तीन रुपैयाँमा पनि बिकेन तरकारी, ट्याक्टरले बारीमै जोतियो

तीन रुपैयाँमा पनि बिकेन तरकारी, ट्याक्टरले बारीमै जोतियो

धादिङ : बजार मूल्य भन्दा पन्ध्र गुणा कममा पनि नबिकेपछि बेनिघाट–रोराङ गाउँपालिका–५ विशालटारका किसानहरुले बारीमै ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका छन् । 

महिनौ मेहनत गरेर लगाएको तरकारीले लगानी उठाउनु त परको कुरा उल्टै खर्च बढाएर बेच्नुपरेपछि किसानहरुले बारीमै नष्ट गरेका हुन् । 

उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँ बढीमा किनिरहेको मुला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया/ब्यापारीले प्रतिकेजी तीन रुपैयाँमा पनि नलगेपछि किसानले बारीमै नष्ट गर्न बाध्य भएका हुन् ।

अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी विक्री नभएकाले काटेर बारीमै जोतिदिएको किसानहरुले बताएका छन् । ‘हजारौँ रुपैया खर्च र महिनौँ पसिना बगाएर गरेको खेती विक्री गर्दा लगानी नै नउठ्ने अवस्था आयो’, बेनिघाट विशालटारकी कृषक जुनामाया विशुरालले भनिन्, ‘बेच्नका लागि ढुवानी भाडासमेत आफुले हाल्नु पर्ने अवस्था आयो, लगानी उठ्ने भएपछि नयाँ सिजनको खेती गर्दा मलका लागि ट्रयाक्टर लगाएर जोत्यौँ ।’

धान नरोपी तरकारी लगाएका किसानहरु विक्री नहुँदा समस्यामा परेका छन् । अघिल्लो वर्ष तरकारी खेतीबाटै ९ लाखसम्म आम्दानी गरेका किसानले यो वर्ष बारीमै नष्ट गर्नुपर्ने अवस्था आएको हो । 

धादिङको विशालटारमा १२ जना किसानले २२ रोपनी जग्गामा बन्दाकोपी र मुला लगाएका थिए । अघिल्लो लटमा केही विक्री गरेपनि पछिल्लो समय मूल्य नपाउँदा बाँकी रहेको बन्दा खेतीमा ट्रयाक्टर लगाएका हुन् । 

सरकारले बारी बाँझो राख्न नपाउने नियम ल्याइरहेका बेला खेती गरेकै जग्गामा ट्रयाक्टर लाउनुपर्दा किसानहरु आक्रोशित भएका छन् । ‘सरकार भने जमिन बाँझो राखे जरिवाना गर्नुपर्छ भन्दैछ’, अर्की कृषक निर्मला विशुरालले भनिन्, ‘हामीले महिनौ मेहनत गरेको उब्जनी बिक्री गर्न नसकेर बारीमा काटेर फाल्नुपरेको अवस्थामा छ ।’

टिप्ने ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गन किसानले तरकारी नष्ट गर्न थालेका हुन् । बिक्री नभएको तरकारी नष्ट गर्नसमेत ज्याला दिनुपरेको स्थानीय किसानको गुनासो छ । विशालटारका केही किसानहरु तरकारीको भाउ आउने आशमा कुरिरहेका छन् भने हिउँदे तरकारीमा घाटा व्यहोरेका किसान बर्खे तरकारीबाट आम्दानी हुने आशामा छन् । 

‘विगत वर्षमा यही तरकारीबाट राम्रो आम्दानी हुन्थ्योे । मैले तीन छोराछोरीलाई  तरकारी खेती गरेर डिग्री पढाएँ’, कृषक राजकुमार विशुरालले भने, ‘पछिल्ला वर्ष तरकारी विक्री गर्न साह्रै समस्या भएको छ । विचौलियाको मनोमानीले हाम्रो पसिना खेर गएको छ ।’ 

सरकारले विचौलिया नियन्त्रण गर्न नसके विशालटार आसपासमा तरकारी खेती गरेर परिवार पालिरहेका किसान यो पेशाबाट पलायन हुने अवस्थामा पुगेको विशुरालले बताए ।

धादिङमा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ । स्थानीय किसानले भन्दा भारतबाट ल्याएका तरकारीले बजार लिने भएकाले किसानको मेहनत खेर जाने गरेको छ । 

‘भारतबाट तरकारी सस्तोमा आयात गर्दा विशालटारका किसानका मात्रै होइन अन्यत्रका किसानहरुको पनि अहिलेको सिजनको उत्पादन काउली, मुला, बन्दा विक्री नभएर बारीमै सढिरहेका छन्’, कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटाले भने, ‘खुल्ला सिमाना भएकाले तरकारी आयातमा कडाइ गर्न सकिरहेको छैन ।

’तरकारी खेती प्रवर्द्धन गर्न ‘तरकारी जोन’ कार्यक्रम सञ्चालन गरेकै क्षेत्रमा नबिकेर नष्ट गर्नुपर्ने अवस्था आउँदा किसान दुखित बनेका छन् । बिचौलियाको मनोमानीका कारण पटक–पटक मूल्य नपाउँदा किसानले बारीमै नष्ट गरिरहँदा सरोकारवलाको ध्यान गएको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.