मोबाइल एडिक्सन
मोबाइलको आविस्कारले मानिसलाई अथाह सुविधा दिएको छ। मानिस आफ्नो गोजीगोजीमा सानो संसार बोकेर हिँडिरहेका छन्। यो आजका मानिसको अनिवार्य आवश्यकता हो। तर अत्याधिक प्रयोगले मोबाइल आवश्यकतामा मात्र सीमित रहेन। मोबाइल मानिसको लत नै बन्यो। मोबाइल एडिक्सनले पारेको असरको विषयमा अन्नपूर्ण सम्पूर्णका लागि सृजना खड्काले 'सडकदेखि संसदसम्म मोबाइलको महामारी' शीर्षकको स्टोरी तयार पारेकी छिन्।
मोबाइलमा मग्न संसद्
संसद्को राज्य व्यवस्था समितिमा ‘नागरिकता विधेयक’ विषयमा छलफल थियो। छलफलमा नागरिकता विधेयकमा संशोधन हालेका माननीयलाई बोलाइएको थियो। तर, संशोधन हालेर गम्भीर छलफल गर्न आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद् प्रमोद साहको ध्यान बैठकभन्दा बाहिर थियो। उनी बैठकको फेसबुक लाइभ गरिरहेका थिए।
उनीसँगै बसेका सत्तारूढ नेकपाका सांसद् झपटबहादुर रावलले साहका गतिविधि नियालिरहेको थिए। रावलले फेसबुक लाइभ गरिरहेका साहको मोबाइल आफ्नो हातमा लिएर प्रदर्शन गरे। उनले साह के गर्दै थिए भनेर सबैसामु सार्वजनिक गरे। ‘यो काम हटाउनुहोला, यस्तो गर्न पाइँदैन,’ रावलले आक्रोशित हुँदै भने, ‘यहाँ भित्रको कुरा यसरी बाहिर सार्वजनिक गर्न मिल्दैन।’ रावलको कुरामा सभापति शशी श्रेष्ठको ध्यानाकर्षण भयो। र, बैठककको फेसबुक लाइभ बन्द गर्न उनले आग्रह गरिन्।
तर, साहले सभापतिको आग्रहलाई खण्डन गर्न खोजे। उनले आफूले केही गलत नगरेको बताए। ‘मिडियाले लाइभ गर्छन्, मैले किन गर्न नहुने’ भन्दै उनले आफ्नो तर्क अगाडि सारे। साहको कुरा सभापति श्रेष्ठलाई मन परेन। उनले मिडिया र सांसद्को काम फरक हो भन्दै सांसद् साहलाई फेसबुक लाइभ बन्द गर्न निर्देशन दिइन्। ‘मिडियाको काम माननीयज्यूहरूले गर्ने होइन, मिडियाको काम मिडियालाई नै गर्न दिनुस्,’ उनले भनिन्। त्यसपछि मात्रै सांसद् साहले फेसबुक लाइभ बन्द गरे।
माघ २४ गते।
संसदीय सुनुवाइ समितिमा ‘राजदूत नियुक्तिमा समावेशी सिद्धान्त अपनाउने’ सम्बन्धमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग छलफल थियो। छलफलमा समितिका सदस्यहरूले राजदूत नियुक्तिमा समावेशिताको सिद्धान्त नउठाएको भन्दै गुनासो गरे। सरकारको विदेश नीति कमजोर बनेको भन्दै धेरैले आक्रोशसमेत व्यक्त गरे। यसबाहेक समितिका सदस्यहरूले कूटनीतिक मामिलाका अन्य धेरै गम्भीर प्रश्न पनि उठाए। समितिमा यिनै विषयमा छलफल चल्न थाल्यो।
