कांग्रेसद्वारा सरकारको मूल्यांकन-‘विश्वासघातमा विशिष्ट श्रेणी’

कांग्रेसद्वारा सरकारको मूल्यांकन-‘विश्वासघातमा विशिष्ट श्रेणी’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ। आफ्नो एकवर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप आइतबार कांग्रेसले लगाएको हो।

‘सरकारसँग नागरिकको मूल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजारमूल्य र उप्रतिको भरोसा र विश्वासको हुन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको सरकारको समीक्षामा भनिएको छ, ‘अनेक पक्षको अनेक विश्वासलाई विसर्जित गर्नमा त यो एक वर्षमा सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको छ।’

घात–१

कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायमाथि सरकारले विश्वासघात गरेको आरोप लगाएको छ। सरकारलाई १३ वर्षकी बालिकाका दोषीलाई कठघरामा बचाएको समेत आरोप लगाइएको हो।

‘राज्य संयन्त्रको दुरुपयोग र बदनामी गरेर दोषीलाई जोगाउन सम्पूर्ण प्रयत्न गरियो’ समीक्षामा प्रश्न गरिएको छ, ‘निर्दोष केही युवालाई यातना दिएर, जबर्जस्त साविति बयान गराएर, नक्कली अपराधी खडा गर्नेतर्फ लाग्ने कर्मभन्दा ठूलो न्यायप्रतिको विश्वासको हत्या अर्को के हुन सक्छ ? ’

घात–२

सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप कांग्रेसको छ। ‘सारा दुनियाँलाई साक्षी राखेर गरिएको सम्झौता केवल सम्झौता मात्रै थिएन, त्यो नेपाल देशका प्रधानमन्त्रीको उच्च ओहोदाको गरिमा र विश्वासको दस्ताबेज पनि थियो’ समीक्षामा भनिएको छ, ‘तर विश्वास शब्दलाई नै लज्जित तुल्याउने गरी विश्वासको त्यो उचाइ गल्र्याम्म ढल्यो।’

घात–३

बूढीगण्डकीमा पनि सरकारले विश्वासघात गरेको कांग्रेसको समीक्षा छ।‘नेपालको समृद्धि नेपालीकै लगानीबाट भनेर बृहत्तर ढंगले प्रेरित र परिचालित गर्न सकिने गरी ठूलो आकारको नमुना बन्ने सम्भावना विकसित भएको बूढीगण्डकी परियोजना त्यसरी सुम्पनु बितेको वर्षमा वर्तमान सरकारबाट सम्पादित सबैभन्दा ठूलो विश्वासघात त हो नै यो गम्भीर राष्ट्रघात पनि हो’, समीक्षामा छ।

घात–४

संविधान संशोधनमा सरकारले मधेसीमाथि विश्वासघात गरेको कांग्रेसको समीक्षा छ। मधेसकेन्द्रित दललाई विश्वास दिएर सरकारमा ल्याए पनि एक वर्ष पुगिसक्दा संशोधनमा बेवास्ता गरेको आरोप कांग्रेसको हो।

समीक्षामा सोधिएको छ, ‘मधेस विद्रोहमा युवाले बगाएको रगत कम्युनिस्ट सरकारको सामान्य बहुमतको शिरमा के दुईतिहाइको मेहन्दी लगाउनका लागि थियो ? ’

घात–५

कांग्रेसले आफ्नो काममा सरकारले श्रेय लिएरसमेत विश्वासघात गरेको आरोप लगाएको छ। सामाजिक सुरक्षा कोष आफूले तयार पारेको र यो कामको श्रेय सरकारले मात्र लिएको प्रस्ट पारेको हो।

‘नेपाली श्रमिकको हितमा यो ऐतिहासिक उपलब्धि कांग्रेसको नेतृत्वमा रहेको सरकारले सम्पादन गरेको कर्म थियो’, सरकारको समीक्षामा भनिएको छ, ‘मंसिर ११ गते वर्तमान सरकारले तामझामसाथ भड्किलो ढंगले प्रचार गरेर कम्युनिस्टको कार्यक्रम कम्युनिस्टकै पालामा’ भएको भ्रम छर्ने प्रयत्न गर्‍यो।’

‘बयलगाडामाथि अर्थतन्त्र’

सरकारको एकवर्षे कार्यकालमा देशको अर्थतन्त्र बयलगाडामाथि चढेर अगाडि बढिरहेको कांग्रेसले समीक्षा गरेको छ। ‘सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुब्लो शैली हेर्दा भन्नै पर्ने स्थिति आएको छ–समृद्धि मीठो नारा मात्रै होइन भने बयलगाडामा बसेर चढिन्न सगरमाथा’, समीक्षामा भनिएको छ, ‘बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यमा आइपुग्दा केवल २२.८७ प्रतिशत मात्रै छ।’

विदेशी लगानी भित्रिने कम भएको, शोधनान्तर घाटा चरम चुलीमा उक्लिएको दाबी समीक्षामा गरिएको छ। अर्थतन्त्रको पल्स मानिने सेयर बजार यो सरकार आएपछि क्रमशः धराशयी हुँदै गएको समेत समीक्षामा उल्लेख गरिएको हो।

