'घुसमा मुछिएका पाठकलाई उन्मुक्ति होइन कारबाही'
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही थाल्नुपर्ने बताएका छन् ।
‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्सन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ’, आइतबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता तामाङले भने, ‘म पनि त्यही भन्छु । सरकारले यसबारे छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’
साक्षात्कारमा बोल्दै उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह्रास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।’
तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन’, उनले भने, ‘अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’
उनले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भरि अपराध भएको टिप्पणी गरे । ‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु’, तामाङले भने । अदालतमा पछिल्लो समय उज्यालो किरण देखा परेको उनको तर्क थियो ।
‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु’, तामाङले भने, ‘अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’
सरकार सफल
फरक प्रसंगमा उनले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरे ‘स्वयम प्रधानमन्त्रीज्यूले पनि यो पहिलो वर्ष आधार वर्ष भयो भन्नुभएको छ । ऐन, कानुन बनायौँ’, उनले भने, ‘जनताले भनेजस्तो रिजल्ट नआएको सत्य हो, तर सरकार असफल भयो भन्न मिल्दैन ।’
उनले सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामू पार्टीले पुर्याउन नसकेको बताए । ‘पार्टीको सांगठनिक एकताका काम अघि बढाउन नसक्दा सरकारले अघि बढाएका राम्रा कामहरुको प्रचार भएको छैन् । जनतासामु सरकारका कामहरु पुर्याउन सकिएको छैन’, तामाङले थपे ।
प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाइ थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’
यद्धपी उनले केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरुले गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।