तर, सदस्यहरूले आफूले जति गम्भीर भएर प्रश्न उठाए, छलफलमा बोलिएका कुरामा भने पटक्कै चासो दिएनन्। बैठकमा अरू सदस्यले बोल्दा मात्र होइन, मन्त्री ज्ञवालीलाई समेत कसैले सुनेनन्। ज्ञवालीले सदस्यले उठाएकै जिज्ञासामा सम्बोधन गर्दासमेत अधिकांश सदस्य मोबाइल फोनमा व्यस्त थिए।
उनीहरू कोही फेसबुक चलाउन मस्त थिए भने कोही मोबाइल खेलाउन व्यस्त थिए। अचम्म त के भयो भने बैठकमा समितिका सदस्य मात्र होइन, समिति सभापति लक्ष्मणलाल कर्ण पनि मन्त्रीले बोलिरहँदा मोबाइल फोनमै झुण्डिरहेका थिए। महासचिव मनोहरप्रसाद भट्टराईको चाला पनि उस्तै थियो। उनी पनि अधिकांश समय मोबाइल फोनमै व्यस्त थिए। यतिबेला उनीहरूलाई छलफलभन्दा ठूलो मोबाइल थियो। उनीहरूको हाउभाउले त्यो प्रष्टसँग देखाउँथ्यो।
पछिल्लो समय संसद्का समितिहरूमा विभिन्न विधेयकमाथि छलफल चलिरहेको छ। तर, समितिका सदस्यहरू कानुन बनाउने विषयमा कम र मोबाइलमा बढी गम्भीर देखिन्छन्। यी त केही उदाहरण मात्रै हुन्। संसद्का अरू समितिका बैठकको अवस्था पनि उस्तै छन्। त्यहाँ उनीहरू छलफल कम गर्छन्, मोबाइल बढी चलाउँछन्। देशको जिम्मेवार पदमा बसेका व्यक्ति नै कामधन्दा छाडेर मोबाइलमा मग्न भएका छन्। देख्दा सामान्य लागे पनि डाक्टर तथा मनोविद्का अनुसार यो एक प्रकारको ‘एडिक्सन’ हो। ‘लामो समयसम्म मोबाइलमा लगातार घोरिरहनु आफैँमा एक प्रकारको मानसिक रोग हो,’ मनोविद् गोपाल ढकाल भन्छन्।
मोबाइलमा मग्न केही दृश्य
दृश्य १
काठमाडौँ, पुतलीसडकको सडक व्यस्त सडकमध्येको एक हो। शुक्रबार त्यहाँ सवारीसाधन र यात्रुहरूको बाक्लो भीडभाड थियो । जेब्राक्रसिङमा मानिसहरू बाटो काटिरहेका थिए। बाटो काटिरहेका अधिकांशको हातमा मोबाइल थियो। घोप्टो परेर एकोहोरो मोबाइल चलाउँदै बाटो काटिरहेका प्रायः यात्रुलाई वरपरबाट गाडीले आएर हान्ला भन्ने पर्वाह थिएन।
वरपर गाडी आए÷नआएको भन्दा पनि मोबाइलमा फोन, म्यासेज र नोटिफिकेसन आए÷नआएकोतिर उनीहरूको ध्यान थियो। मोटरसाइकल र स्कुटरमा सवार मानिस पनि मोबाइलमा मस्त देखिन्थे। ट्राफिकले रोक्नेबित्तिकै धेरैले खल्तीबाट मोबाइल निकालिहाल्थे र चलाउन थाल्थे। मोटरसाइकल र स्कुटरमा नै मोबाइल होल्डर राखेर बीच बाटोमा बसेर मोबाइल चलाउने पनि थिए।
मोटरसाइकल चलाउँदा–चलाउँदै कानमा एयरफोन कोचेर हिँड्नेहरू पनि प्रशस्तै देखिए। मोटरसाइकल बीच बाटोमा रोकेर लामो समय फोनमा कुराकानी गर्नेहरू पनि भेटिए। ट्राफिकले सिटी फुकेर जान निर्देशन दिएपछि पनि मोबाइलमै मग्न हुने पनि थिए। ट्राफिकले बेस्कन सिटी फुकेपछि झसंग हुँदै हत्तपत्त मोबाइल थन्काएर उनीहरू आफ्नो बाटो लाग्थे।
