नेपाल भ्रमणमा रहेका गायक सोनु निगम बिरामी, अस्पताल भर्ना
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय गायक तथा संगीतकार सोनु निगम अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। निगमलाई मंगलबार दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो।
भ्रमणका क्रममा पोखरामा रहेका बेला ४६ वर्षीय गायक निगमलाई ढाडमा अत्यधिक दुखाई भएपछि आजै काठमाडौं ल्याइएको अस्पतालले जनाएको छ।
एक्युट ब्याक पेन (ढाडको अत्यधिक दुखाई) देखिएकाले निगमलाई भीआइपी वार्डमा राखेर उपचार भइरहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन डीजीएम रामप्रसाद मैनालीले अन्नपूर्णलाई जानकारी दिए।
उनलाई एक्स रे गरी औषधि दिइएको उनले बताए। आजै एमआरआइको रिपोर्ट आएपछि निगमलाई डिस्चार्ज गर्ने/नगर्नेबारे चिकित्सकले निर्णय लिने उनले बताए।