पहिरोले बस्ती जोखिममा
कालिकोट : कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ र २ को सेरीज्युलामा पहिरोका कारणले बस्ती नै विस्थापित भएको छ । निरन्तर वर्षा र डोजरले सडक खनेपछि कमजोर भएको चट्टान भाँसिदा बस्ती नै जोखिममा परेको हो ।
ग्रामीण कृषि सडक निर्माण गर्दा डोजर प्रयोग भएको र निरन्तर वर्षाका कारण कमजोर जमिन भासिएर चट्टान गाँउतिर खस्न लाग्दा सेरीज्यूलाको बस्ती जोखिममा परेको वडा अध्यक्ष भरत बिकले बताए । उनले भने-'गाउँमाथिको कडा चट्टानबाट ठुलो ढुंगा खस्न लागेको छ, ढुंगाले दिन प्रति दिन जमिन छोड्दै गएकाले स्थानिय नागरिक त्रसित भएका छन् '
गाउँमाथिबाट पहिरो आउने खतरा बढेपछि स्थानीय २५ घरपरिवार अहिले गोठमा बस्न थालेको शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । उनले भने, 'अहिले त्यो गाउँका २५ घरपरिवार गोठ र आफन्तकोमा बस्न थालेका छन् ।'
उच्च जोखिम रहेकाले बस्तीलाई सुरक्षित गर्न ढुंगा फुटाउनुपर्ने भएकाले रक्षा मन्त्रालय र गृहमन्त्रालयमा आग्रह गरिएको गाँउपालिका अध्यक्ष शाहीले बताए । ढुंगा फुटाउनका विष्फोटक पदार्थ आवश्यक भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रालयमा आग्रह गरिएको छ । उनले भने, 'अहिले गाउँ नै उच्च जोखिममा रहेका कारणले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ ।'
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले गाँउनै जोखिममा पारेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्मा, नेपाली सेनासहितको टोलीिले स्थगत निरीक्षण गरी बिस्फोट गराउन गृहमा पहल गरिएको बताए । उनले उक्त ढुंगाले गाँउ, स्वास्थ्य चौकी र विद्यालयलाई जोखिममा पारेको बताए ।