एक जना ट्राफिक प्रहरी पनि मोबाइलमा मग्न भेटिएका थिए। ‘ट्राफिक नियम पालना गरौँ’, ‘सवारीसाधन प्रयोग गर्दा मोबाइल फोन प्रयोग नगरौँ’, ‘दुर्घटनाबाट आफू पनि बचाँै, अरूलाई पनि बचाऔँ’ भन्ने ट्राफिक प्रहरीको समेत एक हातमा मोबाइल र अर्को हातमा मोटरसाइकलको ह्यान्डल थियो। उनी आफैँ सडकको बीचमा बसेर मोबाइल चलाइरहेका थिए।
दृश्य २
शनिबार काठमाडौँ, पेप्सीकोलास्थित क्वालिटी फुड क्याफेमा छ जना युवायुवती भेला भएका थिए। लामो समयपछि एकअर्कासँग भेट भएको उनीहरूको कुराकानीबाट थाहा भयो। कुर्सीमा बस्नेबित्तिकै एक जनाले वेटरलाई बोलाए। ‘वाइफाईको पासवर्ड के हो ?’ ती युवाले सोधे। छोटो समयको गफगाफपछि सबै जना मोबाइल चलाउन व्यस्त देखिए। वेटरले अर्डर लिएर आएको उनीहरूले सुनेनन्। पटक–पटक वेटरले ‘के ल्याऊँ’ भनेपछि उनीहरूले बल्ल अर्डर दिए। खाउञ्जेल र बसुञ्जेल खासै कोही बोलेनन्।
बोल्नु परे पनि उनीहरू मोबाइलमा आएको नयाँ फिचर र अनलाइन गेमबारे बोल्थे। केही समयपछि उनीहरू छुट्टिए। छुट्टिने बेलामा एक जना युवतीले भनिन्, ‘आज खासै गफ गर्न पाइएन। भरे फोनमा कुरा गरौँला है ?’ उनको कुरामा अर्को एक साथीले थपे, ‘फेसबुकमा एउटा गु्रप बनाऔँ न, त्यसमै गु्रप च्याट गरौँला।’ त्यो बसाइमा उनीहरूले सामाजिक सञ्जालका सैयौँ पोस्टमा कमेन्ट गर्न भ्याए। कैयौँ फोटोमा लाइक गर्न भ्याए। तर, एकअर्काको हालखबर सोध्न भ्याएनन्। हालखबर फोन गरेर सोध्ने शर्तमा उनीहरू त्यहाँबाट छुट्टिए।
दृश्य ३
भक्तपुर, दरबार स्क्वायरको एउटा कुनामा एक जना युवतीको हर्कत अनौठो थियो। शनिबार भएकाले त्यहाँ राम्रै भीडभाड थियो। उनलाई सबैले ‘नोटिस’ गरिरहेका थिए। तर, उनलाई केही मतलब थिएन। उनको मोबाइल भुइँमा थियो। त्यसलाई पानीको बोतलमा अड्याइएको थियो। उनी अगाडि उभिएर हाउभाउसहित के–के बोलिरहेकी थिइन्। बेलाबेला नाचिरहेकी पनि थिइन्।
उनी काठमाडौँ, जोरपाटी बस्ने अस्मिता वाइबा थिइन्। ‘घुम्न आएको बेलामा एउटा मेमोरी हुन्छ भनेर टिकटक बनाउन लागेको,’ उनले भनिन्, ‘म टिकटक र इन्स्टाग्रामको फ्यान हुँ। कहिलेकाहीँ त गाडीमा उभ्भेकोउभ्यै टिकटक बनाइदिन्छु।’ उनी टिकटक र इन्स्टाग्रामबाहेक फेसबुक, म्यासेन्जर, स्न्यापच्याट, ट्वीटर, भाइबर र ह्वाट्सएप सबै चलाउँछिन्। ‘एउटा एप कम्तीमा दिनमा आधा घण्टा चलाइन्छ,’ उनले भनिन्, ‘यति एप्लिकेसन चलाइएन भने त साथीभाइको सर्कलबाटै हराइन्छ। सोसल मिडियमा फोटो राखेर उनीहरूको लाइक्स बटुल्नुपरेन ?’
