संसदसम्म पुग्यो पशुपति शर्माको 'लुट्न सके लुट'
काठमाडौं : चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा संसदमा पनि पुगेको छ । देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको हो ।
नेकपा र नेपाली कांग्रेसका सांसदहरु यो गीतलाई लिएर संसदमा घोचपेचसहितको बहसमा उत्रिएका हुन् । सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहबीच यो गीतलाई लिएर घोचपेचसहितको विवाद भएको हो ।
सत्तारुढ दल नेकपाको युवा संगठनसहितको दबाबमा शर्माले युट्युबबाट गीत हटाएको भन्दै कांग्रेसका सांसद सिंहले संसदमा कुरा उठाएपछि बहस भएको हो । सिंहले बैठकको शून्य समयमा आफ्ना कुरा राख्दै गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने पनि बताए ।
सिंहले कटाक्षको शैलीमा सत्तारुढ दल र सरकारमाथि व्यंग्य गरेपछि बहस अघि बढेको थियो । त्यसपछि सत्तारुढ दल नेकपाका सांसद रावलले सिंहलाई पुरस्कार दिने बताए । रावलले पुरस्कार घोषणा गर्ने सांसदले पशुपति शर्माको उक्त गीत संसद्मै गाएमा एक महिनाको तलब दिने घोषणा पनि गरे ।
सांसद रावलले शर्माले अन्जानमा यस्तो गीत गाएको आफुहरुले बुझेको अवस्थामा प्रतिपक्षी सांसदले पुरस्कार नै घोषणा गरेपछि यो गीत गाउनुको रहस्य खुलेको पनि उनले बताए । 'पशुपति शर्माको गीतलाई सरकारले प्रतिबन्ध गरेको छैन', उनले भने, 'भगवान् पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन् ।'
सांसद रावलले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा गायक शर्माले नेपाललाई स्वर्गको संज्ञा दिँदै ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’बोलको गीत गाएको पनि स्मरण गराए ।
रावलले तिनै गायक शर्माले दुईतिहाइ बहुमतसहितको सरकारलाई अहिले भने यमराज, कुकुर र राक्षस भनेको बताउँदै आपत्ति जनाएका हुन् । सांसद रावलले शर्माको यो गीतले देश लुट्न प्रेरित गर्ने भन्दै कडा शब्दामा आपत्ति जनाए ।