अदालतको मुद्दाले सिक्टा सिँचाइ आयोजनाको काम नरोकिने
नेपालगन्ज : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले विशेष अदालतमा मुद्दा विचाराधीन हुँदा पनि सिक्टा सिँचाइ आयोजनाको काम नरोकिने बताएका छन् ।
सिक्टा सिँचाइ आयोजनाको जीर्ण पश्चिमी नहरको बिहीबार स्थलगत अवलोकन गर्दै मन्त्री पुनले मुद्दाकै कारण निर्माण कार्यमा बाधा नपुग्ने बताए । ‘सिक्टा निर्माणको काम रोकिन्न । यसले निरन्तरता पाउँछ’, उनले भने, ‘कुनै वाधा उत्पन्न भएमा छिटो जानकारी पाएमा मन्त्रालयस्तरबाट समाधान खोजिनेछ ।’
नहरमा जसरी पनि पानी सन्चालन गरिने उनले जोड दिएका थिए । ‘पूर्ण मर्मत गरेर हुन्छ कि वा अरु के गर्नु पर्ने हो । जे गरेर पानी सञ्चालन गर्न सकिन्छ । मन्त्रालय सहजीकरण गर्न तयार छ’, उनको भनाइ थियो । मन्त्री पुनले पश्चिमी नहरको सबैभन्दा बढी जीर्ण रहेको झिँझरी खोलादेखि ओभरीसम्मको नहरको अवलोकन गरेका थिए ।
बाँके क्षेत्र नं. १ का प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ ले विशेष अदालतमा मुद्दा विचाराधीन हुँदा सिक्टाको भविष्य अन्यौलमा पर्ने हो कि भन्नेमा जनता चिन्तामा रहेको मन्त्री पुनलाई स्पष्ट पार्न ध्यानाकषर्ण गराएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘मुद्दा चल्दै गर्छ । चालु रहेको काम जारी राख्नुपर्छ । रोक्नु भएन । जसरी हुन्छ, सिक्टाको नहरमा पानी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ’, मन्त्री पुनसँगै सिक्टाको जीर्ण पश्चिमी नहरको अवलोकन गर्न गएकी सांसद नमूनाले भनेकी थिइन् ।
सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले विशेष अदालतमा मुद्दा विचाराधीन रहे पनि सिक्टाको काम नरोकिएको अन्नपूर्णलाई बताए । ‘पूर्वी नहरको संरचना निर्माणको काम जारी छ । पश्चिमी नहरको मूल नहर निर्माण सम्पन्न भइसके र चार वटा शाखा नहरको काम चाँडै सुरु हुन्छ’, प्रमुख नेपालले जानकारी दिए ।
घुलनशील माटोका कारण सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर परीक्षणकै क्रममा दुई पटक भत्किसकेको छ । झिँझरी खोलादेखि ओभरीसम्म पाँच किलोमिटर क्षेत्रमा नहर जीर्ण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टाको नहर निर्माणमा अनियमितता भएको भन्दै विशेष अदालतमा साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।