वाइडबडी भ्रष्टाचारविरुद्ध शान्ति समाजको देशव्यापी अभियान
काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ। मानव अधिकार तथा शान्ति समाजको १३८ औं केन्द्रीय समिति बैठकले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारविरुद्ध अभियानप्रति सरकार उदासिन देखिएको भन्दै समाजले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि फागुन ४ गते बिहान शान्ति समाजको एक टोलीले नदी सफाईको नियमित श्रृंखला अन्तर्गत काली गण्डकी किनारस्थित रानी महल परिसर र रानी महल छेउ रहेको कालीगण्डकी नदी सफाई कार्यक्रम समेत संचालन गरेको थियो।
सफाईबाट संकलित फोहोर स्थानीय सुरक्षाकर्मीलाई जिम्मा लगाउँदै रानी महल सुरक्षार्थ खटिएका प्रहरीलाई रानी महल परिसरमा फोहोर गर्न नदिन विशेष व्यवस्था मिलाउन आग्रह समेत गरिएको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन्।
सँगै समाजको आयोजनामा फागुन ४ गते पाल्पाको तानेसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ। सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै अरवौका भ्रष्टाचार प्रकरण देखिदैँ गएको र त्यसविरुद्ध कारबाही गर्न सरकार उदासिनकोप्रति आपत्ति जनाए। उनले भ्रष्टाचार प्रकरणका मुख्य दोषीमाथि कारबाही सुनिश्चित गर्न सामूहिक आन्दोलनको आवश्यक भएको बताए।
प्रदेश सभा सांसद बीरबहादुर रानाले शान्ति समाजको भ्रष्टाचारविरुद्धको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफूलाई राजनीतिक दलको ह्वीपले गाँजेको भएता पनि शान्ति समाजलाई कुनैपनि ह्वीपले छेक्न नसक्ने बताए।
उनले कुशासन र भ्रष्टाचारका सवालमा निर्धक्कसँग अघि बढ्न सबैलाई आग्रह गरे। नागरिक सभामा मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले फोहोरको डुंगुरभित्र स्वाभिमान र आत्मसम्मान हराउने खतरातर्फ संकेत गर्दै पाल्पा र कालिगण्डकी नदीमा बढ्दो फोहोरको नियन्त्रणमा पाल्पालीलाई आग्रह गरे।
पाल्पा जिल्ला शाखा सभापति नारायण प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको नागरिक सभामा नेकपाका नेता धनेन्द्रराज घिमिरे, राप्रपा पाल्पाका अध्यक्ष रेवन्तबहादुर बिष्ट, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, सचिव कृष्णबहादुर रावल र टेकबहादुर सार्की, केन्द्रीय सदस्य मीना ढकालले मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, त्रिभुवन क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौडेलले समेत सुशासन र नागरिक दायित्व विषयमा मन्तव्य दिए।