देउवाको गृहजिल्लामा विद्युत् सब–स्टेशन उद्घाटन गर्दै ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको यात्रामा निस्केका छन् । ६९ औँ प्रजातन्त्र दिवस कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली सुदूरपश्चिमको भ्रमणमा निस्केका हुन् ।
प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । प्रधानमन्त्री ओली सुदूरपश्चिमको अस्थायी राजधानी आज धनगढी हुँदै आजै डडेलधुरा पुग्ने भएका छन् ।
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरास्थित स्याउलेमा रहेको विद्यतु सव–स्टेशनको मंगलबार दिउँसो उद््घाटन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए ।
यसैगरी प्रधानमन्त्रीले दिउँसो साढे ३ बजे डोटीको बिपी नगरमा सहजपुर–बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । बुधबारै बिहान ११.३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिमस्तरीय कार्यकर्तालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री बुधबार नै काठमाडौं फर्कने अधिकारीले बताए ।