एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डको कीर्तिमानी जित
ब्रिजटाउन : इङ्ल्यान्डले बुधबार राति खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजमाथि ६ विकेटको कीर्तिमानी जित हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले पाँच खेलको शृंखलामा १-० को अग्रता पनि लिएको छ। टस जिती पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ६० रन बनाएको थियो। वेस्ट इन्जिडले एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डविरुद्ध बनाएको यो सबैभन्दा ठुलो अंक थियो।
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ४८.४ ओभरमै केवल चार विकेट गुमाएर तीन सय ६४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो। एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डले पार गरेको यो सबैभन्दा ठुलो विजय लक्ष्य हो।
यसैगरी एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीले पुरा गरेको यो चौथो सबैभन्दा ठुला विजय लक्ष्य पनि हो। इङ्ल्यान्डले यसअघि सन् २०१५ मा ट्रेन्ट ब्रिजमा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर तीन सय ५० रनको लक्ष्य पुरा गरेको थियो।
इङ्ल्यान्डको जितमा दुई अनुभवी ब्याट्सम्यान जासन रोय र जोय रुटले सतकीय पाली खेले। ओपनर ब्याट्सम्यान रोयले केवल एक सय २३ र रुटले एक सय दुई रन बनाए। रोयले केवल ८५ बलको सामना गरी तीन छक्का र १५ चौका हिर्काए भने रुटले ९७ बलको सामना गरी नौवटा चौका प्रहार गरेका थिए।
कप्तान इयोन मोर्गनले पनि इङ्ल्यान्डको खातामा ६५ रन थपे। उनले ५१ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए। विकेटकिपर ब्याट्सम्यान जस बट्लरले क्रिजमा प्रवेश गर्नासाथ चौका हिर्काउँदै इङ्ल्यान्डलाई विजय लक्ष्य पार गराएका थिए।
त्यसअघि वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट सतकीय पाली खेले पनि जितका लागि त्यो पर्याप्त हुन सकेन। क्यारेबियन टोलीका लागि गेलले एक सय ३५ रन बनाएका थिए। ओपनर ब्याट्सम्यान गोलले एक सय २९ बलको सामना गरी १२ छक्का र तीन चौका हिर्काएका थिए।
इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार खेलिने छ।