फेसबुकमा डा. बाबुराम : नेता कि ब्रान्ड एम्बेस्डर ?
काठमाडाैं : सानैदेखि सुन्दैआएको एउटा जोक छ : 'तीन महिला विवाहको पार्टीमा जानुअघि आपसमा सल्लाह गरेछन् । पहिलो महिलाले सोधिन्, तिमीहरु कस्तो सारी लगाएर जान्छौ ? दोस्रो महिलाले भनिन्, आफ्नो श्रीमानको कपालको रंग रातो छ रातै सारी लगाउने । कलर म्याच गर्छ । तेस्रो महिलाले सोचेर भनिन् मेरो श्रीमानको कपालको रंग त कालो छ कालै सारी लगाउँछु । तब पहिलो महिलालाई पर्यो फसाद ! किन कि, उनको श्रीमानको टाउकाेमा त कपाल नै थिएन !’
सुन्दा रमाइलो लागे पनि आशय यसको गम्भीर छ । मान्छेहरु आवरणमा अल्झिएपछि यस्तै हुन्छ । अन्ततः उ समस्यामा नपुगेर सतहमै रुमलिन पुग्छ । यो प्रसंग नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुके फन्डामा पनि मिल्छ । कर्णाली क्षेत्रको खस क्षेत्रमा पुग्दा उनले दौरा सुरुवाल लगाएर फेसबुकमा अनेक रुप रंगका फोटो राखेर आफुलाई खसआर्य पुष्टि गर्न मेहनत गरे ।
यसको अन्तर्य के थियो भने, खसआर्य समुदायमा जाँदा डा. भट्टराईलाई पनि खसआर्य जस्तै देखिन मन लागेछ ! अर्थात् उनीहरुजस्तै बन्न मन लागेछ । ‘कागको बथानमा काग, बकुल्लाको बथानमा बकुल्ला’ भने झैँ । त्यसो भए भट्टराई यसअघि खसआर्य थिएनन् त ? उनको यो फेसबुके फन्डाले यस्तै त लक्षित गर्छ ।
‘पहिलो पटक’ को फन्डा
बाबुराम भट्टराई कर्णालीमा पहिलो पटक गएका हैनन् । दौरा सुरुवाल मात्रै पहिलो पटक लगाएका हुन् । यसअघि पुग्दा त्यहाँका खस दाजुभाइले लगाएका दौरा सुरुवाल नदेखेका पनि हैनन् । विदेशी पर्यटक हाम्रा हिमालतिर पुग्दा त्यहाँका शेर्पाको बख्खु लगाएर, उनीहरुसँग गाला जोडेर जस्तो सेल्फी खिच्छन् त्यस्तै देखिएन र पूर्वप्रधानमन्त्री तरिका पनि ? यो आफैँमा हास्यास्पद देखिन्छ ।
१० वर्षे युद्धको आधारभूमि हो कर्णाली क्षेत्र । त्यहाँका जाति, जनजाति, वेषभुशासँग भट्टराई परिचित पक्कै छन् । त्यति लामो समय त्यहीँ बिताएका नेताले फेरि ‘पहिलो पल्ट’को स्टन्ट देखाइरहनु जरुरी थिएन । जब कि त्यहाँका गरिब खसआर्यको दुख पूर्वप्रधानमन्त्रीले पहिरन लगाइदिएर हरण हुने पनि हैन ।
भट्टराई नेता कि ब्रान्ड एम्बेस्डर ?
नेपालकै उत्पादनलाई महत्व दिने भनेर डा. भट्टराईले मुस्ताङ गाडीको प्रयोग पनि गरेका थिए । मुस्ताङ सस्तो र मौलिक त थियो । बिडम्वना, उनको पछि पछि उनकै सुरक्षाका लागि अरु करोड बढीका गाडी गुड्न थाले ।
भट्टराईले मुस्ताङ चढ्नाले मुस्ताङ म्याक्स गाडीको बिक्री त बढ्यो अरु तात्विक परिवर्तन ल्याएन । यसले उनलाई अन्ततः मुस्ताङ गाडीको ब्रान्ड एम्बेस्डरमा सिमित गरिदियाे ।
भट्टराईको कमजोरी ‘स्टन्टवाजी’
डा. भट्टराईको कमजोरी दौरासुरुवाल वा नेपाली संस्कृति भन्दा पनि ‘स्टन्टवाजी’ नै हो । उनको गतिशिलतामा पनि समस्या देख्दिन म । समस्या त जहाँ गयो त्यही बनिदिने बानी र अपरिपक्व निर्णय । तराईमा जाँदा थारु वा मधेसी, हिमालमा जाँदा शेर्पा, पहाडमा जाँदा बाहुन बन्ने तरिकाले समग्र नागरिकको चेतना निर्माण र राजनीतिक परिवर्तनमा कहाँनेर टेवा पुर्याउँछ ? खासमा बाबुराम भट्टराई आफैँ हुन् के ? यस्तो तरिकाले उनलाई त सेलिब्रिटी चाहीँ पक्कै बनाएको छ । भरपर्दो नेताको रुपमा उभ्याउन सकेन ।
यदी भरपर्दो नेता भइदिएको भए पार्टी टुक्रिएर परिवारका सदस्य बराबर पार्टी केन्द्रीय सदस्य भइसक्ने थिएन । बक्खु, धोती, दौरा सुरुवाल जे सुकै पहिरनमा सजिएर सेल्फी खिच्दैमा समावेशीकरण हुन्छ भन्ने मानसिकता नै कमजोर हैन र ?
