झापा-११, ५-० ले पराजित : डफिन्स सेमिफाइनलमा
बुटवल : झापा-११ लाई ५-० को फराकिलो गोलअन्तरले पराजित गर्दै क्यामरुनको डफिन्स फुटबल क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा झापालाई स्तब्ध बनाउँदै डफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
झापामाथि लगातार दबाब सिर्जना गरेको डफिन्सले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो। झापाका गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै डफिन्सका यानिक ओनाले हेड गोल गरेका थिए।
दोस्रो हाफको ५०औं मिनेटमा डफिन्सका पेटङ्गाले गोल अन्तरलाई दोब्बर बनाए। त्यसलगत्तै झापाका पूजन उपरकोटीलाई लडाएपछि दोहोरो पहेँलो कार्ड पाउँदै डफिन्सका एयुरेल इनामी मैदानबाट बाहिरिए पनि गोल गर्ने क्रम भने रोकिएन।
७३औं मिनेटमा नियाले झापाका गोलरक्षक अघि बढेको मौकामा बललाई जाली चुमाए। ७४औं मिनेटमा डिबेर टिनाले खाली पोस्टमा सुन्दर गोल गरे।
यस्तै खेलको ८८औं मिनेटमा वियिकले मैदानको मध्यभागबाट प्रहार गरेको बलले सीधै जाली चुम्दा झापा ५-० ले पराजित हुन पुग्यो। वियिक खेलको म्यान अफ दी म्याचसमेत बने।
जारी सिजनमा मोफसलका दुई गोल्डकप उचालिसकेको डफिन्सले फाइनल प्रवेशका लागि शुक्रबार आयोजक रूपन्देही-११ को सामना गर्नेछ।
प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम क्वार्टरफाइनल खेल मनाङ मस्र्याङदी र च्यासल युथ क्लबबीच हुनेछ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भइरहेको प्रतियोगिताका विजेताले आठ लाख ८० हजार र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक रूपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए।