यौन दुर्व्यवहार आरोपित सहायक डीन साह निलम्बित
काठमाडौं : यौन दुर्व्यवहार आरोपित त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बबालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले निलम्बन गरेको छ। बुधबार बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गरेको हो।
यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने काम गरेको भन्दै उनलाई पदबाट निलम्बन गर्ने निर्णय परिषद्ले गरेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाँले पुष्टि गरे।
उनका अनुसार निलम्बनमा परेका साह अर्को निर्णय नभएसम्म त्रिविमा कुनै पनि जिम्मेवारीमा रहने छैनन्। साहविरुद्ध परेको उजूरी, पीडितसँगको सोधपुछ लगायतका आधारमा उनलाई निलम्बन गरिएको खनियाँले जानकारी दिए।
‘यस विषयमा थप अनुसन्धान हुन्छ’, खनियाँले भने, ‘प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गर्ला।’