फोटो खिच्नेबित्तिकै अस्मिता सामाजिक सञ्जालमा राख्दिनन्। त्यसलाई एडिट गरेर कलर, कन्ट्रास्ट, क्याप्सन सबै राखेर पोस्ट गर्छिन्। मोबाइलमा एउटा फोटा एडिट गर्न कम्तीमा १५ देखि २० मिनेट लाग्ने उनले बताइन्। कलेजमा टिचरले पढाएकोदेखि साथीहरूसँग चिया खाएकोसम्म फोटो खिचेर फेसबुक र इन्स्टाग्राममा ‘स्टोरी’ राख्नु उनको दैनिकी हो। ‘मोबाइल भएन भने म त पागलै हुन्छु होला,’ उनले भनिन्, ‘एकचोटि मोबाइल बिग्रिएर एक हप्तासम्म चलाउन पाइनँ। त्यो बेला ‘म त अर्कै दुनियाँको प्राणी हुँ’ कि क्या हो जस्तो लाग्यो।’
दृश्य ४
आइतबार काठमाडौँ, न्युरोडको एक क्लोदिङ स्टोरमा पुग्दा त्यहाँकी कर्मचारी मोबाइल चलाएर बसेकी थिइन्। एक जना युवक ‘प्यान्ट देखाउनुस् न दिदी’ भन्दै आए। मोबाइल चलाएर बसेकी युवतीले सुनिनन्। युवकले अलि ठूलो स्वरमा दोहोर्याएर बोलेपछि उनी झस्किन्। उनले मोबाइल चलाउँदै प्यान्ट निकालेर ल्याइन्। ती ग्राहक युवकलाई प्यान्ट देखाएर फेरि मोबाइल चलाउन थालिन्। ‘यो भएन दिदी, अर्को देखाउनुस् न’ ती युवकले भने। ‘एकछिन पर्खनुस् ल, म एउटा म्यासेज रिप्लाई गरिहाल्छु,’ ती युवतीको जवाफ यस्तो थियो।
दृश्य ५
राकेश पराजुली (नाम परिवर्तन) एक प्राइभेट कम्पनीका ब्रान्ड म्यानेजर हुन्। हरेक हप्ताजसो उनको कम्पनीमा बोर्ड मिटिङ हुने गर्छ। मिटिङमा कम्पनीका अध्यक्ष, प्रबन्ध निर्देशक, कार्यकारी निर्देशक र म्यानेजर तहका कर्मचारीहरूको सहभागिता हुन्छ। हरेक व्यक्तिको हातमा एउटा होइन दुई÷दुई वटा मोबाइल फोन हुने पराजुलीले बताए।
कम्पनीका अध्यक्ष बोलिरहँदा पनि मोबाइल चलाइरहने उच्च तहका कर्मचारी देखेर उनी छक्क पर्छन्। ‘म ब्रान्ड हेर्ने भएकाले सबैको कुरा ध्यान दिएर सुन्नुपर्ने हुन्छ,’ उनले भने, ‘मिटिङ रुममा प्रवेश गर्नेबित्तिकै मोबाइल अफ गर्छु। तर, मिटिङमा सहभागी अधिकांश भने अरूले बोलेको सुन्न मन नलागेपछि मोबाइल फोनमा घोत्लिन थाल्छन्।’ प्रबन्ध निर्देशक पनि कसैको कुरा रुचिकर लाग्यो भने मात्र सुन्ने नत्र मोइबाइलमै व्यस्त हुने उनले सुनाए।
प्रबन्ध निर्देशक र कार्यकारी निर्देशकका बीचमा खटपट हुँदा एकले बोल्दा अर्को मोबाइलमा घोप्टिरहेको दृश्य मिटिङमा सामान्य हुने उनले बताए। मिटिङमा बस्दा मोबाइल खल्तीमा राखेर बस्ने कमै हुने गरेको पराजुलीले बताए।
मोबाइल प्रतिबन्ध
छ महिनाअघि दार्चुलास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो स्कुलमा मोबाइल फोनमा प्रतिबन्ध लगायो। विद्यार्थीले मोबाइल धेरै हेर्न थालेपछि स्कुलले यसो गरेको थियो। स्कुल समयमा विद्यार्थीहरू फोनमै व्यस्त हुन थालेपछि यस्तो कदम चालिएको थियो। विद्यार्थीलाई मात्र नभएर शिक्षक–शिक्षिकालाई समेत स्कुलले मोबाइल प्रतिबन्ध लगायो।
