परीक्षा आएपछि के गर्नुपर्छ ?

परीक्षा आएपछि के गर्नुपर्छ ?

व्यक्तिको आत्मविकास, उसको समग्र विकास र फैलावटमा शिक्षाले मद्दत गर्छ। व्यक्तिगतरूपमा शान्त, आनन्द, उत्सवमय जीवन बिताउन एवं समाजका कुरीतिलाई बेवास्ता गर्दै सुधार गर्न, आन्तरिक चेतना जागृत गर्न एवं आन्तरिक क्षमता विकास गर्न मानिसलाई शिक्षा आवश्यक पर्छ। त्यसैले शिक्षा सहज, सरल र जागृत हिसाबले उपलब्ध गराइनुपर्छ। तर त्यसो भएको पाइँदैन। किनभने विद्यार्थी जीवनभर प्रायजसो विद्यार्थी तनावमा हुन्छन्।

 राम्रो नतिजाको अपेक्षाका कारण विद्यालय तनावमा र फरक–फरक विद्यार्थीको मनोविज्ञान बुझ्न नसकी शिक्षकसमेत तनावमै भेटिन्छन्। जुन कुरा आत्मविकास र आनन्दका लागि चाहिएको छ, त्यसमै तनावग्रस्त हुनुका कारण के त ? विशेषगरी अहिले नजिकिँदै गरेको एसईई परीक्षामा सामेल हुने विद्यार्थी, विद्यालय र अभिभावकसमेत तनावग्रस्त अनि चिन्तित छन्। सबै नानीहरूलाई हामी एकै दृष्टिले हेर्ने र आदेश जारी गरी तिमीले परीक्षामा यति अंक ल्याउनैपर्छ। तिमी डाक्टर, इन्जिनिएर वा आईटीको विशेषज्ञ हुनैपर्छ भन्ने अभिभावकको सोच तनावमा लैजाने प्रमुख कारण हुन्।

 उता नाम चलेका भनेर मान्यतामा राखिएका विद्यालयहरूले तिनै विद्यार्थीलाई दबाब दिएका हुन्छन्। विद्यालयको इज्जत राख्न पनि तिमीले धेरै अंक ल्याएर देखाउनुपर्छ। यसको अर्थ नानीहरूले आफ्नो क्षमताअनुसारको विषय पढ्नु र आफ्नो क्षमताअनुसार प्रत्येक विषयमा अंक प्राप्त गर्नुभन्दा पनि अभिभावक, विद्यालय र सबैको इच्छाबमोजिम विद्यार्थीले पढ्नुपर्ने हुन्छ। आखिर शिक्षा किन तनावग्रस्त छ र यसलाई कसरी तनावरहित बनाउन सकिन्छ भन्ने कुरालाई ओशोले दिनुभएको ‘शिक्षामा क्रान्ति’ नामक प्रवचनमा आधारित रहेर विश्लेषण गर्दा सबैलाई उपयुक्त देखिन्छ।

 भविष्यको लक्ष्य

अभिभावकलाई नै आफ्ना नानीहरूको एसईई नतिजा राम्रो होला नहोला भन्ने मात्र चिन्ता छैन। एसईईरूपी फलामे ढोका पार गरेर भविष्यमा प्रतिष्ठित डाक्टर, इन्जिनियर, आईटी विशेषज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता आदि–आदि बन्नुपर्छ। मेरी नानीले भन्ने अपेक्षाका कारण तनावग्रस्त देखिएका हुन्छन् भने यसको सीधै असर विद्यार्थीलाई नपर्ने कुरै भएन। हजार माइल दूरी पार गर्न पनि एक–एक पाइला हिँडेपछि मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने शिक्षा हामीले दिएका छैनौं।

 भविष्यमा यो बन्नुपर्छ भन्ने मानसिक भार थोपरेर अहिलेदेखि आफ्ना नानीलाई तनाव दिने काम भइरहेको छ। जीवन वर्तमानमा छ, भविष्य अनिश्चित छ भन्ने जान्दाजान्दै पनि भविष्यको चिन्ता थोपर्ने र वर्तमानमा जहाँ छ त्यहींबाट मेहनत गर्न सिकाउने शिक्षाको अझै अभाव छ घरमा, विद्यालयमा र शिक्षकमा समेत। वर्तमानको प्रशंसाले मात्र नानीहरूलाई भविष्यको सपना देख्ने हिम्मत जाग्छ। त्यसैले विद्यालय, शिक्षक, अभिभावक र स्वयं विद्यार्थीले वर्तमानको दायित्व पूरा गर्ने काममा लागिरहनुपर्छ।

