उपचार गर्न स्वास्थ्य शिविर पुगेका विरामीको लडेर मृत्यु
राजविराज : राजविराजमा सञ्चालित बृहत स्वास्थ्य शिविरमा मंगलबार एक बिरामीको मृत्यु भएको छ । राजबिराज नगरपालिका–५ स्थित प.वि. मावि प्राङ्गणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले चलाएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका कञ्चनरुप नगरपालिका–६ धर्मपुर बस्ने ६२ वर्षीय गंगा मोचीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उपचारका लागि गएरातिदेखि नै शिविरस्थलमा रहेको विद्यालय भवनमा सुतेका मोचीको आज बिहान पिसाव गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।
मृतक मुटु, पायल्स र टिबी रोगबाट ग्रसित रहेको र उपचारका लागि राजविराज आएको मृतककी श्रीमति धनेश्वरी मोचीले बताइन् । शिविरमा हालसम्म आठ हजार नौ सय ५४ जना विरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएकामा एक सय ८२ जनाले शल्यक्रिया गराएको अस्पतालले जनाएको छ ।
शिविरमा छाति, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्री रोग विशेषज्ञ साथै सर्जन डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघर सम्बन्धी शल्यक्रिया गरिँदै छ ।
मोबाइल अस्पतालसहित आएका एक सय २६ जना विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट ठूलो संख्यामा बिरामीहरुको भीड लागेको छ ।
राजविराजमा गत फागुन १ गते एक समारोहबीच उपप्रधान एमव् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।