शिक्षकले पढाउने, विद्यार्थीहरू फोन चलाएर बस्न थालेपछि मोबाइल ‘ब्यान’ गरिएको स्कुलले बताएको थियो। धेरै मोबाइल चलाएर विद्यार्थीको रिजल्ट खस्किँदै गएपछि यो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले एक सञ्चारमाध्यमलाई बताएका थिए। विद्यार्थीको पढाइमा सहज होस् र उनीहरूले केही सिकून् भनेर स्कुलले निःशुल्क इन्टरनेट जडान गरेको थियो।
काठमाडौँ, कपुरधाराका छिरिङ तामाङ कक्षा १२ मा पढ्छन्। क्लास चलिरहेको बेला शिक्षक र साथीहरूको फोटो खिचेर ट्रोल बनाउन उनलाई एकदमै मन लाग्छ। यो काममा उनलाई उनका एकदुई जना साथीले साथ दिने गरेका छन्। उनीहरूले कलेजलाई नकारात्मक असर पर्ने ट्रोल सामाजिक सञ्जालमा हालेपछि कलेजले विद्यार्थीहरूलाई मोबाइल ल्याउन प्रतिबन्ध लगायो। कलेजमा मोबाइल फोन लैजान मनाही गरियोे। तर, छिरिङले त्यो नियम मानेनन्।
‘ट्वाइलेट जाँदा त मैले मोबाइल छोड्ने गर्या थिइनँ, कलेज जाँदा त झन् छाड्ने कुरै आएन,’ उनले भने, ‘क्लासमै टोपी र मफलरले एयरफोन ढाकेर बिन्दास गीत सुनेर बस्दिन्थेँ। सरले पढाएर बसेको बेला हामी साथी–साथी’ एउटा कुनाबाट अर्को कुनामा भिडियो कल गरेर बस्दिन्थ्यौँ।’ दुई हप्ताअगाडि छिरिङको फोन कलेजले खोसिदियो। त्यही निहुँमा उनी कलेजै गएनन्। केही दिनअघि मात्रै कलेजले उनको बुबालाई मोबाइलसहित उनलाई कलेजबाट रस्टिकेट गरिएको सूचना पनि पठायो।
‘मोबाइलमा इन्टरनेट सेवा आएपछि विश्वका खबर हत्केलामा हेर्न, पढ्न र सुन्न सकिन्छ,’ मनोविद् ढकाल भन्छन्, ‘तर, यसको दुरुपयोगले धेरैले आफ्नो जिन्दगी बर्बाद गरिरहेका छन्।’
बच्चाको खेलौना बन्दै मोबाइल
काठमाडौँ, थापागाँउमा बस्ने अस्मिता दवाडी आजभोलि हैरान छिन्। छ वर्षका छोराले जहाँ जाँदा पनि मोबाइल मागेर हैरान बनाएको उनले बताइन्। केही दिनअघिको अनुभव सुनाउँदै उनले भनिन् ‘भाञ्जाको बिहेको पार्टीमा गएका थियौँ। आफन्तहरूसँग गफ गरिरहेको थिएँ। ‘ममी मोबाइल’ भन्दै माग्न थाल्यो। मोबाइल नदिएपछि त्यहीँ लडीबुडी गरेर रुन थाल्यो। सबैको अगाडि बेइज्जत नै गर्यो।’ मोबाइल चलाउन छोरालाई आफैँले बानी पारेको उनी स्विकार्छिन्। ‘सुरुसुरुमा उसलाई फकाउन, खाना खुवाउन र चकचक गर्यो भने चुप लगाउन मोबाइल दिन्थेँ,’ उनले भनिन्, ‘अहिले त मोबाइलमा सबै कुरा आफैँ खोलेर हेर्ने भइसक्यो। वाइफाई नचल्ने मोबाइल दियो भने फ्याँकिदिन्छ।’
अभिभावकले बालकालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल। आफू पनि मोबाइलमा व्यस्त हुने र छोराछोरीलाई पनि मोबाइल दिएर भुलाउन खोज्ने धेरै अभिभावक छन्। काममा व्यस्त अभिभावकले बच्चाका हातमा मोबाइल थमाइदिने गरेको पाइन्छ। यसले बालबालिकाको मानसिक, शारीरिक स्वास्थ्य र समाजिक क्षेत्रमा समेत असर गरिरहेको मनोचिकित्सक विश्वबन्धु शर्मा बताउँछन्।
