेत्रको युद्ध नै नहुने कुराको उपन्यासले दाबी गर्छ।
महाभारतका पुरुष पात्रका विभिन्न दृष्टिकोण जताततै पुराणहरूमा पढ्न पाइन्छ। तर, सत्यवतीको आँखीझ्यालबाट महाभारतलाई वर्णन गर्छ उपन्यासले। महाभारत युद्धको कारक थाहा भएपछि ‘योजनगन्धा’को कथा सकिन्छ। यो समयमा कौरव र पाण्डव जवान हुन्छन् र कुरुक्षेत्रको युद्धको नजिक हुन्छ।
‘राधा’ उपन्यासको विषेशता पनि यस्तै यस्तै हो। झापामा भइरहेको पुरातात्विक उत्खननको प्रसंगबाट सुरु हुन्छ, राधाको कथा। उत्खननका क्रममा भेटिएको राधाको आत्मकथाकै आधारमा अघि बढेको कथा १८दिने युद्धपछिको बीभत्स दृश्य र भयानक सन्नाटामाथि राधाको दृष्टिकोणबाट सकिन्छ। कृष्णलाई भेट्न द्वारिका जाने क्रममा राधा राजा वीरसिंहको दरबारमा पुग्छिन्। सोही दरबारमा समयको सदुपयोग गर्दै उनले आत्मकथा लेख्छिन्, जो झापा उत्खननका बेला भेटिन्छ।
‘चीरहरण’मा महाभारतका नारी पात्रहरूले आफ्नो बृहत्सभामा प्रमुख पुरुष पात्रहरूलाई विशेष अतिथिको रूपमा बोलाएका हुन्छन्। उनीहरूले बोलाइएका अतिथिलाई आफ्नो कुरा सुनाउछन्। र, अन्त्यमा पुरुषहरूलाई आआफ्नो तर्फबाट क्षमा र आत्मालोचना समेत गराउँछन्। उक्त सभाले ससाना कुराले भयानक घटना घट्न गएको र यस्ता घटना भोलि पनि दोहोरिन सक्ने निष्कर्ष निकाल्छ। अब उप्रान्त सबै यो कुरामा सचेत रहनुपर्ने कुरामा जोड दिएर सभा सकिन्छ। र, उपन्यासको अन्त्य हुन्छ।
उसै पनि महाभारतमा नारी पात्रहरू खुम्याइएका छन्। त्यसैमा सत्यवतीजस्ता नारी पात्र त छायामा नै पारिएका छन्। उनी त्यस्ती पात्र हुन्, जसको राजनीतिक चालले ‘देवव्रत’ भीष्म बन्न पुगे। उनै भीष्मलाई प्रयोग गरेर उनले वर्षौंसम्म कुरु राजकाजसमेत चलाइन्। संक्षिप्तमा भन्दा कुनै न कुनै रूपमा महाभारत युद्धको कारक समेत हुन् सत्यवती। तर, अहिलेको समाजले उनको राजनीतिक कुशलता छोपिदियो। नारीलाई शक्तिशाली देखाउनु हुन्न भन्ने समाजको मागले सत्यवतीको विशाल चरित्रलाई खुम्च्यायो। यही खुम्चिएको चरित्रलाई ‘योजनगन्धा’ले उजागर गरेर पौराणिक नारी शक्तिको पुनव्र्याख्या गरेको छ।
पुरुषप्रति झुकेको समाजले नारीको क्षमतालाई स्वीकार्न सक्दैन। राधा र उनका साथीरूको मामलामा पनि त्यस्तै भयो। कृष्णलीलामा राधा र उनका अन्य साथीको चरित्रलाई एउटा प्रेमकी प्रतीक नारीको रूपमा मात्र उल्लेख गरियो। तर, कृष्ण र कंशको युद्धमा नारीहरूले पनि आफ्नो रगत बगाएका थिए भन्ने कुरालाई ओझेलमा पारियो। राधा आँशु झार्न मात्र जान्दिनन्, कठोर हृदय बनाएर आफ्नो अडानमा अडिक रहन सक्छिन्, राजनीतिको ज्ञान र तर्ककलामा पनि उत्तिकै माहिर छिन् भन्ने कुरालाई कहिल्यै बाहिर निकालिएन। समाजले पचाउन नसकेका यिनै यावत् कुराको पुनव्र्याख्या गरेको छ ‘राधा’ उपन्यासले।
महाभारतमा पुरुष वलिदानीको प्रशंसा भयो। तपस्या गरेर देवतालाई प्रसन्न पारे पनि पुरुषहरूले नै। नारी पात्रहरू किन हराए जस्तै भए ? यो प्रश्नको उत्तरसँगै महाभारतमा नारी शक्तिको पुनव्र्याख्या ‘चीरहरण’ले गर्न सफल भएको छ।
०००
अहिले महिलाहरूको ३३ प्रतिशत आरक्षणको कार्यान्वयन भएको छ। दिनपछि रात र रातपछि दिन भएजस्तै नारीहरूले अब वैदिककालीन हैसियत पाउने निश्चित छ।