गिरोनासँग हार्यो रियल मड्रिड, सर्जियो रामोसलाई रेडकार्ड
काठमाडौँ : क्रिस्टियानो रोनाल्डोले छाडेदेखि लय गुमाएको रियल मड्रिडको खराब यात्रा अझै रोकिएको छैन । स्पेनिस ला लिगा अन्तरगत आइतवार भएको २४ औँ चरणको खेलमा स्पेनिस महारथि रियल मड्रिडलाई रेलिगेसन जोन नजिकै रहेको गिरोनाले २–१ गोलले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबाओमा भएको आइतबार भएको खेलमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा रियल मड्रिड पराजित भएको हो । पराजित रियलका लागि खेलको २५ औँ मिनेटमा क्यासेमिरोले गोल गरेका थिए । पहिलो हाफमा लिएको अग्रता रियलले दोस्रो हाफमा जोगाउन सकेन ।
डी एरियाभित्र गिरोनाका खेलाडीले हानेको बलले रियलका कप्तान सर्जियो रामोसको हातमा छुन पुगेपछि गिरोनाले पेनाल्टी पायो । यसलाई खेलको ६५ औँ मिनेटमा स्टुयानीले गोल गर्दै खेललाई १–१ मा ल्याउन सफल भए ।
खेलको ७५ औँ मिनेटमा गिरोनाका लागि पोर्टुले गोल गर्दै २–१ को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औँ मिनेटमा रामोसले गिरोनाका खेलाडीको अनुहारमा लात्तीले हान्न पुगेपछि रेडकार्ड पाउँदै मैदान छाडे । उनले यसअघि खेलको ६४ औँ मिनेटमा हेन्ड गर्न पुगेपछि पहिलो पहेँलो कार्ड भेट्टाएका थिए ।
यो हारपछि रियलले लिगमा अगाडि रहेको बार्सिलोनासँग अंकतालिका छोट्याउने अवसर गुमाएको छ । रियलले २४ खेलबाट ४५ अंक बनाएको छ भने समान खेलबाट बार्सिलोनाले ५४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले समान २४ खेलबाटै ४७ अंक जोड्न सफल भएको छ ।