‘स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो’ त्यहाँ भनिएको छ, ‘पछि १५२० मा रहेको नेप्से कम्युनिस्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पूरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ।’

कूटनीति : ‘केटाकेटीको गुलेली’

सरकार कूटनीतिक परिपक्वतामा गरिब देखिएको समीक्षा कांग्रेसको छ। मुलुकको अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाभिमान र समृद्धिका सन्दर्भमा कूटनीतिक विषय र सम्बन्ध निर्माणमा चुकेको प्रस्ट पारेको हो।

‘भेनेजुयला प्रकरणमा आइपुग्दा सत्तापक्षले कूटनीतिक मामिलामा ‘केटाकेटी आए, गुलेली खेलाए मट्यांग्र्राको सत्यनाश’ झंै अपरिपक्वता प्रस्तुत गर्‍यो’, समीक्षामा छ, ‘कूटनीतिक प्रश्नमा अलमल, द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित गर्दैन।’

नेपालको परराष्ट्र नीतिको मूल आधार असंलग्नतामाथि माक्र्सवाद, माओवाद या चावेजवाद हाबी हुने संकेत देखिएको र यो आपत्तिजनक रहेको कांग्रेसले प्रस्ट पारेको छ।

‘भ्रष्टाचारको क्रान्तिकारी छलाङ’ भ्रष्टाचारले क्रान्तिकारी छलाङ मारेको कांग्रेसले समीक्षा गरेको छ। वाइडबडी प्रकरणलगायत उदाहरण दिँदै कांग्रेसले एकवर्ष यता भ्रष्टाचार बढेको निष्कर्ष निकालेको हो।

‘वाइडबडी प्रकरणमा अर्बौंको घोटाला गरिएको विवरण बाहिर आयो, सरकारले छानबिन प्रक्रिया अवरुद्ध गर्ने ढंगले शाही आयोग गठनको शैलीमा ढाकछोप आयोग गठन गर्‍यो’, कांग्रेसले भनेको छ,’ संसद्देखि सडकसम्म कांग्रेसले यो घोटालाका दोषीलाई कारबाही गर्न तथ्यको जगमा सत्यको खोजी गर्न दबाब दिँदै आएको छ।’

भ्रष्टाचारसम्बन्धी ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा उल्लेख गरिएको तथ्यांक उल्लेख गर्दै कांग्रेसले नेपालमा भ्रष्टाचार बढिरहेको निष्कर्ष निकालेको हो। ‘यो वर्षमा प्रधानमन्त्री कार्यालयमा राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायत राज्यका अन्य महŒवपूर्ण अंगलाई केन्द्रीकृत गरिएको छ’, कांग्रेसले समीक्षामा भनेको छ, ‘अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने स्थापित र प्रमाणित मान्यता नजरअन्दाज गरेर गरिएको यो केन्द्रीकरण संघीयताको मर्मविपरीत छ।’

‘प्रधानमन्त्री अयोग्य शासक’

कांग्रेसले प्रधानमन्त्री केपी ओलीमा शासकीय योग्यता नदेखिएको निष्कर्ष निकालेको छ। ‘कुनै पनि मुलुकका नागरिकको आफ्नो प्रधानमन्त्रीसँग विशेष अपेक्षा हुन्छ शासकीय योग्यताको तर इतिहासमै सबैभन्दा सहज राजनीतिक वातावरण प्राप्त भएर पनि वर्तमान प्रधानमन्त्रीले एक वर्षमा कुशल शासकीय क्षमता प्रदर्शन गर्न सक्नुभएन’, समीक्षामा भनिएको छ, ‘रमाइला, आवेग भरिएका, हलुका अभिव्यक्ति र उपदेश छाँटिएका, सपनाका हवाई उडान गरिएका, राम्रै मनोरञ्जन दिएका उहाँका छोटा–लामा निकै भाषण चर्चामा रहे तर प्रधानमन्त्रीसँग मूलतः नागरिक अपेक्षा जिम्मेवार शासनको हुन्छ, लच्छेदार भाषणको होइन।’

सरकारले हरेक क्षेत्रमा असफलता आर्जन गरेको समेत कांग्रेसले दाबी गरेको छ। ‘सहज राजनीतिक वातावरण र दुईतिहाइको गणितका बाबजुद एक वर्षको तीन सय पैसा सुनौला दिनलाई सरकारले व्यर्थमा व्यय गरेको छ, वर्ष दिनमा १२ पाइलामा आगामी दिनको सुन्दर संकेत सरकारले दिन सकेन’, समीक्षामा भनिएको छ, ‘लामो यात्राको प्रारम्भ पहिलो पाइलाबाटै हुन्छ, त्यो पहिलो पाइलामै डग्मगाएर टेक्दा बाँकी यात्राबारे चित्र स्पष्ट भइहाल्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.