‘मोबाइल चलाएर बच्चालाई ‘एक्टिभ’ बनाउँछु भन्दाभन्दै उनीहरू कतिबेला ‘प्यासिभ’ हुन्छन्, पत्तै हुँदैन,’ उनी भन्छन्, ‘धेरै मोबाइल चलाउने बच्चाहरूमा सिक्ने सीप कम हुने, सामाजिक व्यवहार नगर्ने र एक्लै बस्न रुचाउनेजस्ता प्रवृत्ति देखापर्छन्। उनीहरू डिप्रेसनको शिकारसमेत हुन सक्छन्।’ मोबाइलबिना आजभोलिका बालबालिका केही गर्न नमान्ने उनी बताउँछन्। ‘मोबाइलको बानी परेपछि त्यसको लत लाग्न बेर लाग्दैन,’ मनोचिकित्सक शर्मा भन्छन्, ‘जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालका असर देखिन्छन्, मोबाइल चलाउँदा पनि शरीरमा त्यस्तै असर देखिन्छन्।’
लामो समयसम्म मोबाइल चलाउनुलाई समान्य मान्छन्, आम मानिस। तर, मनोचिकित्सक शर्मा यसलाई लत भन्छन्। ‘घरमा चार जना हुन्छन्,’ उनी भन्छन्, ‘चारै जना चार कुनामा मोबाइलमा मस्त हुन्छन्। एउटाले बोलाएको अर्काेले सुन्दैन। ‘खाना खान आउनुस्’ भनेर किचेनबाट श्रीमतीले बैठककोठामा बसेका श्रीमान्लाई म्यासेज पठाउँछिन्।’ लामो समयसम्म मोबाइल चलाउँदा मोबाइलबाट निस्कने रेडियसनले आँखालाई हानि गर्ने उनी बताउँछन्। ‘मोबाइलले आँखामा मात्र नभएर मस्तिष्कमा समेत असर गर्छ,’ उनी भन्छन्।
दिनमा तीन घण्टाभन्दा बढी मोबाइल चलाउँदा बालबालिका बढी सक्रिय (हाइपरएक्टिभ) हुने मनोविद् गोपाल ढकाल बताउँछन्। ‘मोबाइल बच्चाको खेलौना बन्दै गइरहेको छ,’ उनी भन्छन्, ‘धेरै अभिभावक बच्चालाई मोबाइल चलाउन दिनुलाई बाध्यता मान्छन्। यसो भन्दैमा जानी–जानी आफ्ना बच्चालाई विष पिलाउनु त भएन नि !’
उनी मोबाइल पाएपछि बच्चाले बोल्न जरुरी नठान्ने बताउँछन्। ‘यसरी मोबाइलमा तल्लीन भएर कसैसँग नबोल्दा बोलीको विकास हुँदैन,’ उनी भन्छन्, ‘यस्तो बेलामा एकैचोटि लत छुटाउन गाह्रो हुन्छ। मोबाइल चलाउने समय घटाएर बिस्तारै–बिस्तारै यो लत छुटाउन सकिन्छ।’ सामाजिक सञ्जालसँगै थरीथरी एप र गेमले गर्दा मानिस मोबाइलको संसारमा डुब्दै गएको उनी बताउँछन्।
मोबाइल कुलत बनेपछि
बेलायतको युनाइटेड काइरोप्य्राक्टिक एसोसियसनका अनुसार लगातार मोबाइल प्रयोग गर्ने मानिसको काँध र गर्धन धेरै समयसम्म निहुरिरहेको हुन्छ। यसले गर्दा मानिसले पूर्ण र गहिरो सास लिन सक्दैन। यसको सोझो असर फोक्सोमा पर्छ। निरन्तर मोबाइल हेरिरहँदा आँखा सुख्खा हुने, आँशु आउने, चिलाउने समस्या देखापर्छन्। त्यसै गरी, माइग्रेन, ढाड दुखाइ, मुटुको रोग, अनिद्रा, एङ्जाइटी, डिप्रेसनलगायत समस्या पनि आउन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।
मोबाइलको अत्यधिक प्रयोगले ‘फ्यान्टम भाइब्रेसन सिन्ड्रोम’ (मोबाइल फोन आफूसँग नभएको बेला पनि फोन बजेको वा थर्केको जस्तो आभास हुने), ‘नोमोफोबिया’ (‘मोबाइल हराउँछ र फोन नचलाई बस्नुपर्छ, फोनबिहीन हुनुपर्छ भन्ने भय) र ‘सेल्फाइटिस’ (दिनमा पाँचभन्दा बढी सेल्फी खिच्ने रहर) जस्ता समस्या भित्रिएको मनोविद् ढकाल बताउँछन्।
