नेपाल आज मलेसियासँग भिड्दै
काठमाडौं : टट्वेन्टी र एकदिवसीय विश्वकप दुवैको छनोट प्रतियोगिताको रूपमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) वुमन्स क्वालिफायर एसियाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ। स्थानीय समयअनुसार बिहान ९ :३० बजे सुरु हुने खेल थाइल्यान्डको राजधानी बैंककस्थित टर्ड थाई क्रिकेट मैदानमा खेलिनेछ।
नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो खुड्किलो हो। २० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्टे«लियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने ५० ओभर क्रिकेटको विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको छ। सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने छनोट प्रतियोगितामार्फत शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नेछन्।
अन्तिम चरणको छनोट प्रतियोगिता हुँदै टीट्वेन्टी र एकदिवसीय विश्वकप खेल्ने सपनासहित एसियाली छनोट प्रतियोगिता खेल्न थाइल्यान्ड पुगेको नेपाली टोलीले त्यो सपना पूरा गर्न भने निकै मेहनत गर्नु पर्नेछ। प्रतियोगितामा एसियाका एसोसिएटतर्फका शीर्ष सात टोलीको सहभागी रहेको छ र त्यसमा आयोजक थाइल्यान्डले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर ठूलो अन्तरले पराजित गर्दै आएको छ।
करिब एक महिनाअघि मात्रै थाइल्यान्डमै आयोजना भएको वुमन्स टीट्वेन्टी स्म्यास प्रतियोगिताको फाइनलमासमेत नेपाली टोली थाइल्यान्डसँगै ७० रनले पराजित भएको थियो। त्यसअघि मंगलबार हुने खेलमा मलेसियाविरुद्ध सहज जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्ने अपेक्षा गरिएको छ। टीट्वेन्टी स्म्यास प्रतियोगिताको समूहगत चरणमा पनि नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले मंगलबार पनि त्यस्तै जितको नतिजा दोहोर्याउने अपेक्षा गरिएको छ।