समय व्यवस्थापन

वास्तवमा घरको वातावरण, अभिभावक र विद्यालयबाट पढाइमा प्रेसर दिने काम मात्र हुने हुँदा विद्यार्थीले समयको सही व्यवस्थापन गर्न सकिरहेका हुँदैनन्। तनावकै कारण पढाइ र महत्वपूर्ण काममा समय खर्चिनुभन्दा सामाजिक सन्जाल, युट्युब, फेसबुक, इन्स्ट्रा आदिमा झुन्डिएर समय खर्च गरिरहेका हुन्छन्। समय सबैका लागि बराबर छ, तर कोही सफल र कोही असफल हुनुको कारण समयको उचित व्यवस्थापन गर्न र महत्वपूर्ण कामलाई प्राथमिकतामा राख्न नसक्नु नै हो।

पढाइलाई समय नै नदिई सामाजिक सन्जालमा समय खेर फाल्नु र आफ्नो महत्वपूर्ण कामलाई समय नदिनु नै तनावको कारण हो। महत्वपूर्ण काम, पढ्नैपर्ने विषय आदिको नोट बनाउने, जुन महत्वपूर्ण र अत्यावश्यक छ। त्यसलाई पहिलो प्राथमिकतामा राख्ने र सुरु गर्ने कला जान्नु, सिकाउनु र सिक्नु महत्वपूर्ण शिक्षा हो।

प्रतिस्पर्धाको भावना

सृष्टिमा प्रत्येक व्यक्ति असाधारण छ, प्रत्येक व्यक्ति आफैंमा उत्कृष्ट छ, तर हामीले अरूभन्दा धेरै पढ्नुपर्छ, अरूको भन्दा धेरै प्रतिशतले बढी अंक ल्याउनुपर्छ भन्ने शिक्षा नानीहरूलाई दिएका कारण उनीहरूमा नजानिँदो तरिकाले प्रतिस्पर्धाको भावना विकास भएको हुन्छ। प्रत्येक व्यक्तिको शारीरिक बनोट, स्वभाव, रुचि र विशेषता फरकफरक हुन्छन् भने उनीहरूले ल्याउने अंक बराबर कसरी हुन्छ ? बाँदरले रूख चढ्न सक्छ तर माछाले सक्दैन तर बाँदर पनि त पानीमा बस्न सक्दैन नि ! बाँदरको के कुरा जंगलको राजा सिंह नै पनि रूख चढ्न सक्छ र ? तर हाम्रो शिक्षा प्रणाली र अभिभावकको चाहना माछालाई रूख चढ्न सिकाउने खालको प्रतिस्पर्धी भावनाले विकास भएको छ।

अनावश्यक व्यस्त हुँदा स्मरण शक्ति अझ घट्छ। ४० मिनेट पढेपछि २० मिनेट आराम गर्ने या अतिरिक्त क्रियाकलाप र ध्यान गरेर शारीरिक र मानसिक रूपमै तनावमुक्त हुन जरुरी छ।

दोस्रोबाट प्रेरणा लिने हो तुलना गरेर उस्तै बन्ने प्रतिस्पर्धा जरुरी छैन। प्रतिस्पर्धा त मानसिक रोग हो। त्यसैले विद्यार्थी नानीहरूले पनि अरूका कुरा सुनेर, अरूका अपेक्षा पूरा गर्न तनाव लिएर पढ्नुभन्दा पनि आफ्नोभित्रको ब्रह्मले के भन्छ, आफू के बन्न चाहेको हो आफैं निणर्य लिएर अगाडि बढ्ने क्षमता राख्नुपर्छ। अरूका कुरा सुनेर द्विविधामा रहने होइन, स्वयंबाट निर्णय लिने बानीले तनावमुक्त हुन मद्दत गर्छ।

