बेनीमा ब्याडमिन्टन प्रतियोगिता
बेनी : बेनीमा बिहीबारदेखि गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
गण्डकी प्रदेश र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सुरु भएको प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।
आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद् बिनोद केसीले उद्घाटन गरे। गण्डकी प्रदेशका ११ जिल्लाका ६७ खेलाडीले सहभागिता जनाएका छन्।
कालीपुलस्थित कवर्डहलमा सञ्चालन हुने प्रतियोगिताबाट ६ पुरुष र चारजना महिला खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए।
सांसद् केसीले गण्डकी प्रदेशका सबै स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान निर्माण सुरु भइसकेको जानकारी दिए।