‘इन्डो–प्यासिफिककै एक हिस्सा नेपाल’
काठमाडौं : इन्डो–प्यासिफिक क्षेत्रको ‘राडार’ मा नेपाल प्रवेश गरेको हो कि होइन बहस चलिरहँदा भारतीय थिंक ट्यांकका एक अध्येताले नेपाल त्यसको एक हिस्सा भएको दाबी गरेका छन्। उनले नेपाल सार्क र बिम्स्टेकको सदस्य रहेर जसरी अघि बढेको छ त्यही रूपमा नभए पनि अवधारणागत रूपमा ‘इन्डो–प्यासिफिक’ को एउटा महत्त्वपूर्ण हिस्सा भइसकेको बताएका हुन्।
‘दि ऋ इन्स्टिच्युट’ ले राजधानीमा शनिबार गरेको ‘नेपाल इन्डो–प्यासिफिकको एक अंग हो त ? ’ शीर्षकको अन्तरक्रियामा ब्रुकिङ्स इन्डियाका अध्येता कन्स्टान्टिनो जेभियरले त्यस्तो धारणा व्यक्त गरेका हुन्। भारतको विदेश नीतिमा प्रभाव राख्ने उक्त थिंक ट्यांकको धारणा कतै न कतै भारतीय धारणासँग मेल खान्छ। ब्रुकिङ्स इन्डियाले नेपालको नवगठित सरकारी थिंक ट्यांकसँग पनि सहकार्यको पहल गरिरहेको छ।
‘सार्क र बिम्स्टेक जस्तो संरचनागत र अन्तरसरकारी सहमतिमा बनेको निकाय इन्डो–प्यासिफिक होइन तर अवधारणगत रूपमा अघि आएको यो विषयको अभिन्न अंग नेपाल हो’, नेपालबारे आफूलाई विद्यार्थीका रूपमा प्रस्तुत गर्दै जेभियरले भने, ‘नेपाल इन्डो–प्यासिफिकसँगै चीनको रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को समेत अंग बनिसकेको छ। यद्यपी बीआरआई दुईपक्षीय हो।’ इन्डो–प्यासिफिकबारे प्रष्ट पार्दै उनले भने, ‘बीआरआई र सार्कमा जस्तो हस्ताक्षर गरेर अंग हुनुपर्छ भन्ने छैन। तर अवधारणागत रूपमा नेपाल इन्डो–प्यासिफिकको अंग बनिसकेको छ।’ यो क्षेत्र हेर्ने अमेरिकी सैन्य कमान्डभित्र नेपाल स्वतः पर्छ किनकी भूगोलकै आधारमा तय भएको इन्डो–प्यासिफिक क्षेत्रमा नेपाल अवस्थित छ।
‘सार्क र बिम्स्टेक जस्तो संरचनागत र अन्तरसरकारी सहमतिमा बनेको निकाय इन्डो–प्यासिफिक होइन तर अवधारणगत रूपमा अघि आएको यो विषयको अभिन्न अंग नेपाल हो।’ –कन्स्टान्टिनो जेभियर, अध्येता, ब्रुकिङ्स इन्डिया
उनले इन्डो–प्यासिफिकलाई सैनिक सहकार्यका रूपमा नबुझ्नसमेत आग्रह गर्दै भने, ‘यो कनेक्टिभिटीमा केन्द्रित छ। यसले न त चीनको बीआरआई वा अन्य कुनै परियोजनासँग प्रतिस्पर्धा गर्छ न त भर्खरै आएको नयाँ अवधारणा नै हो।’ उनले अमेरिका, भारत र चिनियाँ अवधारणा मात्र होइन अन्य देशको पनि आफ्नै प्रकारको अवधारणा रहने हुनाले अन्य रूपमा बुझ्न नहुने बताए।
इन्डो–प्यासिफिकलाई उनले भारतसँग नेपालको ‘विशेष सम्बन्ध’ का कारण थप तानिएको र यसलाई नेपालले एउटा अवसरका रूपमा बुझ्नुपर्ने बताए। यो नेपालकेन्द्रित मात्र नभएर यस क्षेत्रका अन्य देशसँग पनि जोडिएको विषय हो। समदूरीका आधारमा सन्तुलित कूटनीति नै नेपालको हितमा हुने सुझाउँदै उनले श्रीलंकाले तुलनात्मक रूपमा सन्तुलित कूटनीति अघि बढाएको बताए।
वरिष्ठ पत्रकार कनकमणि दीक्षितले नेपाल–भारत सम्बन्धलाई विशेष भन्न नमिल्ने तर्क गर्दै नेपालले भारत र चीनलाई मात्र सन्तुलन गरेर नहुने भन्दै यहाँ भारत, चीन र अमेरिकाको प्रतिस्पर्धा रहेको र तिनलाई व्यवस्थापन गर्न सके अन्य मित्र सहजै व्यवस्थापन गर्न सकिने स्पष्ट पारे। पूर्वप्रधानसेनापति गौरवशमसेर राणाले इन्डो–प्यासिफिक नेपालका लागि मात्र नभएर यो क्षेत्रका सबै देशहरू यसअन्तर्गत रहने बताउँदै यसलाई नयाँ रणनीति भन्न नमिल्ने प्रष्ट्याए।