वातावरणीय प्रभाव मूल्यांकन गराउँदै तारे होटल
काठमाडौं : सरकारले सेवा सुविधामा रोक लगाउन थालेपछि एक सय शय्यामाथि क्षमता स्वीकृत गराएका तारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराउन थालेका छन्। वर्षौं पुराना होटलदेखि भर्खरै सञ्चालनमा आएकासम्मलाई ईआईए प्रतिवेदन अनिवार्य गरिएको छ। पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद भट्टराईले होटल पर्यटन विभागको सम्पर्कमा आएर र ईआईए गराइरहेको जानकारी दिए।
वातावरण संरक्षण ऐन २०५३ को दफा ३ र नियमावली २०५४ को अनुसूची ३ ले प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। यो व्यवस्थाअनुसार कुनै प्रस्तावकले तोकिए बमोजिम शर्तपालना गरेर ईआईए तथा आईई गर्नुपर्नेछ। यो व्यवस्था पालना नगरेका होटल तथा अन्य संस्थालाई गत वर्षको फागुन दोस्रो साता तत्कालीन वातावरण मन्त्री लालबाबु पण्डितले जरिवाना गराएका थिए।
ऐन तथा नियमावली आइसकेपछि यसको पालना नगरेको र अटेर गरेर बसेको भन्दै पाँचतारे होटल सोल्टी, बत्तीसपुतलीकोे द्वारिकाज, ठमेलको काठमाडौं गेस्ट हाउस र रविभवनको सिटी होटलललाई १/१ लाख रुपैयाँ जरिवाना गरिएको थियो। यी होटललाई तत्काल ईआईए गराउन लगाइएको थियो।
गत वर्षको फागुनमै पर्यटन मन्त्रालयले पनि ‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’, अनुसार तोकिएको शर्तअनुसारका होटललाई वातावरणीय प्रभाव मूल्यांकन गराउन सूचना जारी गरेको थियो। पर्यटन मन्त्रालयको उक्त निर्देशिकको ८१ (४) (क)ले ५० देखि सय शय्यासम्मको भए प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र सय शय्याभन्दा माथिको क्षमताको भएमा ईआईए प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। सोही व्यवस्थाअनुसार नयाँ होटलको स्तर निर्धारण गर्न आउँदा उक्त प्रतिवेदन ल्याउनुपर्छ।
पुराना होटलको हकमा नवीकरण गर्न आउँदा वा सोभन्दा अगावै उक्त प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार हाल पर्यटन विभागमा दजनौ होटलले यस्तो वातावरणीय प्रतिवेदनको फाइल पेश गरेका छन्। कतिपयको स्वीकृति भएको र कतिपय प्रक्रियागत चरणमै रहेको विभागले जानकारी दिएको छ।
तारेदेखि पाँचतारेसम्मका होटल निर्माण स्वीकृति लिनुपूर्व वातावरणीय प्रतिवेदन तयार गर्नुपर्छ।
विभागका अनुसार पाँचतारे होटल सांग्रिलादेखि, चारतारे होटल शंकर र अन्य तीनतारे वा एक सय शय्याभन्दा बढी क्षमता भएका होटलले ईआईए गराइरहेका छन्। पछिल्लो समय तारेदेखि पाँचतारेसम्मका होटल खुल्न थालेका छन्। यस्ता होटल निर्माण स्वीकृति लिनुपूर्व वातावरणीय प्रतिवेदन तयार गर्नुपर्छ। बनिसकेका र सञ्चालनमा आइसकेका होटलले पनि तोकिएको मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्नुपर्ने विभागको भनाइ छ। वातावरण प्रभाव मूल्यांकनपछि फोहोर व्यवस्थापन, भूमिगत पानीको प्रयोग, पोस्ट डिजास्टर, नक्सा पास, ग्राहक सेवा र सुविधा, स्तरीय खानाको व्यवस्था र आवश्यक शर्त र सीमाको पालना गरे वा नगरेको सबै विवरण हेरिनेछ। कुनै पनि होटलले न्यूनतम शर्त पालना नगरेको अवस्थामा पाँच देखि २५ लाख रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था पनि पर्यटन विभागले गरेको छ।
पर्यटन विभागका सरकारी निकायमा दर्ता भएका पाँचतारे होटलको संख्या १२ छ। यसमध्ये काठमाडौंको एभरेस्ट र पोखराको फूलवारी होटल बन्द छन्। अन्यमा सोल्टी, अन्नपूर्ण, सांग्रिला, याक एन्ड यती, हायात रिजेन्सी, मल्ल, र्याडिसन काठमाडौंमा छन्। काठमाडौ बाहिर सञ्चालनमा आएका पाँचतारे होटलमा भैरहवाको टाइगर प्यालेस र पोखराको ग्रान्ड होटल रहेको छ। सोल्टीकै नेपालगन्जमा सोल्टी सिब्क्रिम होटलले पाँचतारे स्तरको अनुमति पाएको छ। कोहलपुरको सेन्ट्रर प्लाजाले पनि पाँचतारेको निम्ति अनुमति मागेको छ।
विभागका अनुसार चारतारे होटलको संख्या भने हाल आठवटा पुगेको छ। काठमाडौंको हिमालयन र शंकरपछि काठमाडौं बाहिर खुलेका महेन्द्रनगरको होटल ओपेरा, सिमराको इच्छा, नगरकोटको मिस्टिक माउन्टेन, नेपालगन्जको कृष्णा, नेपालगन्जकै सिद्धार्थ होटल भ्यू र पोखराको होटल सरोवर प्रालि छन्। स्तर निर्धारण भएका र दर्ता प्रक्रियामा आएका दुई तारे ४३ वटा, एक तारे ३३ वटा र पर्यटक स्तरका पाँच सय १० वटा होटल छन्।