डोल्पामा विद्युत सेवा बन्द, करिब १२ सय परिवार अन्धकारमा
दुनै,डोल्पा :दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा शनिबार राति ९ बजे पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको हो।
कुल २०० किलोवाट क्षमता रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा सुख्खा पहिरो खसेपछि विद्युतको नहर भत्काएर क्षतविक्षत पारेको छ। नहरमा पहिरो खसेपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकार भएका छन्।भिरालो पहराबाट सल्लाका रुखहरु, ठूला ढुंगाहरु खसेपछि विद्युतको नहरमा ठूलो क्षति भएकाले निर्माण गर्न निकै समय लाग्ने विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ।
पहिरोको कारण नहरमा राखिएका फलामका पाइप सबै भाँचिएका छन् भने अधिकांश पहिरोमा पूरिएका छन्। प्रमुख जिल्ला अधिकारी,वडा अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्र निरीक्षण गरेको छ। पहिरोले ठूलो मात्रामा क्षति गरेकाले पुर्ननिर्माण गर्न महिना दिनभन्दा बढी लाग्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी बताए।
कार्यालयका प्राविधिकले भोली पुर्ननिर्माण गर्न लाग्ने खर्चको विवरण निकाल्ने र जनश्रमदान अनुदान गरेर जतिसक्दो छिटो विद्युत संचालन गर्नमा लागि पर्ने प्रजिअ थापाले बताए।तत्काल सबै निकायको बैठक बसी कति अनुदान र कति जनश्रमदानबाट गर्न सकिन्छ, निष्कर्ष निकालेर विद्युत सेवा सञ्चालन गर्नमा स्थानीय सरकार लागिपर्ने ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जनाए।
वडा अध्यक्ष न्यौपानेले श्रमदानबाट विद्युतको नहर मर्मत गर्र सम्बन्धीत निकायलाइ दवाव दिने बताए।विद्युत अवरुद्ध हुँदा सरकारी तथा गैर सरकारी कार्यालयका कामहरु समेत प्रभावित भएका छन्।