अब्बल स्कुल अलपत्र
भक्तपुर : भक्तपुर नगरपालिका–३ स्थित मेधा माविमा अरू सरकारी स्कुलमा झैं विद्यार्थी कम छैनन् । पुरानो भवनमा भूकम्पले क्षति पुर्याए पनि अर्को साँघुरो भवनमा पठनपाठन भइरहेको छ । ५ सय ७७ विद्यार्थी छन् ।
यहाँ निजी स्कुलसरह प्लेग्रुप, नर्सरी, केजीको थप व्यवस्था छ । कक्षा ८, ९ र १० मा दुई–दुई सेक्सन छन् । स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । एसएलसीमा १५ वर्षसम्म शतप्रतिशत नतिजा आयो । एसईईमा मेधा जिल्लाकै उत्कृष्ट बन्यो । यो वर्ष ५५ विद्यार्थीले एसईई दिँदै छन् ।
तर, यही स्कुलको भवन पुनर्निर्माण भएको छैन । एक विदेशी दाताले ७० लाख रुपैयाँ दिने वचन दिएका थिए । उनी रोटरी क्लब अफ भक्तपुरका पूर्वअध्यक्ष रवीन्द्र पुरीको माध्यमबाट स्कुलको सम्पर्कमा आएका थिए । दाता मनाउने काम भइरहेको पूर्वअध्यक्ष पुरीको भनाइ छ ।
सरकारले एक वर्षअघि पुनर्निर्माणका लागि १ करोड बजेट दिएको छ । तर, ३ करोड २५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रधानाध्यापक गंगाधर हाडाले बताए । उनका अनुसार सरकारी बजेट पेस्कीस्वरूप २६ लाख स्कुलको खातामा जम्मा भइसकेको छ । तर, काम अघि बढाउन हिम्मत नजुटिरहेको उनले बताए । ‘स्कुल चारैतिर निजी घरसँग जोडिएको छ’, उनले भने, ‘भूकम्पको भग्नावशेष हटाउनासाथ धमाधम निर्माण अघि बढाउनुपर्छ ।’
लागत इस्टिमेटअनुसार जगमै २६ लाखभन्दा बढी खर्च हुनेछ । त्यसमाथि सरकारको पैसा लिने प्रक्रिया झन्झटिलो भएकाले काम सुरु गर्ने पक्षमा आफू नरहेको उनको भनाइ छ । ‘जग मात्र हालेर अरू काम रोक्नुपर्ने स्थिति आए छिमेकीका घरमा असर पर्छ’, उनले भने, ‘यस्तो अवस्थामा छिमेकीका घरको जिम्मा कसले लिने ? ’
रोटरी क्लब अफ भक्तपुरले ३० लाख रुपैयाँ सहयोग गर्ने भनेको छ । तर, त्यसको पनि टुंगो लागेको छैन । सरकारी बजेटको काम आगामी असारभित्र गरिसक्नुपर्छ । असारभित्र काम नभए बजेट फ्रिज हुन्छ । भूकम्पले क्षति पुर्याएको भवनको भग्नावशेष हटाउन बाँकी छ । छिमेकीका घरलाई सुरक्षित पारी भग्नावशेष हटाउन सजिलो नभएको उनले सुनाए ।
उम्कियो २ करोडको परियोजना
भक्तपुर नगरपालिकाले नक्सा पास गर्न ढिलाइ गर्दा थप समस्या भएको छ । स्कुलले नक्सा पेस गरेको एक वर्षपछि मात्रै नरपालिकाले पास गरेको थियो । माटो परीक्षण गर्न पनि ढिलाइ हुँदा रोटरी क्लबले दिने भनेको २ करोड रुपैयाँको परियोजना अन्तै गएको भक्तपुर रोटरीका पूर्वअध्यक्ष ओमकृष्ण श्रेष्ठले सुनाए । ‘२ करोडको योजना पार्न नसकेकाले कम्तीमा ३० लाख रुपैयाँ भए पनि ल्याउने प्रक्रिया अघि बढाइरहेका छौं’, उनले भने, ‘पुनर्निर्माणको काम सुरु भएपछि उक्त रकम आउँछ । तर, काम सुरु गर्न समस्या देखियो ।’
