अब कर्णालीको परिचय बदलिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन्। डोल्पो समाजले शनिबार गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए। ‘डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताए। ‘पातला बस्तीमा भौतिक सुविधा पुर्याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलार्ई स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभूत सुविधा सबैलाई उपलब्ध गराइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि कर्णालीको परिचय बदलिनेछ। कर्णाली सुगम हुनेछ।’