अतीतबाट मुक्त हुने

कतिपय अभिभावकलाई गत वर्षहरूमा आफ्ना नानीले राम्रो नतिजा ल्याएन भन्ने चिन्ता अझैसम्म बाँकी रहेको हुन्छ भने कतिपय विद्यालयलाई पनि गत वर्षको नतिजाले विद्यालय उत्कृष्टताको सूचीमा परेन भन्ने चिन्ता सँगालेर बसेका हुन्छन्। विद्यार्थी स्वयंलाई मैले गत परीक्षामा राम्रो अंक ल्याउन सकिन अब त झनै सक्दिन होला भन्ने हीनताबोध भएको हुन सक्छ। ‘जो भयो सो भयो’ अब कसरी आफ्नो तर्फबाट मेहनत, लगनशील भएर राम्रो गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ।

अभिभावकले पनि विगतका असफलतालाई स्मरण गर्ने बानी छोडेर वर्तमानमा कसरी आफ्ना नानीहरूलाई प्रेरणा मिल्छ त्यतातिर ध्यान दिनुपर्छ। कैयन् महापुरुष, वैज्ञानिक, सन्तहरूका उदाहरण छन्, जसलाई समाजले नालायक मानेका उनीहरू पछि गएर आफ्नो आत्मविकास मात्र गरेनन्, राष्ट्रकै नाम चिनाउन सफल भएका छन्।

अरूले के भन्छन् ?

‘सबसे बडा रोग क्या कहेंगे लोग’ भने झैं’ अरूले के भन्लान् भन्ने डर, चिन्ता र हीनताबोधले व्यक्ति सधैं तनावग्रस्त हुन्छ। आफ्नो रुचि एकातिर हुँदाहुँदै पनि अभिभावकले के भन्लान् ? गायक हुने मेरो इच्छा र रुचिको विषय छ, आमाबुवा डाक्टर बनाउन चाहन्छन्। समाजको प्रतिष्ठित व्यक्ति मेरा बुवा, उहाँका छोरा डाक्टर नै बन्नुपर्छ भन्ने मान्यता छ। म गायक भएँ भने समाजले के भन्ला ? यस्तैयस्तै धेरै उदाहरण छन्, जसले गर्दा आफ्नो रुचिअनुसारको निर्णय लिनेभन्दा पनि मेरो करियरले मेरो परिवार, मेरो विद्यालय, मेरो समाजलाई के अर्थ राख्छ त्यतातिर ध्यान दिनुपर्ने सामाजिक मान्यताले व्यक्तिको आत्मविकास नै रोकिएका धेरै उदाहरण भेटिन्छन्। यस्तै तनाव मिल्ने शिक्षा र संस्कार दिँदै जाने हो भने हाम्रा नानीहरू यता न उता हुन बेर लाग्दैनन्। नानीहरूले पनि अरूले के भन्लान् भनेर अरूका लागिभन्दा पनि आफ्नै खुसी र आफ्नो सत्मार्गका लागि जुन कुराले प्रेरित गर्छ त्यतातिर ध्यान दिनुपर्छ।

 मानसिक थकान

मानसिक रूपमा अनेक प्रकारका विचार खेल्नु र अनेक जिम्मेवारी आफूले पूरा गर्नु छ भन्ने मानसिक थकान महसुस गर्ने हुँदा धेरैजसो विद्यार्थीहरू तनावग्रस्त हुन पुग्छन्। विद्यालयले परीक्षा नजिकिँदै गर्दा मात्र कोचिङ, ट्युसन, अतिरिक्त कक्षा, क्लास टेस्ट आदि राखेर कार्यभार धेरै थोप्नु अनि अभिभावक पनि परीक्षा नजिक आएपछि २४ सै घन्टा किताब समातेर बसिदिए हुन्थ्यो जस्तो गर्नुले स्वभावतः तनाव पैदा हुन्छ नै।

तयारी भनेको परीक्षाको समयमा मात्रै होइन कि अगाडिदेखि नै थोरै–थोरै समय छुट्ट्याएर पढ्ने, बीचबीचमा खेल्ने, दौडने, संगीत सुन्ने र आफूलाई स्वस्थ, फूर्तिलो र जाँगरिलो राख्न समय दिने या सिकाउने गर्नुपर्छ। अनावश्यक व्यस्त हुँदा स्मरण शक्ति बढ्ने होइन बरु घट्छ। ४० मिनेट पढेपछि २० मिनेट आराम गर्ने या अतिरिक्त क्रियाकलाप र ध्यान गरेर शारीरिक र मानसिक रूपमै तनावमुक्त हुन जरुरी छ। दैनिक छोटो–छोटो समयको ध्यान र प्राणायामले विद्यार्थीलाई स्फूर्त राख्छ। ध्यानले मानसिक तनावबाट बचाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.