बाबुराम भट्टराईले समावेशीकरण चाहने कुरा आफ्ना लेख रचनामार्फत व्यक्त गरिसकेका छन् । पार्टीको संगठन सानै भए पनि त्यही अनुरुप समावेशीकरणको अभ्यास गरेका छन् । तर आवरणमा जब आफूलाई पुष्टि गर्न खोजिन्छ त्यहीँ हो चुक्ने पनि । जुन काम बाबुरामबाट बारम्बार हुँदैआएको छ । सबैले स्वभाविक जीवन बाँच्ने हो । यदी यस्ता पहिरनमा आफूलाई चिनाउन खोजिन्छ भने त्यो स्वभाविक रुपमा अभिनय बनिदिन्छ । त्यही अभिनय नेता भट्टराईले देखाए । सामाजिक संजालमा सेल्फी टाँसेर मान्छेलाई मख्ख पारिदिने । सस्ता कमेन्ट, लाइकमा रमाउने उनको यो आवरणको रमझमले उनलाई सतही बनाइदिएको छ ।
पहिरनकै विषयमा बोलिभियाका कम्युनिष्ट नेता इबो मोरालेसको स्वेटर निकै लोकप्रिय छ । उनले कसैलाई देखाउन वा कसैलाई केही पुष्टि गरिरहन लगाएका थिएनन् त्यो । रातो, सेतो र निलो रंगको एउटा स्वेटर उनले बर्षाैँसम्म निरन्तर लगाए । जुन स्वेटर त्यहाँका आदिवासी जनजातिहरुले परम्परागत घरबुना शैलीबाट तयार पारेका थिए ।
भट्टराईलाई यसबारे पक्कै जानकारी छ । तर पनि उनी आफूलाई पुष्टि गर्न किन यति धेरै मेहनत गरिरहन्छन् । अघिल्ला घटनाक्रम हेर्दा उनको दुख थाहा हुन्छ । धेरैले उनलाई खसआर्यविरोधी भनेर चिन्छन् । कर्णाली जानुअघि उनलाई पुष्टि गर्न मन लाग्यो कि, म खसविरोधी हैन भनेर । यो त अपरिपक्व ढाँचा नै भएन र डा’साब ? कर्णालीकाे दुख पहिरनमै अल्झिएकाे छ त ? त्यहाँ हरेक दिन भारी बाेकेर गुजारा चलाउने खसआर्यहरुले त्यस्तै तपाईँले लगाए जस्तै निलाे सफाचट दाैरा लगाएर फाेटाे खिचिरहन सम्भव छ ?
बाबुरामका अनेक औतारी शैली र प्रवृत्तिले अन्ततः व्यक्तिवादी तथा आत्मकेन्द्रित शैलीलाई नै मलजल गरिरहेका छन् । विज्ञान, प्रविधिको भरपुर उपयोग गर्ने र यसबाट सूचना लिने, ज्ञान निर्माण गर्ने सवालमा अरु सबैभन्दा अघि छन् डा. भट्टराई । तर उनका एकपछि अर्को फन्डाले संजालमै रमाएर संजालमै सिमित हुने हुन् कि भन्ने आशंका छ ।
अन्ततः जोकमा भनिए झैँ कपाल नै नभएका श्रीमानकी पत्नि के के लगाउने भनेर फन्दामा फसे झैँ कुनै दिन राज्यले सामाजिक संजाल नै प्रतिबन्ध लगाइदियो भने यो देशका प्रभावशाली नेता डा. भट्राईले कस्तो पहिरन लगाउने !