मन्दिरको जग्गा मिचेर खेल मैदान
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका ३ मा रहेको लटिनाथ मन्दिरको जग्गा मिचेर खेल मैदान निर्माणकार्य सुरु भएको छ।
वडा कार्यालयले राष्ट्रपति रनिङ शिल्ड सचांलनका लागि खेल मैदान निर्माण सुरु गरेको हो।
मार्मा गाउँपालिका ३ कोे सहकार्यमा १० लाख रकम विनियोजन गरी मन्दिरको जग्गा मिचेर खेल मैदान निर्माण सुरु भएको हो।
ऐतिहासिक पौराणिक गाथा बोकेको लटिनाथ मन्दिर क्षेत्रलाई मिचेर खेल मैदान बनाउन सुरु गरेपछि स्थानीय आक्रोशित भएका छन्। मन्दिरको क्षेत्रलाई मिचेर खेल मैदान निर्माण गरेको भन्दै विरोधमा उत्रिएको स्थानीय धिरज विष्टले जानकारी दिए।
स्थानीयले विरोध गर्दागर्दै खेल मैदान निर्माणको काम धमाधम भइरहेको छ। ‘खेल मैदानका लागि मार्मा गाउँपालिका ४ तपोवनमा खुला मैदान हुँदाहुँदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण हुदै छ’, विष्टले भने, ‘मार्मामा खेलकुद क्षेत्रको विकास गर्ने नै हो भने तपोवनको खुला मैदान काफी छ।’
जेसीबी लगाएर मन्दिरको जग्गामा रहेका रुख उखेल्ने काम भइरहेको विषय सम्बन्धित कार्यालयमा जानकारी गराएको भए पनि कुनै सुनुवाइ भएको छैन।