सरकारी स्कुल सम्बन्धित नगरपालिका मातहत आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोरा वडाध्यक्ष भइसकेका छन् । तर, स्कुल पुनर्निर्माणमा नगरपालिका र वडा दुवै मौन छन् । ‘व्यवस्थापन समितिकै बैठकमा स्कुल भवन पुनर्निर्माण गर्न आर्थिक समस्या भएको कुरा धेरै पटक उठाएका छौं’, प्रधानाध्यापक हाडाले भने, ‘तर, समितिका अध्यक्ष एवं वडाध्यक्षले कुरा सुनेर कारबाही गर्नुभएको छैन । नगरपालिकाले चाहे सहयोग गर्न सक्छ ।’
५० भन्दा बढी विद्यार्थीले एसईई दिएपछि शिक्षा मन्त्रालयले केन्द्रीयस्तरको मूल्यांकन गर्छ । सोही मूल्यांकनका आधारमा स्कुलले सरकारी अनुदान पाउँछ । यही वर्ष अनुदान पाउने विश्वास रहेको प्रधानाध्यापक हाडाले बताए । ‘आवश्यकताले कुनै सहयोग पाइँदैन भने क्षमता देखाएरै प्राप्त गर्ने उद्देश्यसाथ हामी अघि बढिरहेका छौं’, उनले भने । एसएलसीमा गरेको प्रगतिका आधारमा अघिल्लो वर्ष तत्कालीन जिल्ला शिक्षा कार्यालयले २ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।
विद्यार्थी भर्ना गर्न दबाब
जिल्लाकै अब्बल स्कुल भएकाले मेधा अभिभावकको रोजाइमा पर्दै आएको छ । उनीहरू छोराछोरीलाई निजीबाट झिकेर यहाँ ल्याउँछन् । जिल्ला शिक्षा अधिकारीसम्मले विद्यार्थी भर्ना गर्न दबाब दिए पनि ठाउँ अभावमा लिन नसकिएको हाडाको भनाइ छ । ‘ठाउँ नभएर धेरै विद्यार्थीलाई फर्काएका छौं’, उनले भने, ‘जिल्ला शिक्षा अधिकारीसँग त माफी माग्नुपर्यो । उहाँले सिफारिस गर्नुभएको विद्यार्थीलाई भर्ना गर्न सकिएन ।’
कक्षाकोठा पर्याप्त नहुँदा संगीतशाला, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबलाई खुम्च्याउनुपरेको उनले सुनाए । नगरपालिकाले सहयोग गरे थप ३ सय विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ छ ।
सरकारीभन्दा निजी शिक्षक बढी
विद्यार्थीको चापअनुसार सरकारले दरबन्दी दिएको छैन । स्कुलमा दरबन्दीका १९ शिक्षक छन् । तर, स्कुलले निजी लगानीमा २२ शिक्षकको व्यवस्था गरेको छ । नगरपालिकाले थप दुई शिक्षक काजमा पठाएको छ ।
यहाँ बिहान ७ देखि बेलुका ८ बजेसम्म कक्षा सञ्चालन हुन्छ । सरकारी शिक्षक बिहान १० देखि अपराह्न ४ बजेभन्दा बढी समय बस्न गाह्रो मान्छन् । ‘दरबन्दीका शिक्षकलाई ओभरटाइमको पैसा दिन्छौं भन्दा पनि कार्यालय समयभन्दा बढी बसाउन सकिएन’, उनले भने, ‘सरकारी शिक्षकमा जागिरे मानसिकता बसिसक्यो ।’ शिक्षकको मानसिकता परिवर्तन गर्न सके सरकारी स्कुलसँग निजीले प्रतिस्पर्धा गर्नै नसक्ने उनको दाबी छ ।