महिला क्रिकेटर हेलीको गजबको कीर्तिमान : क्याच लिएर गिनिज रेकर्ड
मेलबर्न : अस्ट्रेलियाको राष्ट्रिय महिला क्रिकेट टोलीकी विकेटकिपर एलिसा हेलीले गजबको कीर्तिमान बनाएकी छन्। २८ वर्षीय हेलीले सबैभन्दा उचाइको क्याच लिएर यस्तो कीर्तिमान बनाएकी हुन्। मेलबर्न क्रिकेट मैदानमा सबैभन्दा उचाइको क्याच लिएर कीर्तिमान बनाएपछि बिहीबार गिनिज बुक अफ वल्र्ड रेकर्डले हेलीलाई त्यसको प्रमाणपत्र पनि प्रदान गरेको छ।
महिला टीट्वेन्टी विश्वकप सुरु हुन केवल एक वर्ष बाँकी रहेको अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गरेको विशेष कार्यक्रममा हेलीले उक्त कीर्तिमान बनाएकी हुन्। महिला टीट्वेन्टी विश्वकप सन् २०२० को फेब्रुअरी २१ देखि मार्च ८ तारिखसम्म अस्ट्रेलियामै आयोजना हुँदैछ।
मेलबर्न मैदानमा हेलीले ८२.५ मिटर (२७०.६६ फिट) उचाईबाट झरेको क्रिकेट बललाई समाएकी थिइन्। यसअघि यस्तो कीर्तिमान ६२ मिटरको रहेको थियो। इङ्ल्यान्डकी क्रिकेटर क्रिस्टिना बाउमगार्टनरले सन् २०१६ को नोभेम्बरमा ६२ मिटर उचाइबाट झरेको बल समाएर कीर्तिमान बनाएकी थिइन्।
त्यसअघि सन् २०१६ मै इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीका पूर्वकप्तान नासिर हुसैनले पनि लर्डस क्रिकेट मैदानमा ३२ मिटर उचाइबाट खसेको बल समाएर कीर्तिमान बनाएका थिए। ‘यो उपलब्धि हासिल गर्न सकेकोमा म निकै खुसी छु’, गिनिज बुकबाट प्रमाणपत्र पाएपछि हेलीले भनेकी छन्।
हेलीले बिहीबार सबैभन्दा पहिले ६५.५ मिटर र त्यसपछि ७२.३ मिटर उचाइबाट झरेको बल समाएकी थिइन्। त्यसपछि उनले ८२.५ मिटरबाट खसेको बल समाएकी हुन्। बलको उचाइ मापन गर्न ड्रोनमा जडित क्यामेराको सहयोग लिइएको थियो।
हेली सन् २०१८ मा आईसीसीबाट विश्वकै सर्वोत्कृष्ट महिला
खेलाडी घोषित भएकी थिइन्। यसै महिना उनले अस्ट्रेलियाको सर्वोत्कृष्ट महिला खेलाडीको पुरस्कार पनि पाएकी थिइन्। उनले हालसम्म अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गर्दै चारपटक टीट्वेन्टी विश्वकपको उपाधिसमेत चुमिसकेकी छन्।
अस्ट्रेलियाले सन् २०१०, सन् २०१२, सन् २०१४ र सन् २०१८ मा टीट्वेन्टी विश्वकपको उपाधि चुम्दा उनी टोलीकी महत्वपूर्ण सदस्य थिइन्। उनी सन् २०१८ को टीट्वेन्टी विश्वकपमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन्।
‘हेलीको यो उपलब्धिले विश्वभरीका महिलालाई खेलकुदतर्फ आकर्षित गर्न पनि योगदान पुर्याउने छ’, गिनिज बुकका प्रतिनिधि डुग मेलले भनेका छन्।