छोरी जन्मिँदै लखपति भएर जन्मिएकी रहिछ…

छोरी जन्मिँदै लखपति भएर जन्मिएकी रहिछ…

वीरगन्ज : काखमा रहेकी तीन हप्ताकी नवजात छोरी आकृति कुमारीको हातमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाख २५ हजार रुपैयाँको बीमा कार्ड हाली दिएपछि आमा शकुन्तला देवी तत्वा खुसीले भावविह्वल भइन्।

‘मेरी छोरी जन्मिँदै लखपति भएर जन्मिएकी छे, यस्को लालनपालन र पढाइका लागि अब हामीलाई कुनै चिन्ता लिनु नपर्ने भयो', उनी खुसी देखिइन्।

‘हामी गरिब मान्छे, खाना लाउनै धौ धौ छ, त्यसैमा यो छोरी जन्मिना साथ परिवारकै बोझ हुने भइ भनेर सबैलाइ चिन्ता भइसकेको थियो, तर हामीले गलत साचेका रहेछौँ, हाम्री छोरी त जन्मिँदै लखपति भएर पो जन्मिएकी रहिछे।

'बेटी पढाउ बेटी बचाउ'

माघ १ गतेयता जन्मिएका र अब जन्मिने छोरीहरूको शिक्षाका लागि प्रदेश २ सरकारले सन्चालन गरेको 'मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ' अभियान अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रमको औपचारिक शुभारम्भका लागि बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माघ १ गते यता जन्मिएका मध्ये १४ जना छोरीहरूलाई बिमा कार्ड हस्तान्तरण गरिन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले गत माघ २१ गते जन्मिएकी आकृति र उनकी आमा सकुन्तलालाई पनि एक लाख २५ हजार रुपैयाँको बिमा कार्ड हस्तान्तरण गरेकी हुन्।

अभियान अन्तर्गत माघ १ गते यता जन्मिएका छोरीहरूको शिक्षाका लागि एक लाख २५ हजार रुपैयाँको बिमा गरिदने भन्दै छोरी शिक्षा बिमा कार्यक्रम ल्याउने घोषणा गरेको थियो। तर छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक शुभारम्भ भने बिहीबारदेखि गरिएको हो। औपचारिक शुभारम्भसँगै यो कार्यक्रम बिहीबारदेखि लागू पनि भएको छ।

बिहीबार वीरगन्जको त्रिजुद्ध उच्च मावि परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक शुभारम्भ गरेसँगै यो कार्यक्रम लागू पनि भएको हो।

कसरी पाउँछन् रकम ?

प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रमका लागि प्रभु बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

बैंकसँग गरिएको सम्झौता अनुसार प्रदेश सरकारले प्रदेश २ मा जन्मिने हेक छोरीको नाममा बैंकमा खाता खोलेर उक्त खाता बिमाको प्रिमियर रकम बापत १३ हजार ६ सय ४६ रुपैयाँ जम्मा गर्नेछ।

२० वर्षको उमेर पुगेपछि ती छोरीलाई बैंकले बिमा बापतको एक लाख रुपैयाँ र त्यसमा आफनो तर्फबाट २५ हजार रुपैयाँ थप गरी कूल एक लाख २५ हजार रुपैया प्रदान गर्ने, बैंक र प्रदेश सरकार बिचको सम्झौतामा उल्लेख छ।

पहिलो चरणमा प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरि कूल आठवटा पालिकामा मात्र छोरी शिक्षा बिमा कार्यक्रम लागू गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो।

तर बिहीबार औपचारिक शुभारम्भ गरिएसँगै अब प्रदेश २ का सबै एक सय ३६ पालिकामा, जन्मिने छोरीहरूका लागि छोरी शिक्षा बिमा कार्यक्रम लागू गरिएको बेटी पढाउ बेटी बचाउ अभियानकी प्रदेश संयोजक प्रियंका यादवले जानकारी दिइन्।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को मुख्यमन्त्री पदको पदभार सम्हालेपछि सार्वजनिक गरिएको सय दिने योजनामा नै यो कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरेका थिए।

बेटी बचाउ बेटी पढाउ अभियानको कार्यान्वयनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ८९ करोड रुपैयाँ विनियोजन गरेको छ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रमको बिहीबार शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले छोरीहरुको शिक्षाका लागि प्रदेश २ को सरकारले सुरु गरेको बिमा कार्यक्रमले शिक्षामा छोरीहरुको पहुच बढ्ने निश्चित रहेको बताइन्।

'यो अभियानलाई मैले छोरीहरुको सम्मान र महत्व बुझ्ने अभियानका रुपमा लिएको छु', उनले भनिन् ,‘यो अभियानले समाजमात्र नभइ समग्र देशकै विकासमा टेवा पुग्नेछ।'

संघीय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न स्वास्थ्य, शिक्षा र रोजगारमा महिलालाई समान अवसर र पहुँच दिनुपर्ने उनले बताइन्। भनिन्, ‘महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारमा समान अवसर र पहुँच दिन सकियो भने मात्र सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन्छ।'

प्रदेश २ को सरकारले थालेको अभियानको सिको अरु प्रदेशले पनि गर्नुपर्ने उनले बताइन्। मधेसमा अभिभावकबाटै छोरीहरूले विभेद सहनु परेकोले यो कार्यक्रमले शिक्षामा छोरीहरुको पहुँच बढाउने विश्वास मुख्यमन्त्री राउतले गरे।

'मधेसी समाजमा छोरी जन्मिएपछि बुबाआमा नै खुसी नहुने अवस्था छ', उनले भने, ‘अभिभावकहरूमा रहेको त्यही सोच र संस्कार बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ अभियान ल्याएको हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.