पुँजीगत खर्च ७ प्रतिशत मात्रै
बझाङ : सदरमुकाम चैनपुरको जयपृथ्वी नगरपालिकाले हालसम्म सात प्रतिशतमात्र विकास खर्च भएको छ । विकास निर्माण योजना तथा कार्यक्रमका लागि बिनियोजित रकमको न्यून मात्र खर्च भएको हो ।
जयपृथ्वी नगरपालिकाको वार्षिक बजेट ५१ करोड ६१ लाखमध्ये चालुतर्फ ५७ प्रतिशत रकम खर्च भइसकेको छ । कर्मचारी तलब र सामाजिक सुरक्षा भत्तासहितको यस वर्षको २५ करोड रकममध्ये १८ करोड एक लाख रकम खर्च भइसकेको छ । तर, पुँजीगत रकम २० करोड ३५ लाखमध्ये एक करोड ४४ लाख मात्र खर्च भएको नगरपालिकाले जनाएको छ । पुँजीगततर्फ सात प्रतिशतमात्र खर्च भएको नगरपालिकाका लेखा अधिकृत लालबहादुर खातीले बताए । ‘चालु आर्थिक वर्षमा वडा कार्यालयसहित नगरपालिकाबाट चार सयभन्दा बढी योजना र कार्यक्रम छन् । हालसम्म ४९ वटा योजना तथा कार्यक्रमसहित एक करोड रकम निकासा भएको छ । नगरपालिकाभित्र आएका प्रदेश र संघका योजनाको पनि काम हुन बाँकी छ’, लेखा अधिकृत खातीले भने ।
नगरपालिकाबाट सञ्चालन हुने नगर क्षेत्र पूर्वाधार कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रमसहित अन्य सानातिना योजना र कार्यक्रमको पनि अहिलेसम्म सम्झौता भएको छैन । कार्यालयबाट हुने केही कार्यक्रम कर्मचारीले गर्न सकिने भए पनि धेरैजसो जनसहभागितामा आधारित कार्यक्रम भएकाले खर्च गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
आइतबार भएको जयपृथ्वी नगरपालिकाको तेस्रो नगरसभामा पनि पँुजीगत खर्च कम भएकामा त्यसलाई बढाउन माग गरिएको थियो । ‘आर्थिक वर्ष सकिन पाँच महिना छ । हालसम्म सात प्रतिशतमात्र बजेट खर्च भएको छ’, जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्र खड्काले भने । ‘यसका लागि वडाध्यक्ष, वडा सदस्यसहित सबै जनप्रतिनिधि र उपभोक्तालाई ताकेता गरी सम्झौता गर्न निर्देशन भइसकेको छ ।’ नगरपालिकाले विगतमा पनि कार्यक्रम सञ्चालन गर्न उपभोक्तालाई पटकपटक सम्झौता गर्न सूचना दिँदा पनि उपभोक्ताबाट बेवास्ता भएको उनीहरूको दाबी छ ।