आन्तरिक विवादले अन्योलमा कांग्रेस
काठमाडौं : भ्रातृसंगठन नेविसंघ विघटन तथा नयाँ विधानमा सहमति जुट्न नसक्दा कांग्रेस अन्योलमा छ। शीर्ष नेताबीचको टकरावका कारण महासमितिले पारित गरेको विधानलाई कांग्रेसले अन्तिम रूप दिन सकेको छैन।
महासमिति सकिएको एक महिनापछि पटक–पटक केन्द्रीय समिति बैठक बसे पनि विधान टुंग्याउन सकेको छैन। कांग्रेस बैठक बिहीबार बस्दै छ। महासमिति बैठकले पार्टी विधान केन्द्रीय समितिबाट पारित गर्न निर्देशन दिएको थियो। केन्द्रीय समिति महाधिवेशन प्रतिनिधि तल्लो तहबाट चुनिने कि सीधै बन्न पाउने भन्नेमा विभाजित छ। सभापति देउवा पक्ष वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाउँदै आएको तल्लो तहबाट निर्वाचित भएर आउने विषयमा सहमत भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधान र नेविसंघ महाधिवेशनबारे साताभित्रै टुंगो लगाउने गरी गृहकार्य भइरहेको बताए। ‘सभापति, वरिष्ठ नेतासहित नेताबीच अनौपचारिक कुराकानी भइरहेको छ। चाँडै टुंगो लाग्छ’, शर्माले भने।
शीर्ष नेतृत्व नेविसंघमा आफू पक्षधरलाई ल्याउन कसरतमा छन्। दुई पटकसम्म बढाइएको म्याद सकिएपछि कांग्रेसले नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई भंग गरेको थियो।
सभापति देउवा नेविसंघको तदर्थसहित गठनका विषयमा वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेतृत्वसँग अनौपचारिक संवादमा रहेको प्रवक्ता शर्माले बताए। अनुशासन समिति गठनका लागि देउवाले राखेको प्रस्तावमा निर्णय भएको छैन। महाधिवेशन सकिएको तीन वर्ष पुग्नै लाग्दा पनि देउवाले पार्टीका विभागसमेत गठन गर्न सकेनन्। सभापति भएको दुई वर्षपछि वैशाखमा देउवाले पार्टीका पदाधिकारी मनोनीत गरे।
देउवाविरोधी पक्षले सदस्यता वितरण तथा जिल्ला अधिवेशन सुरु गर्न माग गरे पनि सुनुवाइ भएको छैन। कांग्रेसले प्रादेशिक संरचनामा पार्टीलाई रूपान्तरण गर्न सकेको छैन। स्थानीय तहमा पार्टी समितिको समायोजन प्रक्रिया अघि बढे पनि अधिवेशन अन्योलमा छ। सरकारका विवादास्पद निर्णय र कार्यशैलीमा समेत चुप बसेको भन्दै सुस्त प्रतिपक्षको आरोप लाग्न थालेको छ।