ढकाल मोबाइलको संसारलाई काल्पनिक संसार भन्छन्। ‘आजभोलि मानिसहरू नेट नहुँदा र बत्ती नहुँदा मोबाइल चलाउन नपाउँदा छटपटिन्छन्,’ उनी भन्छन्, ‘मोबाइलले मान्छेलाई एकअर्काको सम्बन्ध नै बिर्साइसकेको छ। कसैलाई फोटो खिचेपछि अपलोड नगरी चित्तै बुझ्दैन। कोही लाइक आएन भनेर चिन्ता गरेर बसेका हुन्छन्। मोबाइल भनेको जति डुब्दै गयो, त्यति नै लत बस्दै जाने कुरा हो।’
मानिसले आफ्ना दुःखसुख मानिससँग भन्दा मोबाइलसँग साट्न थालेको समाजशास्त्री मधुसुदन सुवेदी बताउँछन्। ‘अहिले मान्छेलाई घरपरिवार, साथीभाइ, इष्टमित्र कसैको मतलब छैन,’ उनी भन्छन्, ‘मोबाइलले मानिसलाई जहाँ गए पनि छाडेको छैन। मानिस सामाजिकबाट व्यक्तिगत प्राणी हुँदै गइरहेको छ। अब संसार घरभित्रको एउटा कोठामा अट्ने भइसक्यो।’मोबाइलको प्रयोगसँगै मानिसहरू प्रविधिको अम्मली हुँदै गएको समाजशास्त्री मीना उप्रेती बताउँछिन्। ‘१० कक्षा पास गर्नेबित्तिकै अभिभावकको पहिलो कसम नै ‘मोबाइल किन्दिन्छु’ भन्ने हुन्छ,’ उनी भन्छिन्, ‘मोबाइलमा ‘चिया खायौँ’, ‘खाजा खायौँ’, ‘खाना खायौँ’ बाहेक तन्नेरीका अरू गफै हुँदैनन्।’ मोबाइलले हरेक व्यक्तिको उत्पादनशील र ऊर्जाशील समय बर्बाद गरेको उनको ठम्याइ छ। ‘मोबाइलमा आफ्नो क्षेत्रसँग सम्बन्धित भएका कुरा मात्र हेर्दा लत बस्दैन,’ उनी भन्छिन्, ‘आवश्यकता ‘डिक्सनरी’ हुन्छ, मान्छे फेसबुक चलाउन थाल्छ। एउटा शब्दको अर्थ खोज्न मोबाइल खोलेको मान्छे घण्टौँसम्म फेसबुक चलाएर बस्छ।’ मोबाइलको प्रयोग कम गर्न मोबाइलमा आफूलाई चाहिनेभन्दा बाहेकका कुरा राख्न नहुने उनको सुझाव छ।
‘लत बस्ने तहमा पुग्नु हुँदैन’
डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक
मान्छेहरू मोबाइल फोनमा एकोहोरो घोत्लिनु आजभोलि सामान्य बनिसकेको छ। मोबाइल फोनले एउटा मात्र काम गर्दैन। यसका थुप्रै काम छन्। फोटो खिच्न, समाचार सुन्न–पढ्न–हेर्न, गेम, भिडियो÷फिल्म हेर्न आजभोलि मोबाइल प्रयोग गरिन्छ। एक ठाउँबाट अर्को ठाउँमा जानुपर्यो भने आजभोलि कसैले मान्छेलाई सोध्दैनन्। सीधै ‘गुगल म्याप’मा सर्च गर्छन्।
अरूको त के कुरा, लेख्नलाई डायरी र कलम पनि चाहिँदैन। मोबाइलले नोटबुक उपलब्ध गराएको छ। यति मात्रै होइन, यसले कम्प्युटर र ल्यापटपलाई समेत विस्थापित गरिसक्यो भने पनि हुन्छ। मोबाइल सजिलो र युजर फ्रेन्ड्ली छ। त्यसकारण पनि धेरै मानिस मोबाइल प्रयोगकर्ता भएका छन्।
सूचनाको युग भएको कारण मोबाइल चलाउनुलाई अचम्म मान्न सकिँदैन। तर, कसले कस्तो अवस्थामा र कति समय चलाउँछ, त्यो महत्त्वपूर्ण हो। आवश्यकताअनुसार चलाउनुपर्छ। तर, अनावश्यक रूपमा मोबाइल चलाइरहनु भने एक प्रकारको लत हो।
इन्टरनेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत इन्टरनेट चलाउनेको संख्या बढेको छ। मोबाइलमा इन्टरनेट चलाउन सजिलो पनि छ। यसले पनि मोबाइलको लत बढाएको छ। देख्दा सामान्य लागे पनि यो एकदमै जटिल समस्या हो। मोबाइलको लत बसेपछि छुटाउन गाह्रो हुन्छ। त्यसैले लत बस्ने तहमा प्रयोगकर्ता पुग्नै हुँदैन।