महिला विश्वकप छनोट : नेपाललाई थाइल्यान्डको धक्का

महिला विश्वकप छनोट : नेपाललाई थाइल्यान्डको धक्का

काठमाडौं : नेपालले थाइल्यान्डमा जारी महिला विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा ठूलो धक्का बेहोरेको छ। नेपाल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा बिहीबार आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित हुन पुग्यो। यससँगै सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभर क्रिकेटको विश्वकप खेल्ने नेपालको सपना एसियाली छनोट प्रतियोगितामै टुङ्गिने सम्भावना बढेको छ।

जारी प्रतियोगिता यी दुवै विश्वकपको एसियाली छनोट प्रतियोगिताको रूपमा रहेको छ। सात टोली सम्मिलित जारी छनोट प्रतियोगिताबाट सिंगल राउन्ड रोबिन लिगको खेलमा शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्ने छ। नेपालका लागि छनोट निश्चित गर्न प्रतियोगितामा आफ्नो बाँकी सबै खेलमा जित हात पारेर मात्रै पर्याप्त नहुन सक्छ, थाइल्यान्डले पनि पराजय बेहोरेको हुनुपर्ने छ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ रनको योगफल तय गरेको थियो। जवाफमा आएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाउँदा ६७ रनको योगफल मात्रै जोड्न सकेको थियो।

नेपालका लागि इन्दु बर्माले २९ रन तथा सीता रानामगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। इन्दु र सीताले आफ्नो पालिमा एक÷एक चौका प्रहार गरे। नेपालले खेलको पहिलो ओभरबाटै विकेट गुमाउन सुरु गरेको थियो। स्कोर बोर्डमा मात्र आठ रन जोड्दा नेपालले आफ्नो महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो।

त्यसपछि इन्दु र सीताले चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै नेपालको पालि उकास्ने प्रयास गरेका थिए। उनीहरूको साझेदारी टुटेसँगै फेरि नेपालको पालि ध्वस्त बनेको थियो। त्यसअघि नरुइमोल चाइवाईले २७ बलमै ३२, चानिदा सुथ्थिरुंगाले २९ बलमा ३५ तथा वङ्पाका लिङ्प्रासटले २७ बलमा २८ रन जोड्दा थाइल्यान्डले नेपालसामु ठूलो योगफल तय गरेको थियो। बलिङतर्फ नेपालका लागि कविता कुँवर र नेरी थापाले दुई÷दुई विकेट लिएका थिए। थाइल्यान्डका लागि पनि सोर्नारोन तिप्पोचले नेपालको दुई विकेट लिएकी थिइन्। प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.