सभापति देउवाको आक्रोश : कांग्रेस कोइराला परिवारको बपौती होइन

सभापति देउवाको आक्रोश : कांग्रेस कोइराला परिवारको बपौती होइन

वीरगन्ज : नेपाली कांग्रेसको भावी नेतृत्वलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र कोइराला परिवारबीच विवाद सुरु भएको छ । कांग्रेसको आगामी महाधिवेशनको मिति टुंगो नभएको अवस्थामा नेतृत्व हत्याउन दुई पक्षबीच अहिलेदेखि नै विवाद सुुरु भएको हो ।    

गत शनिवार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर कोइराला परिवारका तीन नेताहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । 

जिपी कोइराला फाउन्डेसनको उक्त कार्यक्रममा कोइराला परिवारका तीनै नेताले सभापति देउवाका कारण पार्टी कमजोर बनेको आरोप लगाउँदै अब बलियो बनाउन एक भएको जिकिर गरेका थिए । 

उनीहरुले आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि शेखर र शशांकमध्ये एकजना अगाडि सर्ने संकेत पनि गरेका थिए । तर कोइराला परिवारका नेताहरुले सभापति देउवाविरुद्ध एक भएको अभिव्यक्ति दिएको चार दिन नबित्दै बुधबार वीरगन्जमै सभापति देउवा र उनको पक्षका नेताले पार्टी कोइराला परिवारको बपौती नभएको बताएका हुन् । 

कांग्रेस पर्साले गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस पार्टी कोइराला परिवारको बपौती नभएको बताए । ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो’, उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ 

‘कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान छ, यो हामीले पनि स्वीकार्छौँ’, देउवाले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँडदैछन् ।’

नेता शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको देउवाले आरोप लगाए । ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ? मण्डलेहरुले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’, देउवाको प्रश्न थियो, ‘पार्टीका लागि कुनै योगदान नै नगर्ने अनि अहिले कोइरला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर शेखरले जथाभावी बोल्दै हिँडेका छन् ।’  

पार्टीविरुद्ध जथाभावी बोल्दै हिँड्ने शेखरलाई कारबाही गर्ने चेतावनी पनि उनले दिए । कांग्रेस भित्र अराजकता र अनुशासनहीनता बढ्दै गएको भन्दै सभापति देउवाले अनुशासनहीन र अन्तरघातीकै कारण विगतको निर्वाचनमा कांग्रेसले होर व्यवहोर्नु परेको बताए ।  अनुशासनहीन र अन्तरघार्तीलाई कारबाही नभएसम्म कांग्रेस अब अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

‘जबसम्म अन्तरघातीलाई कारबाही हुँदैन, तबसम्म पार्टीको भविष्य पनि हुन्न’, उनले भने, ‘अन्तरघाती र अनुशासनहीन नेतालाई कुनै पनि हालतमा कारवाही हुनै पर्छ र त्यो  समय पनि अब आइ सकेको छ, म त्यसका लागि तयार छु ।’

कार्यक्रममा देउवा पक्षकै नेता एवम् सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पनि नेताहरुमा पार्टीको अनुशासन तोड्ने र अन्तरघात गर्ने प्रवृत्ति हाबी हुँदै गएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.